PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पीपीएल : काठमाडौँलाई हराउँदै चितवन फाइनलमा, उपाधिका लागि घरेलु टोली पोखरासँग खेल्ने



गोविन्दराज नेपाल

पीपीएल : काठमाडौँलाई हराउँदै चितवन फाइनलमा, उपाधिका लागि घरेलु टोली पोखरासँग खेल्ने

पोखरा : 'होम टिम' पोखरा पल्टन र चितवन राइनोजबीच पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।

आइतवार भएको एलिमिनेटरमा चितवनले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै पोखरासँग फाइनल भेट पक्का गरेको हो। 'लो स्कोरिङ' म्याचमा ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। लिग चरणमा सुरुको दुंई खेल हार्दै खराब सुरुवात गरेपनि त्यसपछि लगातार चार खेल जित्दै चितवन उपाधि नजिक पुगेको हो।

शरद भेषावकरको कप्तानीमा रहेको पोखरा लिग चरणको अंकतालिकामा शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ। फाइनल पुग्ने दोस्रो टोली बन्ने होडमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँबीच एलिमिनेटर खेल भएको हो। लिग चरणमा चितवन दोस्रो तथा काठमाडौँ तेस्रो भएको थियो।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो। यस प्रतियोगितामा कुनै टिमले दिएको यो सबैभन्दा कम लक्ष्य हो। यसअघि काठमाडौँ पोखरा पल्टन विरुद्ध १०३ रनमा अलआउट भएको थियो। काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। जयकिसन कोल्सावालाले २५ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। ४.३ ओभरमा ३० रन हुँदा ४ विकेट गुमाएको काठमाडौँका लागि ज्ञानेन्द्र र कोल्सावालाले ३८ रनको साझेदारी गरे। पाँचौ विकेटका लागि भएको उक्त साझेदारी नै काठमाडौँको लागि उच्च साझेदारी बन्यो।

खेलको दोस्रो ओभरमै ३ विकेट लिएका चितवनका बलर सन्नी पटेलले किफायती बलिङ गरे। उनले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै स्मीथ पटेल र भुवन कार्कीले २-२ विकेट लिए।

९५ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले सुरुमै २ विकेट लिएपनि ओपनर हरिशंकर शाह र स्मीथ पटेलले इनिङ्स सम्हालेका थिए। काठमाडौँका सुशन भारीले अनिल शाह (१) कप्तान पारस खड्का (२) लाई आउट गरेपछि चितवन ३.१ ओभरमा १४-२ को स्थितिमा थियो। ओपनर हरीशंकर शाहले २२ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा २६ रन बनाए।   

चौथो विकेटका लागि स्मीथ पटेल र आरिफ शेखले अर्धशतकिय साझेदारी गर्दै चितवनलाई जित नजिक पुर्‍याएका थिए। यी दुईले ५७ रनको साझेदारी गरे। स्मिथ पटेलले ४३ बल खेल्दै ३ चौकाको मद्दतमा सर्वाधिक ३८ रन बनाए। आरिफ शेखले नटआउट २० रन जोडे। चौका प्रहार गर्दै खेल जिताएका भारतीय खेलाडी सन्नी पटेलले नटआउट ६ रन योगदान गरे।

बलिङमा काठमाडौँका सुशन भारीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए।

'पहिलो इनिङ्सको दोस्रो ओभरले नै खेल परितर्वन गर्‍यो'
चितवनका कप्तान पारस खड्काले विपक्षीलाई पहिलो इनिङ्सको सुरुवातदेखि नै दबाबमा राखेकाले खेल आफ्नो पक्षमा पार्न सफल भएको बताए। विकेट अरु दिनको जस्तो सजिलो थिएन तर खराब पनि थिएन। 'हामीले उनीहरुलाई सुरुदेखि नै दबाबमा राख्न सफल भयङ त्यो एउटा ओभरमा तीन विकेट लिने बित्तिकै मोमेम्टम नै चेन्ज भयो र हामीले नियमित अन्तरमा विकेट लियौँ र ९४ मा अलआउट गर्‍यौँ। ९५ रनको लक्ष्य पछ्याउँदा एक राम्रो पार्टनरसिपले हामीले फाइनलमा पुगेका छौँ खुशी छु।'

सुरुको दुई खेलपछि हरेक खेल फाइनल जस्तै भएको र अब भने भने रियल फाइनल पुगेको पारसले बताए। 'पछिल्लो चार खेलमा सबै टिमले नै राम्रो गरिरहेका छन्। अब त्यसैलाई फाइनलमा पनि त्यही आश छ। अब एउटा राम्रो गेम खेल्यौँ भने टाइटल नै जित्नेछौँ।'

यस्तै पराजित टिम काठमाडौँँका कप्तान ज्ञानेन्द्र मल्ले खेलको दोस्रो ओभर र नियिमित अन्तरमा विकेट जानु नै हारको कारण भएको बताए। 'दोस्रो ओभरबाट नै खेल टर्न भयो। त्यसपछि विकेटहरु जान थाल्यो।' उनले हारको कारण दिए। 'अर्को कुरा हामीले हिजैको जस्तो गल्ती गर्‍यौँ। त्यसले गर्दा हामी फस्ट इनिङ्समा नै धेरै पछाडी पर्‍यौँ। आज हाम्रै कमजोरीले गर्दा चाँही गाह्रो भयो।'

ज्ञानेन्द्रले प्रतियोगिताको सुरुमा राम्रो खेलेपद्दि पछिल्ला दुई खेलमा भने टिमको क्षमता अनुसार खेल्न नसकेको बताए।
 
अब चितवन र पोखराबीच मंगलवार फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell