PahiloPost

Jun 20, 2019 | ५ असार २०७६


जतिसुकै चलाख अपराधीले पनि केही न केही संकेत त छाडेकै हुन्छ : डिएनए वैज्ञानिक झा


सागर बुढाथोकी

जतिसुकै चलाख अपराधीले पनि केही न केही संकेत त छाडेकै हुन्छ : डिएनए वैज्ञानिक झा

  • केही वर्षअघि एकजना महिलाको हत्या भयो। प्रहरीले धेरैखाले तरिका अपनाएर अनुसन्धान गर्दा पनि हत्या कसले गर्‍यो, कुनै 'क्लु' भेटाउन सकेन। हत्या भएको ठाउँमा फेला परेको थियो – आधा बलेको कपडाको टुक्रो। त्यही कपडाको टुक्रोबाट डिएनए परीक्षण भयो। प्रहरीले शंका गरेको अभियुक्तको डिएनएसँग आधा जलेको कपडाबाट फेला पारिएको डिएनएको मेल खायो। अभियुक्त पत्ता लाग्यो। लामो समयदेखि नसुल्टिएको यो केस अब अन्तिम चरणमा पुगेको छ।
 
  • २०७४ साल जेठको पहिलो साता चितवनमा २० वर्ष पुरानो आखेटोपहार नष्ट गरियो। तस्करसँगबाट प्रहरीले जफत गरेको ४८ प्रजातिका जनावरका आखेटोपहार नष्ट गर्नुअघि यसको डिएनए परीक्षण गरियो। त्यसैको आधारमा कुन जनावरको कुन अंग हो पहिचान भयो। यति ठूलो परिमाणमा भेटिएको आखेटोपहारको डिएनएले राम्रै चर्चा पायो। किनकि, १८ जनाको टोलीले १२ दिन लगाएर डिएनए परीक्षण गरेको थियो। 

डिएनए परीक्षणमार्फत् आधा जलेको कपडाबाट हत्यारा र बिक्रीका लागि तस्करले बोकेका आखेटोपहरका जनावरको अंग पहिचान हुनसक्यो। जतिसुकै ठूलो अपराध भए पनि यस्तो परीक्षणले जटिल अनुसन्धान पूरा हुनसक्छ भन्ने यी उदाहरणमात्र हुन्। यी दुवै जटिल अनुसन्धानको नेतृत्व लिएका राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख डाक्टर दिनेशकुमार झा भन्छन्, 'जति सुकै चलाख भए पनि अपराध गर्नेले केही न केही संकेत छोडेकै हुन्छ। त्यसको डिएनए परीक्षणले अपराधीलाई नियन्त्रणमा ल्याउन सघाउँछ।'  

अहिले डिएनए परीक्षणको विषय निक्कै चर्चमा छ। कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका संकास्पदहरुको डिएनए परीक्षण जारी छ। नेपालको अपराध अनुसन्धानमा एउटा घटनामा अहिलेसम्म सबैभन्दा धेर डिएनए परीक्षण भएको यो नै पहिलो घटना हो। झाको दावीलाई मान्ने हो भने डिएनए परीक्षणबाट कुनै पनि अपराधका दोषीसम्म पुग्न बाटो खुल्छ चाहे त्यो जतिसुकै प्रमाण  लोप गराउनेगरी भएका घटना हुन्। उनले उदाहरण आखेटोपहारको स्याम्पललाई नै दिए।



'२० वर्ष पुरानो अंग, ४ हजारभन्दा बढी स्याम्पल,' झाले भने, 'सामान्य मान्छेले बुझ्न गाह्रो छ। तर सबैको अंग पहिचान भयो।'

डिएनए परीक्षणमा मानिस र पशुको लागि एउटै उपकरणले काम गर्दैन। नेपालमा मानिसको डिएनए परीक्षणका लागि प्रयोग हुने प्रविधि भित्रिएको लामो समयपछि मात्र पशुपंछीको डिएनए परीक्षणका लागि प्रविधि भित्रियो। त्यसैले केही वर्षअघि पशुसँग जोडिएर पर्ने उजुरीमाथि कुनै अनुसन्धान नै गर्न सकिन्न थियो।

झाका अनुसार केही वर्षअघिसम्म 'गाई  मारेर मासु खाए' भन्दै उजुरी पर्थे। राष्ट्रिय जनावर भएकाले गाई काट्नु कानूनी रुपमा बर्जित छ। तर, पहिचान गर्ने उपकरण नहुँदा कारवाही गर्ने आधार हुन्थेन। एक वर्षअघि मात्रै नेपालमा जनावरको डिएनए परीक्षण गर्ने यन्त्र भित्रियो। त्यसले आखेटोपहारमात्र होइन,  गाई मारेको भन्दै परेका उजुरीमाथि पनि अनुसन्धान गर्न सघायो। झाका अनुसार एक वर्षमै २४ भन्दा धेरै मानिसहरु गाई मारेको अभियोगमा पक्राउ परेका छन्। गाई मार्न उनीहरु संलग्न रहे नरहेको भन्ने चाहिँ डिएनए परीक्षणबाटै गरिएको थियो।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालमा २० वर्ष सक्रिय रहिसकेका झा कसरी यतातिर तानिए त? 

***

सप्तरीको राजविराजमा जन्मिएका झाले गाउँकै सरकारी स्कूलबाट एसएलसी पास गरे। भारतबाट आइएस्सी र बीएस्सी पूरा गरेका उनले एमएस्सी भने त्रिभुवन विश्वविद्यालयबाट गरे। २०५२ सालको एमएस्सी टपर हुन् उनी। त्यसपछि अमृत साइन्स क्याम्पसमा चार वर्ष पढाए। 

२०५६ सालमा सहायक वैज्ञानिक अधिकृत बनेर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा काम थाले। 

नेपालमा त्यतिबेला फरेन्सिकको कोर्स थिएन। न त कुनै तालीम नै। काम गर्दा 'केयरलेस' भए गलत परिणाम निस्कने। 

सुरुवातका २ वर्ष उनले वैज्ञानिक जीवनप्रसाद रिजालको 'एसिस्टेन्ट' बनेर काम गरे। फरेन्सिक एक्सपर्ट रिजाल राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक पदबाट ६ महिनाअघिमात्रै रिटायर्ड भएका छन्। 



उनै रिजालसित दुई वर्ष निरन्तर सहयोगी भएर काम गरेपछि आफैँ रिपोर्ट दिने अवस्थामा पुगे उनी। काम सुरु गरेको सात वर्षपछि मात्र डिएनए 'एक्सपर्ट'का रुपमा स्थापित भए। 

त्यसो त नेपालमा डिएनए परीक्षण रगतको अनुसन्धानबाट हुने गर्थ्यो। तर, अहिले रगतकै मात्र भर पर्नु पर्दैन। 

'२०६२ सालअघि ब्लड ग्रुपबाट अनुसन्धान गर्नुपर्थ्यो,' झाले भने, 'अहिले नङ, कपाल, लुगा जेबाट पनि पहिचान गर्न सकिन्छ।'

रगतबाहेकका वस्तुबाट पनि डिएनए परीक्षण गर्न सकिने प्रविधि भने २०६२ सालमा भित्रिएको हो। त्यसयता अरु अत्याधुनिक प्रविधि पनि भित्रिरहेको छ। अनुसन्धानको जटिलता बढ्दै जाँदा त्यसलाई निदान गर्नेगरी प्रविधि पनि बनिरहेको छ। त्यसैले झाजस्ता वैज्ञानिकहरुले नयाँ विधि र प्रविधिमा अभ्यस्त हुनै पर्छ। 

***

डिएनएको रिपोर्टमा वादी र प्रतिवादी दुई पक्ष भएकाले भएकाले कतिपय अवस्थामा डिएनएमै शंका हुन्छ। मुद्दा अदालतसम्म पुगेको अवस्थामा डिएनए टेस्ट गर्ने व्यक्ति अदालत पुगेर स्पष्टिकरण दिनुपर्छ। त्यस्तो अवस्थामा डिएनए टेस्ट गर्ने व्यक्ति,  टेस्ट गरिएको ल्याब र व्यवस्थापनमा प्रश्न खडा हुन्छ।

झाका अनुसार डिएनए गर्ने चारवटा प्रकिया हुन्छ। हरेक कोषिकामा डिएनए हुन्छ। कोषिकाअनुसार डिएनएको मात्रा पनि फरक हुन्छ। डिएनएको मात्रामा रहेको फरकपनलाई खोज्दै 'डिएनए टेस्ट' गर्नुपर्ने झाको कथन छ।

जस्तोसुकै चलाख अपराधीले पनि अपराध गर्दा संकेत छोडेको हुने बताउँछन् झा। कुनै संकेत या कोषिका बिनाको अपराधस्थल नहुने उनको कथन छ। ती संकेत डिएनएले नै पत्ता लगाउने उनको दावी छ। 

'रगत होस् या वीर्य, र्याथल होस् या खकार। नङ होस् या कपाल,' झा भन्छन्, 'अपराध स्थलमा केही भेटिएन भने त्यहाँको माटो र खरानीबाट पनि अपराधीको बारेमा संकेत मिल्छ।'

झाका अनुसार अनुसन्धान गर्दा दुवै पक्षको डिएनए एउटै ल्याबमा एउटै उपकरणबाट एकै समयमा गर्नुपर्छ। तर, त्यो नगरी फरक ल्याबमा फरक समयमा डिएनए टेस्ट गर्दा 'नेगेटिभ रिजल्ट' नै नआए पनि त्यो बेस्ट रिजल्ट हुँदैन। झा भन्छन्, 'सकभर फरक ल्याबमा फरक समयमा डिएनए नगरेको राम्रो।' 



डिएनए टेस्ट अपराधसँग जोडिएकाले खतरा सधैँ हुन्छ। हाइप्रोफाइल केसमा दबाब र प्रभाव दिनेहरु आउन सक्छन्। झाको हकमा पनि यस्ता अफरहरु नआएका हैनन्। 

भने, 'कतिपय अवस्थामा प्रभाव पार्न खोजे, 'इमोसनल ब्ल्याकमेलिङ' गर्न खोजे। मलाई अप्ठ्यारो भयो तर म डगमगाइनँ।'

'डिएनए डाटाबेस एक्ट' नहुँदा अझै पनि धेरै समस्या छ। उनका अनुसार डिएनए डाटाबेस भए मात्रै एउटा अपराधको पछाडि सारा देश नै पछाडि लाग्नुपर्दैन। डिएनए डाटाबेस भारत, बंगलादेश लगायत ७५ भन्दा बढी देशमा लागू भइसकेको छ। ऐन नबनिकन डिएनए डाटाबेस सुरु नहुने उनको कथन छ। 

भन्छन्, 'डिएनए डाटाबेस सिस्टम लागू नभइकन म मरे भने मलाई धेरै पछुतो हुनेछ। यसको अब आवश्यक भइसक्यो।'



जतिसुकै चलाख अपराधीले पनि केही न केही संकेत त छाडेकै हुन्छ : डिएनए वैज्ञानिक झा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट