PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सारा सिर्पालीको पढाइ सिए तर पेशा बन्दैछ सिनेमा



रीना मोक्तान

सारा सिर्पालीको पढाइ सिए तर पेशा बन्दैछ सिनेमा

चार्टर्ड एकाउन्टेन्सीका लागि २०११ मा बेलायत पुगेकी सारा शिर्पालीले सोचेकी थिइनन् उनी कुनै दिन फिल्म इन्डस्ट्रीमा हुन्छु भन्ने। 

साथीहरुले त कहिलेकाहीँ जिस्काउँथे, 'नेपाल जाउ फिल्म गर।' 

तर, उनको लक्ष्य हिरोइन होइन, सिए बन्नु थियो। त्यसैले हाँसेर टारी दिन्थिन्। 

२००८ मा मिस टिनको फस्ट रनर्स अप बनेकी उनलाई कताकता मिडियामा काम गर्ने रहर त थियो। तर, फिल्ममा देखिने मन कहिले भएन। 

बेलायतमा पढाइसँगै काम पनि गर्नुपर्थ्यो त्यसैले फेसन फोटोग्राफी र विवाहको भिडियोग्राफी थालिन्। 'मुस्लिम समुदायबीच डेढ वर्ष फोटोग्राफी र वेडिङ भिडियो खिचें। काम गर्दा रमाइलो थियो। साथै मलाइ प्रोफेसनल बन्न पनि सिकायो,' उनले भनिन्।  

निखिलसँग पहिलो र दोश्रो फिल्म 
युकेमा ६ वर्ष रहिन्, कोर्स पूरा गर्न। पढाइ सकेर २०१६ मा नेपाल आइन् सारा। फिल्म वितरक गोपालकाजी कायस्थ उनको परिवारको साथी।सारालाई देखेका थिए, उनले पनि फिल्म गर्न सुझाए।  कुरा भएको केही महिनामै निखिल उप्रेतीको 'रुद्र'मा काम गर्ने पक्कापक्की भयो। ‘सबै कुरा कस्तो सर्पाइजिङ्ली हुँदै गयो,’ उनले भनिन्।

डेब्यू फिल्म चलेन। तर, फिल्म क्षेत्रमा साराको चर्चा भयो। उनको सुन्दरतालाई धेरैले रुचाए। उनले दोश्रो फिल्म पनि निखिलसँगै गरिन्- 'पिंजडा ब्याक अगेन'। फिल्म रिलिजपछि भने उनको अभिनयको प्रशंसा चुलियो। 

'त्यतिखेर कमेडी फिल्महरु चलिरहेका थिए। हाम्रो फिल्मको पब्लिसिटी कम पनि भयो। जति हल्ला गर्नुपर्ने त्यति भएन,' उनले भनिन्, 'फिल्म चलेन। दोष मलाई दिनेहरु पनि थिए। तर, म जवाफ कामबाटै दिन पर्खिरहेकी थिएँ।' 

उनी हरेक काम उत्कृष्ट बनाउन चाहन्छिन्। भनिन्, 'मलाई चाहीँ कुनै काम गर्छु भने पर्फेक्ट गर्नुपर्छ भन्ने लाग्छ। अभिनयकै लागि जन्मेको चाहिँ भन्दिन। पत्रकार नै भएको भए पनि मैले त्यसमा पूरा लगाव दिन्थेँ।' 

सानैदेखि कम बोल्ने, लजाउने स्वभावकी साराले फिल्म गरेको सुन्दा अचम्म मान्ने साथीहरु पनि छन्। 

अब सुश्री सम्पत्तिमा 
उनले नयाँ फिल्म ‘सुश्री सम्पत्ति’ गरेकी छिन्। यसपाली उनी दुई कलाकार सलोन बस्नेत र विनोद न्यौपानेसँगै स्क्रिनमा देखिने भएकी हुन्। फिल्ममा निर्दोष युवतीको भूमिकामा देखिएकी उनले भनिन्, 'इनोसेन्ट गर्ल। त्यो पात्रले आमाको माया पाउँदिनन्।'

पात्रको पीडा उनले युकेमा रहँदा महसुस गरेकी थिइन्। त्यहाँ आमालाई निकै सम्झिन्थिइन्। अहिले त्यस्तै पात्रको भूमिका गर्न उनलाई त्यो बेलाको अनुभवले सहयोग गरेको बताउँछिन्। 

सिएमा इन्टर्नको तयारी 
बक्स अफिसमा फिल्म नचल्नुले आफूलाई फरक नपर्ने बताउँछिन् उनी। बलिउड र हलिउडका कलाकारले पनि फिल्ममा असफल भएको तर्क राख्छिन्। अब उनलाई अभिनयमा नै पर्फेक्ट हुनुछ। 

उनी फिल्मसँगै आफ्नो पढाइअनुसार सिएमा इन्टर्न गर्ने तयारीमा छिन्। युकेमा उनले एसिसिएमा सिए सकाएकी थिइन्। 'एसिसिएको स्कोप नेपालमा छैन।अब विदेश जान्छु कि के हुन्छ हेरुम्,' उनले भनिन्।

अहिले सिएको इन्टर्नसिपमा कमाउने रकम भन्दा बढी उनी फिल्म गरेर नै पाउँछिन्। उनी १ वर्ष ग्याप बनाउने योजनामा छिन्। 

अनमोलसँगको प्रेम चर्चा 
'सुश्री सम्पत्ति'को प्रदर्शन नजिकिँदै जाँदा सारा र अनमोल केसीको प्रेमको चर्चा सुनियो। जुन चर्चा उनलाई मन परेको छैन। यस विषयमा प्रश्न गर्दा उनले भनिन्, 'अनमोल र मैले एकसाथ फिल्म नगरे पनि साथी हुन त सक्छौं नि। एउटै क्षेत्रका हौं। किन अचम्मित हुनु?' 
अनमोलसँग नाम जोडिँदा उनी दु:खी पनि छिन्। 

'चर्चाका लागि अनमोलसँग मित्रता गरेको भन्छन्। अनमोलसँग यो विषमा कुरा भएको छैन। दु:ख लागेको छ। पिँजडा ब्याक अगेनमा उहाँको आमासँग काम गरेको थिएँ। त्यहीँबाट हो अनमोललाई चिनेको,' भनिन्, 'म यहाँ नाम र पैसाको लागि आएको होइन।'  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell