PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सर्वोच्चको व्याख्या : विदेशी नागरिकता लिएपछि 'नेपाली नागरिक' हुन पाइन्न, विषयान्तर फैसला भएको रिट निवेदकको आरोप



पहिलोपोस्ट

सर्वोच्चको व्याख्या : विदेशी नागरिकता लिएपछि 'नेपाली नागरिक' हुन पाइन्न, विषयान्तर फैसला भएको रिट निवेदकको आरोप

काठमाडौँ : सर्वोच्च अदालतका पाँच न्यायाधीशको संवैधानिक इजलासले विदेशी नागरिकता लिइसकेपछि 'नेपाली नागरिक' नहुने व्याख्या गरेको छ। 

संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नहुने व्यवस्था गरेको, गैरआवासीय नागरिकताको व्यवस्था गरेपछि संविधानले नेपाली नागरिक मानेको तर नागरिकता ऐन, २०६३ को दफा १० ले भने विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहने व्यवस्था गरेकोले यो बाझिएको र खारेज हुनुपर्ने तर्क रिट निवेदक गोविन्द बेल्वासे (लामिछाने) र सुरेन्द्रबहादुर श्रेष्ठले गरेका थिए। 

एक पटक लिइसकेको नेपाली नागरिकता निरन्तर कायम रहनुपर्ने तर्क उनीहरुको थियो। 

तर सर्वोच्चको संवैधानिक इजलासले भने 'अनुमान र आशंकाको आधारमा कानुनलाई चुनौति दिन नमिल्ने' आदेश दिएको छ। यससम्बन्धी फैसला २०७५ असार २० गते नै तयार भइसकेको भए पनि पूर्ण पाठ भने शुक्रबार सार्वजनिक भएको हो।

'देशको मूल कानूनको रूपमा रहेको संविधान आफैंमा स्पष्ट र द्विविधारहित रहेको छ त्यसको अन्यथा व्याख्या गरी अर्को निष्कर्षमा पुग्न समेत मिल्दैन', आदेशमा उल्लेख छ, 'साथै कुनै कानूनी व्यवस्थाले संविधान प्रदत्त हकमा आघात पारेको वा संविधानको भावना विपरीत नदेखिएको अवस्थामा अनुमान र आशंकाको आधारमा कुनै कानूनलाई चुनौती दिन र अमान्य घोषित गर्न मिल्दैन।'

 दोहोरो नागरिकता अधिकारको विषय हैन

सर्वोच्चको व्याख्या छ- कुनै व्यक्तिले एकै पटक र एकै समयमा एकभन्दा बढी अर्थात् कम्तिमा दुईवटा देशको नागरिक हुन पाउनुपर्छ भनी व्यक्तिले अधिकारको रूपमा दावी गर्ने विषय होइन। अर्थात् दोहोरो नागरिकता व्यक्तिको अधिकार हैन। यो त सम्बन्धित मुलुकको संविधान, कानून र राष्ट्रिय नीतिले निर्धारण गर्ने विषय हो।

आदेशमा छ, 'वास्तवमा कुनै प्राकृतिक व्यक्ति एकै पटक र एकै समयमा एकभन्दा बढी अर्थात् कम्तिमा दुईवटा देशको नागरिक हुन पाउनुपर्छ भनी व्यक्तिले अधिकारको रूपमा दावी गर्ने विषय भन्दा पनि सम्बन्धित मुलुकको संविधान, कानून र राष्ट्रिय नीतिले निर्धारण गर्ने विषय देखिन्छ।'

'कुनै देशले दोहोरो नागरिकताको अवधारणालाई स्वीकार गरेको दृष्टान्तका आधारमा कसैले अर्को देशले समेत सोही अवधारणा अपनाई दोहोरो नागरिकता स्वीकार गर्नुपर्छ भन्ने आग्रहका साथ दोहोरो नागरिकताको अवधारणासँग मेल नखाने प्रकृतिको कुनै राष्ट्रिय कानूनी व्यवस्थाको वैधताउपर अन्यथा दावी गर्न सिद्धान्ततः मिल्ने समेत देखिंदैन', सर्वोच्चको व्याख्या छ। 

विकल्प गैरआवासीय नागरिकता र पुनः प्राप्ति

सर्वोच्चले संविधानमा विदेशको नागरिकता त्यागिसकेपछि नेपालमा राजनीतिक अधिकारबाहेक अरु अधिकार पाइने गैरआवासीय नागरिकता पाउन सकिने र विदेशको नागरिकता त्यागिसकेपछि पुनः नेपाली नागरिकता पाउन सकिने व्यवस्था रहेको स्मरण गराएको छ। 

गैरआवासीय नागरिकताको प्रावधान यसअघि नेपालमा थिएन। हालको संविधानमार्फत् यो अधिकार स्थापित गरिएको हो। 

विषयान्तर फैसला भएको आरोप

नागरिकता निरन्तरता र सार्वभौमसत्ता नागरिकमा रहेको मागका विषयमा दोहोरो नागरिकता भन्दै विषयान्तर फैसला भएको आरोप रिट निवेदकमध्येका एक गोविन्द बेल्वासेले लगाए।

उनले पहिलोपोस्टसित लिखित संवादमा भने, 'हामीले निवेदनमा सार्वभौमसत्ता जनता(नागरिक)मा रहेकोले (धारा २) व्यवस्थापिकालाई नागरिकता ऐनको दफा १० बनाउने अधिकार नभएको र शक्तिपृथक्कीकरणको विषयमा माग गरी दुईवटा निवेदन सर्वोच्चमा दर्ता गरेका थियौं। तर फैसलामा मुद्दाको चुरो कुरोमा प्रवेश नै नगरी सार्वभौमसत्ताको र शक्तिपृथकीकरणको सिद्धान्तको विषयमा कुनै शब्द समेत उल्लेख गरेको पाइएन।'

उनले यो सैद्धान्तिक विषय भएको र संविधानवाद व्याख्याका लागि अमेरिकाको दुई महत्वपूर्ण नजीर र विश्वविद्यालय जर्नलमा प्रकाशित लेखहरु अदालतमा पेश गरे पनि अदालतले त्यस विषयमा बोल्दै नबोली फैसला गरेको दावी गरे। 'यो फैसलाले प्राज्ञिक छलफल उठान गरेको छ', उनले भने, 'यी मुद्दा जित हारको होइन। संविधानवादको तथा शक्तिपृथकीकरणको सिद्धान्तमा आधारित हुन्। यो मुद्दामा सबैभन्दा बढी धारा २ को सार्वभौमसत्ताको विषयमा व्याख्या हुनुपर्ने थियो। तर अदालतले प्राज्ञिक छलफल नगरी विषयान्तर गरेर दोहोरो नागरिकताको चर्चा गरेकाले यो प्राज्ञिक छलफल निरन्तर जारी रहने छ।'

उनी भन्छन्, 'नागरिकमा सार्वभौमसत्ता निहित रहेको ब्याख्याका लागि अदालतले निकट भविष्यमा यस विषयमा पुनर्विचार गरी सही ब्याख्या गर्ने छ भन्ने पूर्ण विश्वास छ।

अदालतको गरिमा बढाउन र संविधानवाद तथा कानूनको शासन लागू गराउन आफूहरुले प्राज्ञिक छलफलका साथै अदालतको पूर्ण ब्याख्याको लागि प्रयास निरन्तर जारी राख्ने उनले बताए।



  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell