PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीन - अमेरिका तनाव : दुई दिन नबित्दै ट्रम्प-सी सहमति विवादमा



विधुर ढकाल

चीन - अमेरिका तनाव : दुई दिन नबित्दै ट्रम्प-सी सहमति विवादमा
फाइल फोटो : रोयटर्स। ब्रसेल्समा जी २० मिटिङमा ट्रम्प (दायाँ) र पिङ (वायाँ)

काठमाडौं : जनवरी १ देखि कार्यान्वयनमा आउने भनिएको ट्रम्प–सी सहमति विवादमा तानिएको छ। दुई दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच भएको भनिएको दुई देशबीचको व्यापारमा लगाइएको कर हटाउने सहमति विवादमा तानिएको हो। 

सहमतिलाई दुवै देशले आफ्नो आफ्नो ढंगले व्याख्या गर्दा सहमति विवादमा तानिएको हो। 

जी २० बैठकका लागि अर्जेन्टिना पुगेका दुवै नेताबीच ९० दिनका लागि कर हटाउने सहमति भएको हो। 


सो सहमति जनवरी १ देखि कार्यान्वयनमा आउने चीन पक्षलाई उदृत गर्दै चिनियाँ भाषाका समाचार संस्थाहरुले जनाएका छन्। तर, ह्वाइट हाउसले भने सहमति कर नबढाउने कुरा सर्तसहित भएको भन्दै दुवै पक्ष ९० दिन भित्र सहमतिमा पुग्ने सहमति भएको जनाएको छ। चिनियाँ मिडियाले दुवै देश कर हटाउने विषयमा मिलेर काम गर्ने उल्लेख गरेका छन् तर ह्वाइट हाउसले आफ्नो वक्तव्यमा भने यस कुरालाई उल्लेख नगरेको सीएनबीसीले जनाएको छ। 

ह्वाइट हाउसको उक्त वक्तव्यलाई चिनियाँ नागरिकलाई सेयर गर्नबाट रोकिएको समेत समाचारमा उल्लेख छ। ‘चिनियाँ वी च्याट प्रयोगकर्ताहरु समेत बेइजिङस्थित चिनियाँ दुतावासले चिनियाँ र अंग्रेजी भाषमा वी च्याटमा सेयर गरेको ह्वाइट हाउसका सेक्रेटेरीको सो वक्तव्यलाई सेयर गर्न सकेका छैनन्,’ समाचारमा भनिएको छ। 

अमेरिका र चीन दुवैले यो साता भएको व्यापार सम्बन्धी छलफल सफल भएको दाबी गरेका थिए। दुवै देशबाट आएका वक्तव्यले यसपछि हुने भनिएको छलफललाई थप चुनौती थपेको छ। 

चिनियाँ विदेशमन्त्री वाङ यीले दुवै देशले कर हटाउनका लागि काम गर्ने बताएका छन्। उनले साझेदार दुवै पक्षको रोजाइ भएको बताएका छन्। उनले दुवै पक्ष चीन अमेरिका सम्बन्धलाई साझेदारी समन्वय र स्थायित्वको आधारमा अगाडि बढाउन सहमत भएको बताएका छन्। 

चिनियाँ विदेशमन्त्री यीले दिएको यो बयान भने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वइट हाउसका प्रेस सेक्रेटरीले जारी गरेको वक्तव्यमा भने उल्लेख छैन। 

ह्वाइट हाउसले चिनियाँ उत्पादन माथि कर बढाएको थियो। जनवरी १ देखि लागू हुने गरी २०० विलियनका सामाग्रीमा १० प्रतिशतबाट कर बढाएर २५ प्रतिशत पुराउने घोषण गरेको थियो। 

यसैबीच चिनियाँ मिडियाले ताइवानलाई लक्षित गर्दै ‘एक चीन नीति’ प्रति ट्रम्प सहमत भएको उल्लेख गरेको छ। तर, यो बुँदा पनि ह्वाइट हाउसको वक्तव्यमा उल्लेख छैन। 

यता ट्रम्पले आइतबार साँझ ट्वीट गर्दै चीनमा आउने कारमा लगाइएको ४० प्रतिशतको कर हटाउन चीन तयार भएको जनाएका छन्।


ट्रम्पको यो ट्वीटमा उल्लेख भएको विषय पनि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा उल्लेख छैन। 

अमेरिकी वक्तव्यलाई वी च्याटमार्फत् पनि सेयर गर्न प्रतिबन्ध लगाइएको विषयमा टेनसेन्टले कुनै प्रतिक्रिया दिएको छैन।  

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि दुई सय अर्ब बराबरको चिनियाँ सामाग्रीमा कर लगाउने निर्णय गरेका थिए। अर्जेन्टिनामा चीनसँगको वार्ता सफल नभए थप २ सय ६७ अर्ब बराबरको सामानमा कर लगाउने ट्रम्पले बताएका थिए। 

अमेरिकाले चीनमाथि कर लगाउँदा अमेरिकी कम्पनीहरुलाई घाटा हुने भन्दै उनीहरुले ट्रम्प प्रशासनलाई करका बारे पुर्नविचार गर्न आग्रह गरेका थिए। ट्रम्पले थप २ सय ६७ अर्ब बराबरको सामानमा कर लगाएमा प्रविधि क्षेत्रमा लगानी गरेकाहरुलाई धेरै घाटा हुने बताइएको थियो।

अमेरिकी कम्पनीहरु ‘फिटनेस ट्रयाकर’, ‘इन्टेल कोर्प’ लगायतका कम्पनीले यो करले बजारमा नकारात्मक प्रभाव पार्ने बताएका थिए। ट्रम्पले घोषणा गरेको कर लागू भएमा एप्पलले चीनमा उत्पादन हुँदै आएको आफ्ना सामान महँगो हुने बताएको थियो। तर, ट्रम्पले भने ती कम्पनीहरुलाई स्वदेशमै लगानी गर्न भनेका थिए। 

अमेरिकाकी कदमको विरोधमा चीनले पनि अमेरिकाबाट आयात हुने लाखौं अर्ब बाराबरको सामाग्रीमा कर लगाउने घोषणा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell