PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

१ अर्ब ६१ करोडमा बिक्यो खुकुरी रम, भारतीयबाट किने नेपालीले



विज्ञान अधिकारी

१ अर्ब ६१ करोडमा बिक्यो खुकुरी रम, भारतीयबाट किने नेपालीले

काठमाडौं : खुकुरी रम उत्पादन गर्ने ५९ वर्ष पुरानो कम्पनी 'दि नेपाल डिष्ट्रिलरी' एक अर्ब ६१ करोड रुपैयाँमा बिक्री भएको छ। कम्पनी बिक्री भएसँगै दि नेपाल डिष्ट्रिलरीको स्वामित्व भारतीय लगानीकर्ताबाट एक जना नेपाली र अर्का एक जना गैरआवासीय नेपालीको हातमा आइपुगेको छ।

सन् १९५९ मा जमसेद जी कन्ट्रयाक्टरले स्थापना गरेको दि नेपाल डिष्ट्रिलरीको स्वामित्व पछिल्लो डेढ दशकदेखि भारत कलकत्ताको व्यापारिक घराना कनोइ परिवारसँग थियो। पश्चिम बंगालमा चियाको कारोवारमा संलग्न कनोइ परिवारका आदित्य कनोइले दि नेपाल डिष्ट्रिलरीको कारोवार हेर्दै आएका थिए।

कनोई परिवारको स्वामित्वमा भएको पिडिके इम्पेक्सको शेयर सिंगापुरमा बस्ने गैरआवासीय नेपाली शरदकुमार टिवडेवाला र नर्भिक अस्पतालका संचालक बसन्तकुमार चौधरीले खरीद गरेका हुन्। अहिले दि नेपाल डिष्ट्रलरीको ८० प्रतिशत स्वामित्व टिवडेवालासँग छ भने २० प्रतिशत स्वामित्व चौधरीसँग छ।

एक करोड रुपैयाँ अधिकृत पूँजी भएको दि नेपाल डिष्ट्रिलरीको ५६ लाख ८३ हजार दुई सय रुपैयाँ बराबर चुक्ता पूँजीका ५६ हजार ८३२ कित्ता शेयर छन्। नेपालीले खरीद गर्नु अघि दि नेपाल डिष्ट्रिलरीको यो सबै शेयर भारत कलकत्ताको पिडिके इम्पेक्ससँग थियो।

पिडिके इम्पेक्ससँग भएको शेयरमध्ये सुरुमा पशुपति प्लानर्सले ३१ हजार ४२८ कित्ता (५५ प्रतिशत) शेयर माघमा खरीद गरेको थियो भने बाँकी २५ हजार ४०४ कित्ता (४५ प्रतिशत) शेयर एमसिकेटि होल्डिङले जेठमा खरिद गरेको थियो। पशुपति प्लानर्समा वसन्त चौधरीको बिएलसि होल्डिङ्गस र टिवडेवालको स्वामित्व थियो भने एमसिकेटि होल्डिङमा टिवडेवालाको शतप्रतिशत स्वामित्व छ।

पशुपति प्लानर्स र एमसिकेटि होल्डिङ दुवैले यो शेयर प्रतिकित्ता २८ हजार ३२९ रुपैयाँ ११ पैसाका दरले खरीद गरेका हुन्। पशुपति प्लानर्सले ५५ प्रतिशत शेयर ८९ करोड तीन लाख रुपैयाँमा र एमसिकेटी होल्डिङले ४५ प्रतिशत शेयर ७१ करोड ९६ लाख गरी एक अर्ब ६१ करोडमा खरिद गरेको थियो।

यो कारोवार भएपछि कनोई परिवारले नेपाल सरकारलाई पूँजीगत लाभकरका रुपमा मात्रै ४० करोड १० लाख ८९ हजार तिरेको छ। कनोई परिवारलाई विदा गरेपछि होल्डिङ कम्पनी पशुपति प्लानर्सलाई दि नेपाल डिष्ट्रिलरीमा मर्ज गरिएको थियो। मर्ज गरेपछि दि नेपाल डिष्ट्रलरीको शेयर संरचना समेत परिवर्तन भएको छ।

अब कम्पनीमा एमसिकेटि होल्डिङको ४२ हजार ६२५ कित्ता (७५ प्रतिशत), वसन्त चौधरीको स्वामित्व भएको कम्पनी बिएलसि होल्डिङ्गसको ११ हजार ३६७ कित्ता (२० प्रतिशत) र शरद टिवडेवालको नाममा २८४० कित्ता (पाँच प्रतिशत) स्वामित्व छ।
कम्पनी बेच्ने आदित्य कनोइ, खरिद गर्ने शरद टिवडेवाल र वसन्त चौधरी
 

दफा ५७ बाट पनि कर

यो कारोवारमा पुँजीगत लाभकर मात्रै नभएर दफा ५७ अनुसार दि नेपाल डिष्ट्रिलरीले समेत लाभकर तिरेको छ। ५१ प्रतिशतभन्दा माथिको स्वामित्व परिवर्तन हुँदा आयकर ऐनको दफा ५७ आकर्षित हुन्छ। दफा ५७ अनुसार कम्पनीको सम्पत्ति मूल्याङ्कन गराउने र त्यसबाट दायित्व घटाएर हुने नाफामा कम्पनीले २५ प्रतिशतका दरले लाभकर तिर्नुपर्दछ।

२०७४ असार ३१ को वित्तीय विवरणअनुसार कम्पनीसँग जग्गाजमिन तथा इक्विपमेन्ट गरेर १२ करोड ५७ लाखको सम्पत्ति थियो। पहिलो शेयर कारोवार (५५ प्रतिशत स्वामित्व हस्तान्त्रण) ७ माघ २०७४ मा यसको मूल्याङ्कन बढेर ६५ करोड ५९ लाख रुपैयाँ पुगेको छ। यसरी कम्पनीसँगको इन्भेन्टरी, ट्रेड रिसिभेवल, नगद तथा बैंक बचत गरेर कुल सम्पत्ति ५९ करोड रुपैयाँबाट बढेर माघमा एक अर्ब २३ करोड रुपैयाँ पुगेको छ। कम्पनीसँग वालाजुमा आफ्नै जग्गासहितको प्लान्ट छ।

साढे दुई अर्बको कारोवार

५९ वर्ष पुरानो कम्पनी भए पनि दि नेपाल डिष्ट्रिलरीले खुकुरी रम मात्रै उत्पादन गर्दै आएको छ। रम सेग्मेन्टमा एक छत्र राज गरेको खुकुरी रमको सिजन दशैंपछि माघसम्म पाँच महिना चल्छ।

पाँच महिना मात्रै ठूलो कारोवार गरे पनि कम्पनीले वार्षिक साढे दुई अर्ब रुपैयाँको हाराहारीमा कारोवार गर्छ। ३१ असार २०७४ मा सकिएको आर्थिक वर्षमा कम्पनीले दुई अर्ब १९ करोड रुपैयाँको कारोवार गरेको थियो। खुकुरी रम नेपालमा मात्रै नभएर विदेशमा समेत लोकप्रिय छ। कम्पनीले उक्त आर्थिक वर्षमा एक करोड ६३ लाख रुपैयाँको रम विदेश निर्यात गरेको थियो।

कारोवार रकम दुई अर्व १९ करोड रुपैयाँको देखिए पनि यो कारोवारमा एक अर्ब २६ करोड रुपैयाँ भने अन्त शुल्कको मात्रै हिस्सा छ। कम्पनीले उक्त आर्थिक वर्षमा १७ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

कम्पनी बिक्री गर्ने सोंच बनाएपछि कनोई परिवारले उक्त आर्थिक वर्षमा पुरानो नाफालाई समेत जोडेर ३० करोड रुपैयाँको लाभांस वितरण गरेको थियो। कम्पनीले लाभांस वितरणका लागि उपलब्ध नाफामध्ये ९२ लाख रुपैयाँ मात्रै बाँकी राखेर अरु सबै लाभांस वितरण गरेको थियो।

५९ वर्षको हेरिटेज

सन् १९५९ मा जमसेद जी कन्ट्रयाक्टरले दि नेपाल डिष्ट्रलरीको स्थापना गरेका थिए। खुकुरी रमको इतिहास पनि यही कम्पनीको स्थापनादेखि नै जोडिएको छ। उनले नेपालसँगै भुटानमा दि भुटान डिष्ट्रिलरी तथा सिक्किम सरकारसँगको साझेदारीमा सिक्किम डिष्ट्रिलरी पनि सुरु गरेका थिए। तीन वटामध्ये भुटानको कम्पनी बन्द भैसकेको छ भने सिक्किम र नेपालका दुई वटा डिष्ट्रिलरी अझै सञ्चालनमा छन्।

नेपालमा खुकुरी आकारमा खुकुरी रम उत्पादन गरे झैं सिक्किममा पनि सिक्किम हिमालयन प्रिमियम ओल्ड गोल्ड ह्विस्की उत्पादन हुन्छ। सन् २००१ मा जमसेदजीसँगै चार जना साझेदारले नेपाल डिष्ट्रिलरीको शेयर स्वामित्व कनोइ परिवारलाई बिक्री गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell