PahiloPost

Nov 16, 2018 | ३० कात्तिक २०७५


भाइटीकामा भावुक कनिका : दिदीबहिनी दिनहुँ आतयायी अत्याचारको शिकार हुँदा दाजुभाइ किन मौन?


भाइटीकामा भावुक कनिका : दिदीबहिनी दिनहुँ आतयायी अत्याचारको शिकार हुँदा दाजुभाइ किन मौन?

  • किशोर नेपाल -
आजै हो तिहारको अन्तिम दिन भाइटीका । कनिका आफूले पढेको एउटा किंवदन्ती सम्झिदै थिइ : कालले टिपेर लान खोजेको दाजु–भाइलाई जोगाउन दिदी–बहिनीले तीलको तेलले ढोका छेकेको दिन। पारिवारिक सम्बन्धको गाथा। एउटै आमाको पेटबाट निस्किएका दाजु–भाइ र दिदी–बहिनी बीचको सम्वन्ध र मायाको स्वर्णिम क्षण।

कनिका भावुक भएर लेख्दैछे : यतिबेला ती सम्बन्धहरु प्लाष्टिकको फूल भएका छन्। प्लाष्टिकको फूलमा न वास्ना हुन्छ, न गन्ध। दिदी–बहिनी दिनहूँ आततायीहरुको अत्याचारको शिकार भइरहेका बेला दाजु–भाइ मौन रहेका छन्। मौन रहनु उनीहरुको विवशता भएको छ। देशमा कानून नभएको होइन। पछिल्लो समयका घटनाक्रमहरु हेर्ने हो भने कानूनले पीडितलाई नै अभियुक्त बनाउन थालेको छ। दिदी–बहिनीको सुरक्षामा दाजु–भाइको कर्तव्य साँघुरिएको छ। दाजु–भाइ एकप्रकारको भयको अवस्थामा छन्। त्यो भयबाट मुक्त गर्ने लोकतन्त्र आफै छटपटाएको छ। ‘याकुजा’को पकडमा छ लोकतान्त्रिक सत्ता। याकुजा अर्थात राजनीतिक माफिया।

देशमा बलात्कारका घटना यति विघ्न बढेका छन कि हरेक दिदी–बहिनी आफनै दाजु–भाइबाट समेत झस्किनु र तर्सिनुपर्ने अवस्था सिर्जना भएको छ। हँसिलो अनुहारमा दिदी–बहिनीको हातबाट सप्तरंगी टीकाले आफनो निधार सजाइ रहेको केटो कतिबेला राक्षस बन्दछ? कसैले भन्न सक्दैन। यो कुनै एक घर परिवारको दुःख होइन। मानिसभित्रको राक्षस दिनहूँ बलियो हुँदै गएको छ र यो जटिल समस्याले पूरै सामाजिक संरचनालाई जकेडेको छ। देश र छिमेकमा यस्ता नेता छन् जो कुनैबेला आदर्शवादका प्रतीक पुरुष थिए।

सन्तान मोहले धृतराष्ट्र बनेका ती नेताहरु “युवावस्थामा केटाहरुबाट गल्ती भै हाल्छ” भनेर बलात्कारीको प्रतिरक्षा गर्दछन। “नारीहरुले आफनो “ग्ल्यामर” नदेखाए त भै गो नि, त्यसो भए उनीहरुप्रति मानिसको आकर्षण बढदै बढदैन” काग तिहारको दिन हाइल्याण्ड बीन्स कफी स्टोरमा एउटा कौवा कराउँदै थियो। कफी पिउन स्टोर पसेका सुदिप्ती र कनिकाको कानमा त्यो वाक्य परेपछि कनिका निकै उद्वेलित भइ। तै, सुदिप्तीले थामपुर पारी र मात्र । नत्र, त्यो कौवाको प्वाँख उखेल्न तयार थिइ कनिका।

कनिकालाई थाहा थियो, उसको जस्तै कनिकाको पनि दाजु–भाइ छैनन । सुदिप्तीले केही वर्षसम्म आफना ठूला बाबाको छोरा सुनयनलाई टीका लगाएकी थिइ। सुनयन पढाइका लागि क्यानाडा गएदेखि उसले कसैलाई टीका लगाएकी छैन। गएको दुइ तीन बर्ष सुनयनले म टिकट पठाइ दिन्छु तिमी भाइटीकाका लागि आउ भनेर निकै गनगन गरेको थियो।  सुदिप्तीले इन्कार गरी। उसलाई अज्ञात किसिमको डरले गाँजेको थियो। कजनहरुसंग फँसेका एक दर्जन भारतीय युवतीहरुको कथा थाहा थियो सुदिप्तीलाई। त्यही कारण हो ऊ क्यानाडा गइन। उ कतै पनि गइन।
जवाहरलाल नेहरु युनिभर्सिटीबाट संचार र पत्रकारितामा एम.ए. र एम.फील. गरेपछि उसले पढाई छोडी। त्यो भन्दा बढी पढ्ने मन भएन उसलाई।

सुदिप्ती त्यसपछि विदेशी स्वयमसेवकहरुले चलाएको संस्थामा काम गर्न थाली। त्यही क्रममा ऊ अछाम पुगी। अछामका धेरै मानिस रोजगारीको सिलसिलामा भारत, मुम्बईमा थिए। उनीहरु आफनो आवश्यकता पूरागर्न खुला बजारमा असुरक्षित सेक्स किन्ने गर्दथे। यसले गर्दा उनीहरु मध्ये धेरै एच.आइ.भी. एड्सका शिकार हुन्थे। औषधि गर्ने त कुरै थिएन। शरीरमा कमजोरी शुरु भएपछि उनीहरु विभिन्न देउताको मन्दिरमा पुगेर मनौति माग्दथे। छुट्टीमा घर आएका बेला उनका परिवारलाई यो संक्रामक रोग सर्थ्यो। यसरी शुरु भएको थियो, अछामको बिजोग।
 
अछामबाट फर्किएपछि सुदिप्ती सोझै पत्रकारितामा आइ । उसले आफनो वरपर आफनो सेनाको सानो टुकडी तयार पारी । उसको डिजिटल न्यूजपेपरका लागि खुराक जुटाउने काम यही टोलीको थियो । कनिकालाई सुदिप्ती आफनो एसेटका रुपमा हेर्थी । कनिका त्यस्तै थिइ । दिमागमा बिषय फुरेर मात्रै नहुने, त्यसको प्रामाणिकता पनि स्थापित हुनुपर्ने । उसका लागि देशका सात प्रदेश र सतहत्तर जिल्लामात्र समाचारका क्षेत्र थिएनन । तै पनि, सबभन्दा महत्वपूर्ण त देश नै थियो ।

ऊसँग लेख्नका लागि अनगिन्ती विषय थिए । जस्तो कि, अहिले चलाउन खोजेको ट्रेण्डमा स्थानीय तहका गाउँ र नगर पालिकाहरुले बनाउन लागेको भ्यू टावर, बाटो खन्न भाडामा ल्याएको डोजर, समृध्दिका नाममा धमाधम बस्न थालेका विदेशी (चीनियाँ) सामानको बजार, स्थानीय तहमा फस्टाउन लागेको खसीको झानेको सेकुवा र रक्सीको ब्यापार । ठेकेदार र बिचौलियाहरुको आगमनसंगै बढन लागेको डान्स बार, ज्योति मगरका गीत र नृत्यहरुको मादक प्रस्तुतिमा झुमी रहेको समाज । यी सवै बिषय खोतल्दै जाँदा सानोतिनो महभारत नै तयार पार्न सकिन्थ्यो । कनिका सोच्दै थिइ । यसबाट के हुन्छ र ? समाज ब्यापक रुपमा साक्षर भएपनि शिक्षित छैन । जुन सरकारले शिक्षाको उद्देश्य नै स्पष्टगर्न सकेको छैन, त्यहाँ के नै हुन्छ र गतिला कुरा ।

निर्मला काण्डमा कनिका सरकारले निष्पक्ष काम गर्छ भन्नेमा ढुक्क थिइ । तर, सरकार असफल हुन तयार भयो । सत्यको मुख खोल्न तयार भएन । त्यसले समाजमा दण्डहीन अवस्था मौलायो । “बलात्कार त जति गरे पनि हुने रहेछ, केही गर्दो रहेनछ सरकारले” भन्ने मानसिकताको बिकास भयो । नेपालमा पनि छरछिमेकका नेताहरुको उदाहरणको चमक बढ्यो। उत्तर प्रदेश र बिहारकै जस्तो परिस्थिति बन्न थाल्यो । भारतका ती दुई राज्यलाई उदाहरणका रुपमा प्रस्तुतगर्ने बुध्दिजीवीले काम पाए।

“कति रमाइलो छ नेपाली मान्यता” कनिकाले सम्झिइ, “केटाहरु लर्को लागेर ठग अफ हिन्दुस्तान हेर्न गएका छन ।” उसले अर्को घटना सम्झिइ, एकजना मित्रले रंगोलीलाई नेपाली संस्कृतिसंग मिल्दोजुल्दो मानेछन्। रंगोली त हिंगोली जस्तै हो जसले पाचकको काम गर्दछ । कनिकाका लागि यो साउने संक्रान्तिदेखि अर्को साउने संक्रान्तिसम्मको पूरै समय चाडवाडको हो । अरु विचारलाई डिलिट हानी दिंदा फरक पर्दैन । 

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)



भाइटीकामा भावुक कनिका : दिदीबहिनी दिनहुँ आतयायी अत्याचारको शिकार हुँदा दाजुभाइ किन मौन? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट