PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निर्मला प्रकरण, सत्तारुढ दलकै सांसदले मागे आइजी खनालको राजीनामा : 'कमजोरी देखिए संसदमै बर्दी खोलिदिए हुन्छ'



निर्मला प्रकरण, सत्तारुढ दलकै सांसदले मागे आइजी खनालको राजीनामा : 'कमजोरी देखिए संसदमै बर्दी खोलिदिए हुन्छ'

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन्।

 

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा खनालले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए।

 

महानिरीक्षक खनालले भने, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ।”

 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले आज प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो।

 

महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको बताए। खनालले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशङ्का देखिएको उल्लेख गरे।

 

महानिरीक्षक खनालले ९७ दशमलव ५ प्रतिशत घटनाको अनुसन्धान भई कानूनको दायरमा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको दाबी गरे। राष्ट्रविरोधी र अवाञ्छित गतिविधि गर्नेलाई पक्राउ गरी कारवाही गरिएको पनि उनले जानकारी दिए।

 

“कुनै अप्रिय घटना नहुन दिनका लागि सुरक्षालाई दृढताका साथ सबै सतर्कता र सक्रियता अपनाइएको छ, महिला र बालबालिकालाई बाहिर निस्कनै गाह्रो छ भन्ने होइन, सहज परिस्थिति छ”, महानिरीक्षक खनालले भने।

 

उनले समग्र शान्तिसुरक्षा र सुशासनका सम्बन्धमा आफूले मात्र नभई गृह मन्त्रालयको नेतृत्वले जवाफ दिँदा उचित हुने बताए। समितिका सदस्यले मुलुकका शान्ति सुरक्षा र सुशासनका क्षेत्रमा देखिएको चुनौतीबारे चिन्ता प्रकट गर्दै कुनै खास घटना विशेषमा मात्र नभई समग्र सुरक्षा र सुशासनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए।

 

समितिका सदस्यहरुले बलात्कारका घटना वृद्धि हुँदा प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो कमजोर भयो भनी प्रश्न गरेका थिए। समितिका सदस्य सरिता प्रसाईंले प्रश्न गर्दै भनिन्, “जनताले शान्ति र स्थिरताका लागि दुई तिहाइको सरकारसँग गरेको अपेक्षा किन पूरा भएन, प्रहरीलाई निष्पक्ष छानबिन गर्न केले रोकेको छ?”

 

सांसद विमला राई पौडेलले साँचो अपराधी पत्ता नलागेसम्म प्रमाण नष्ट गर्र्नेलाई थुनामा राखेर कारवाही गर्न र अनुसन्धानको प्रगति विवरण दैनिक सार्वजनिक गर्न माग गरिन्।

 

समितिका सदस्य रमेशजंग रायमाझीले व्यवस्था परिवर्तन भए पनि कार्यशैलीमा परिवर्तन नभएको भन्दै घटनामा प्रमाण नष्ट हुनुको पछाडि घटनाको दोषी कोही शक्तिशाली मान्छे छ भन्ने आशङ्का देखिएको जिकिर गरे। उनले सुन तस्करी प्रकरणमा पनि ठूला मान्छेलाई जोगाउने काम भएको आरोप लगाए।

 

समितिका सदस्य दीनानाथ शर्माले बालक अपरण, बालिका बलात्कार र हत्याका घटना वृद्धि हुनुले आफूहरुलाई चिन्तित तुल्याएको जनाउँदै यस्ता घटना हुनुको प्रमुख कारण पहिचान गरेर समाधान गर्नु सबैको चासो र दायित्वकोे विषय भएको बताए।

 

सदस्य प्रमीलाकुमार यादवले सुरक्षा दिन नसक्ने सुरक्षा अधिकारीले राजीनामा दिनुपर्ने बताइन्। अर्का सदस्य मुक्ताकुमारी यादवले पछिल्लो समयमा पक्राउ परिएका घटना भएको दिन त्यहाँ नरहेको समाचार आउनुको रहस्य खुलाउन माग गरिन्। उनले आफ्नै छोरा २०७४ चैत २ मा धनुषामा धारिलो हतियार प्रहारबाट हत्या गरिएकामा हालसम्म दोषी पत्ता नलागेको गुनासो गरेकी थिइन्।

 

प्रहरी महानिरीक्षकको भनाइ सुनेपछि बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ। समितिका सभापति तारादेवी भट्टले मुलुकमा भएका अन्य घटना हुन नदिन अझ सजग र कर्तव्यनिष्ट हुन प्रहरीलाई निर्देशन दिएकी हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell