PahiloPost

Nov 16, 2018 | ३० कात्तिक २०७५


भारतीय लक्ष्मीले विस्थापित गर्दैछ नेपालको मौलिक लक्ष्मी, के फरक हुन्छ दुई लक्ष्मीको चित्रमा?


सहयोग रञ्जित

भारतीय लक्ष्मीले विस्थापित गर्दैछ नेपालको मौलिक लक्ष्मी, के फरक हुन्छ दुई लक्ष्मीको चित्रमा?

भक्तपुरको नागपोखरीस्थित थलाछेँको एउटा साँघुरो कोठामा एक वृद्ध कागजमा रंग लगाउँदै थिए। 

भूकम्पले हल्लाएको घर। अलि ठूलो धक्का आयो भने ढलिहाल्ला कि भन्ने डर। यही तीन तल्ले घरको भूइँतल्लामा धनधान्यकी देवी लक्ष्मीको चित्र तयार पार्दै थिए ७७ वर्षीय कृष्णराम चित्रकार। यो चित्र लक्ष्मीपूजामा बेच्न राखिन्छ। 

बीचमा लक्ष्मी, दायाँ कुबेर र सेतो ख्या: (ख्याक), मुनितिर लक्ष्मीको वाहन कछुवा। सबैमा पालैपालो रंग भर्दै थिए उनी। कहाँ कुन रंग भर्ने कन्ठै भइसकेको भान हुन्थ्यो। एक ठाउँमा लगाउनुपर्ने रंग अर्कोमा पर्ने सम्भावना नै थिएन। 

सानो छँदादेखि नै आफ्ना बाजेबुवासँगै बसेर लक्ष्मी बनाउन सिकेको बताउँदै कृष्णराम भन्छन् 'पहिला पूरै चित्र हातले नै बनाउने गरिन्थ्यो। पछि त्यो सम्भव भएन। त्यसैले लक्ष्मी सहित ख्या:, कछुवा, कुवेर लगायत भएको आकृति ब्लकमा राखिन्छ। ब्लकबाट लक्ष्मीको चित्र छापिन्छ। त्यसपछि हातले रंगहरु लगाइन्छ। हातले नै सबै साजसज्जा गरेपछि फोटो बजारमा पठाउन तयार हुन्छ।'
 
तर अचेल यस्तो मौलिक लक्ष्मीको बजार घटेको छ। 

त्यो बेला हजार वटासम्म चित्र बनाउने गरेका उनले यो वर्ष भने सय वटा जति मात्रै बनाए।  कृष्णराम भन्छन्, 'भारतबाट आयातित लक्ष्मीको चित्र सस्तो, चिल्लो र आकर्षक देखिनाले मानिसहरु मौलिक चित्र भन्दा भारतबाट आयात गरिएको तस्विरहरु प्रयोग गर्न थालेका छन्।‘

तर यस्तो प्रकारका चित्रहरुको महत्व बुझेकाहरुले अहिले पनि खोजी खोजी यस्तै चित्र किन्ने गरेको सुनाउँदै उनले भने, ‘जसलार्इ चित्रका बारे केही थाहा छैन, उनीहरु आउने कुरै भएन।'  

हातले बनाएको चित्र बजारमा खासै नदेखिएको बारे उनले भने, 'अरुले गरेन भनेर आफू पनि चुप लागेर बस्ने कि संस्कृतिलार्इ जीवन्त चलाइरहने? देवता खोज्न कतै जानु पर्दैन। दुर्इ पैसा कमाइन्छ। त्यहीलार्इ लक्ष्मी हो हाम्रो लागि।'

***

व्यस्त मंगलबजार सडकको चोकमा एक हुल मानिसहरु सडक पेटीमा राखिएको लक्ष्मीका चित्रहरु छान्दै थिए। ६५ वर्षे शान्ता चित्रकार गाह्रकलार्इ चित्रसँगै नयाँ कुचोमा टाँस्न दृष्टि (मिखा) बेरेर दिँदै थिए। 

केही दिन भयो बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चोकमै चित्र बेच्न व्यस्त हुन थालेको। यसपटकको लक्ष्मीपूजाका लागि करिब ६ महिना लगाउँदा पनि उनको परिवारले जम्मा १२०० वटा जति मात्रै लक्ष्मीको चित्र तयार पार्न सक्यो। सानो, मध्यम र ठूलो खालको चित्रको उनी १० देखि ८० रुपैयाँसम्म लिने गर्छन्। 

लगानी उठ्छ त भन्ने प्रश्नमा उनले भने 'पुर्खादेखि यही काम गर्दै आएको हो। समय धेरै दिनुपर्छ। मान्छे खट्नुपर्छ। तर यो काम नाफाका लागि गर्ने होइन। फाइदा नभएपनि बनाउनुपर्छ। यो हाम्रो धर्म हो।'

समय परिवर्तन भए पनि नेपाली मौलिक लक्ष्मी किन्नेको कमी देखेका छैनन् उनले। भन्छन् 'सबैले आएर किन्छन्। महत्व बुझेका खोजी खोजी आउँछन्। लक्ष्मीपूजाको दिनसम्म सबै लक्ष्मी बिक्री हुन्छ।' 

फोटो भारतको, शिशा चीनको

आफैले रंग लगाएको लक्ष्मीको चित्रसँगै उनले चिल्ला कागजमा छापिएका लक्ष्मीका केही चित्रहरु पनि राखेका छन्। भन्छन् 'भारतबाट आयात गरेका ४०-५० वटा लक्ष्मी राखेको छु। किन्नेले किन्नोस् भनेर। बिक्री नभए पनि मतलब भएन।' 

नेपाली बजारमा पाइने प्रिन्टेड र टल्कने लक्ष्मीका चित्रहरु प्राय भारतको चेन्नई र बनारसमा छापिन्छन्। त्यस्ता चित्रहरुमा छापिएको स्थान र कम्पनीको नाम पनि हुन्छ। 

असनमा करिब १५ वर्ष देखि यस्ता तस्विरहरुको व्यापार गर्दै आएका संजय के गुप्ता आफै भारतको पटनामा गएर लक्ष्मीका चित्र छानेर ल्याउने बताउँछन्। 'दिल्ली, चेन्नईसम्म गएर तस्विर ल्याउँदा महंगो हुने हुँदा पटनाबाट किनेर ल्याउने हो। धेरैले ल्याउने पटनाबाटै हो।'

लक्ष्मीको तस्विरको आकार, डिजाइन हेरे मूल्य निर्धारण हुन्छ। एउटा फोटोको मूल्य १० रुपैंयादेखि १५० सम्म पर्छ। फ्रेमसहितको तस्विर भने ५० देखि ४०० भन्दा बढी मूल्यमा पाइन्छ। 

लक्ष्मीको तस्विर तयार गर्नका लागि चाहिने काठको फ्रेम नेपालमै बन्छ तर सिसा भने चीनबाट आयात गरिन्छ। चीनबाट ल्याइने सिसा भारतको भन्दा सस्तो हुने भएकाले बजारमा त्यसको धेरै खपत हुन्छ। 

बजारमा अहिले डिजिटल लक्ष्मी पनि देख्न सकिन्छ। धेरै जसो डिजिटल लक्ष्मी भारतबाट आयात गरिएको हुन्छ। अहिले चीनबाट पनि त्यस्ता सामाग्रीहरु आयात गरिन्छ। ३०० देखि १००० भन्दा बढी मूल्य पर्ने डिजिटल लक्ष्मी बजारमा पाइन्छ।

के छ फरक भारत र नेपालको लक्ष्मीमा? 

भारतबाट ल्याइने चित्रहरुमा लक्ष्मीका विभिन्न आकृति बनाइएपनि काठमाडौँका रैथानेहरुले पूजा गर्नका लागि भने धनलक्ष्मीको आकृति बनाउने गरिन्छ।

नेपालमा खासगरी १६ लक्ष्मी पुजिने र नेपाल संवतको अन्तिम महिना कौलागाको अन्तिम दिन अर्थात् लक्ष्मीपूजाका दिनमा भने धनलक्ष्मीको पूजा गर्ने प्रचलन रहेको बताउँछन् वरिष्ठ चित्रकार प्रेममान चित्रकार। 

भारतबाट आयातित लक्ष्मीका चित्रहरु वैष्णव सम्प्रदायसँग मिल्छ। लक्ष्मीपूजामा भारतमा विष्णुकी अर्धाङ्गिनी लक्ष्मीको आराधना गर्छन्। तर नेपालीहरुले पुज्ने लक्ष्मी विष्णुकी श्रीमति लक्ष्मी नभई धनलक्ष्मी भएको उनले बताए। 

भारतमा बनेका लक्ष्मीका चित्रहरुमा गणेश, सरस्वती इत्यादि देउताका चित्रहरु पनि हुन्छन्, तर यता बनाइने चित्रहरुमा त्यस्तो हुँदैन। यहाँ धेरै पहिलेदेखि चित्रकारहरुले हातले रंग लगाएका धनलक्ष्मीको पूजा गर्ने चलन छ। तर भारतबाट सस्तो र प्रिन्टेड चित्रहरु भित्रिन सुरु गरेसँगै नेपालको मौलिक चित्रकला लोप हुने खतरा रहेकोमा उनी चिन्ता व्यक्ति गर्छन्।  

धनलक्ष्मीको दूतमा रुपमा चित्रमा अनिवार्य कुबेर र सेतो ख्याक हुनैपर्छ। यस्तै धनलक्ष्मीको वाहनका रुपमा कछुवा हुन्छ। धनलक्ष्मी आकृति भएको तस्विर माथि झुल राखिएको हुन्छ। झुलहरु कोठामा प्रयोग हुने र ढुकुटी पनि त्यहीँ रहने गरेकोले लक्ष्मी पनि ढुकुटी संचय गर्न स्थानमा बस्ने देखाइएको हो। 

यसरी चित्र बनाउनु र पुजिनुको अर्थ धन जथाभावी खेर नजाओस, सम्हालेर संचय गर्न सकियोस् भन्ने रहेको प्रेममानले बताए। 

ख्याकले धनी महाराजहरु कहाँ गएर तर्साएर पैसा उठाएर लक्ष्मीलार्इ दिने गर्छ भने कुबेरले धन संचय गर्ने उनी बताउँछन्। तर कृष्णरामको भने ख्याकका बारेमा अर्कै तर्क छ। भन्छन्, ‘ख्या: हरु डर लाग्दा हुन्छन्। उनीहरु राखेपछि धन चोरी हुने सम्भावना हुँदैन।' 

यस्तै नेपालमा बन्ने लक्ष्मीको हातमा  ज्वला न्हाय्कं (प्रकाश छर्ने ऐना) र सिन्ह: मू (सिन्दुर राख्ने बट्टा) हुन्छ। ज्वला न्हायकं पित्तल वा चाँदीबाट बनाइएको हुन्छ। यसको बीचको भाग ऐनाजस्तो चम्किलो गरी बनाइएको हुन्छ। नेवार समुदायमा छोरीको विवाह गर्दा यो नभई हुँदैन।

त्यसैले चित्रमा यसको प्रयोग आफैमा महत्वपूर्ण भएको भन्दै कृष्णराम भन्छन् 'ज्वला न्हायकं बिना नेपाली लक्ष्मी बन्दैन। यसको मुनितिर बत्ति बाल्ने ठाउँ हुन्छ। तेल राखेर बत्ति बाले पछि त्यसको प्रकाश माथि रहेको ऐनामा प्रतिबिम्बित हुन्छ। त्यसले कोठा उज्यालो हुन्छ। धन सम्पतिको सुरक्षा हुन्छ। '

लाटोकोसेरो हैन कछुवा वाहन

धेरै जसो चित्रमा लाटोकोसेरोलार्इ लक्ष्मीको वाहनका रुपमा प्रस्तुत गरिएको हुन्छ। तर त्यो गलत रहेको प्रेममान बताउँछन्। 
'हामी अज्ञानमा गल्ती गर्दैछौं। लक्ष्मीको वाहन कछुवा हो। कछुवा ढिलो हिँड्छ। जथाभावी धन खर्च गर्दैन, बिस्तारै गर्छ। कछुवाले धन संचय गर्न सिकाउँछ।'

‘लक्ष्मी भित्र्याउने कि बाहिर पठाउने? ’ 

नेपालमा बन्ने चित्रहरुको आफ्नो मौलिक महत्व रहेको प्रेमममान बताउँछन्।  करिब ३० वर्ष भयो प्रेममानले स्वास्थ्यका कारणले धनलक्ष्मीको चित्र नबनाएको। 

भारतीय लक्ष्मीको बजार बढ्नुमा व्यवहारिक कारण रहेको उनको विश्लेषण छ, 'यो समयमा सबैले चित्र बनाउन सक्छन् भन्ने छैन। हातले रंग भरेर बनाउन सम्भव पनि भएन नि। भारतबाट आएका चित्र पनि नराम्रा होइनन्। उनीहरुको भन्दा हाम्रो चित्र महंगो पनि छ।‘ 

तर उनलाई संस्कृति मासिने चिन्ता भने छ। ‘कुन बेला कुन लक्ष्मीलार्इ पुज्ने हो। हामीमा त्यति ज्ञान पनि छैन। लक्ष्मीसँगै गणेश, सरस्वती राखेको छ। हात्ती र लाटो कोसेरोलार्इ लक्ष्मीको वाहन बनाएको छ। यो त गलत हो।' 

धनलक्ष्मीले धन संचय गर्न प्रेरणा दिनेमा आजकाल मानिसहरु हातले पैसा फालिरहेको लक्ष्मी, विभिन्न आकृतिमा बसेको लक्ष्मी, डिजिटल लक्ष्मीतर्फ आकर्षित भएको प्रति उनी दुःखी छन्। भन्छन् 'घरघरमा लक्ष्मी भित्र्याउने भनेर जानीजानी वा अन्जानमा हामीले हाम्रो लक्ष्मी (पैसा) बाहिर पठाउँदैछौं। देशको ढुकुटी यसै रित्तिएको होइन नि!'

प्रेममानले नेवारहरुले मात्रै नभएर अरु समुदायले पनि लक्ष्मीपूजामा धनलक्ष्मीलार्इ नै पूजा गर्ने गरेको बताए। तर समयको परिवर्तनसँगै सबै समुदायले सस्तो र आयातित तस्विर प्रयोग गर्न थालेको उनको बुझाई छ। युवापुस्ता त्यसबारे जानकार नभएको र धेरै चित्रकारहरुलार्इ समेत धनलक्ष्मीबारे थाहा नभएको हुनसक्ने उनको अनुमान छ। 

‘परनिर्भरताले मौलिक लक्ष्मीको मोह घट्यो’

मंगलबजारबाट लगनखेल जाने बाटोमा गीता चित्रकार आफैले संचालन गरिरहेको पूजा पसलमा व्यस्त थिइन्। लक्ष्मीका चित्र खोज्न आउनेको कमी उनले महसुस गरेकी छिन्। 

दुर्इ महिना अघि नै करिब १००० प्रति लक्ष्मीको चित्रमा रंग भरेकी उनले एउटा चित्रको २० देखि ३० रुपैंया लिने गरेको बताइन्। एउटा चित्र बनाउनका लागि १०- १५ मिनेट लागेको बताउँदै उनी भन्छिन् 'यो काम आत्म सन्तुष्टिको लागि हो। पहिलादेखिको काम हो यसै छोड्नु भएन। मेरो दिदीहरुले काठमाडौंमा लक्ष्मी बनाउँछन्। हाम्रो संस्कार यही हो।' 

मानिसहरु परनिर्भर हुँदै गएकाले पहिला जस्तो लक्ष्मीको चित्र बनाउन कम भएको उनले स्वीकारिन्। उनले भनिन्, 'व्यस्तताका बीच सबै जनाले चित्र बनाउनै भ्याउँछन् भन्ने छैन। आफ्नो-आफ्नो काम हुन्छ। जागिर हुन्छ। महिनौं चित्र बनाएर बस्न सकिँदैन होला। त्यसैले यसप्रति मानिसहरुको मोह घटेको हो। 

भारतबाट आउने भन्दा महंगो हुनु एउटा कारण जस्तो लाग्छ उनलाई। ‘कला र संस्कृतिको कदर पनि त छैन,' उनको गुनासो।

उपाय के त?

उनी कसैलार्इ दोष दिन चाहन्नन्। भन्छिन्, संस्कृति जोगाउन जसले जहाँबाट जति गर्न सक्छ, त्यो गर्नुपर्छ। 
 



भारतीय लक्ष्मीले विस्थापित गर्दैछ नेपालको मौलिक लक्ष्मी, के फरक हुन्छ दुई लक्ष्मीको चित्रमा? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट