PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रामनगरमा मारिएका कांग्रेस कार्यकर्ताको अन्त्येष्टि भोलि, नेकपा नेता भन्छन् : हत्यामा पार्टीको संलग्नता छैन



राधेश्याम पटेल

रामनगरमा मारिएका कांग्रेस कार्यकर्ताको अन्त्येष्टि भोलि, नेकपा नेता भन्छन् : हत्यामा पार्टीको संलग्नता छैन
फोटो : Abhimanu Patel

वीरगंज: आज बिहान सर्लाहीको रामनगरमा मारिएका कांग्रेस कार्यकर्ता रामविलास महतोको भोलि अन्त्येष्टि हुने भएको छ।  नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागी महतोको मृत्यु भएको हो।

अन्त्येष्टि समारोहमा कांग्रेस उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मालगायतका केन्द्रीय नेता तथा सर्लाहीका सांसदहरु पुग्ने भएका छन्।

जिल्ला प्रशासनले दोषीलाई हदैसम्मको कारवाही गर्ने जनाएपछि महतोको शव पोस्टमार्टमको लागि अस्पतालमा पठाइएको छ।

पोस्टमार्टमपछि बुधवार परिवार तथा आफन्तलाई शव जिम्मा लगाइने सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले जानकारी दिए। घटनाकोबारे थप अनुसन्धान भइरहेको एसपी पोखरेलले बताए। 

रामनगर गाउँपालिका–४ रामनगर बहुअर्वा टोलमा मंगलबार बिहान स्थानीय दुई पक्षबीच झडप हुँदा ५० वर्षीय महतोको मृत्यु भएको हो।

वडाध्यक्षलाई कुटपिटको विषयलाई लिएर दुवै पक्षबीच झडप हुँदा महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा परी अन्य ४ जना घाइते भएका छन्। झडपलाई नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो।

नेकपा कार्यकर्ताले हत्या गरे : कांग्रेस

महतोलाई नेकपाका कार्यकर्ताको गोली हानी हत्या गरेको कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले आरोप लगाएको छ। प्रशासनले सुरक्षा नदिँदा कांग्रेस समर्थकको मृत्यु भएको आरोप लगाउँदै कांग्रेस जिल्ला सभापति नगेन्द्रकुमार यादवले हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन्।

यादवले भने, 'पहिले वडाध्यक्ष रामनरेश महतोमाथि कुटपिट गरे। उनी कांग्रेसबाट निर्वाचित हुन्। पछि २- ३ सयको संख्यामा आएर गाउँमा तोडफोड गरे। भोलिपल्ट वडाध्यक्षकाका काकालाई गोली हानी हत्या गरे, नेकपाकै कार्यकर्ताबाट यस्तो भएको हो। अरु पनि घाइते भएका छन्। प्रशासन पनि एक्सनमा आएन। जसले गर्दा यस्तो घटना भयो। दोषीमाथि कडा कारवाही हुनुपर्छ।'

सामान्य विवादमा मान्छे मारिनु हदैसम्मको लापरवाही भएको उनको भनाई थियो।

पार्टी संलग्न छैन : नेकपा

सर्लाहीको घटनाको सम्बन्धमा नेकपाले पार्टी संलग्न नरहेको दाबी गरेको छ। एमालेबाट जिल्लाका पूर्व अध्यक्षसमेत रहेका नेकपाका जिल्ला तहका नेता रेवती पन्तले कुनै निश्चित पार्टीबीचको घटना नभई व्यक्तिगत घटना भएको दाबी गरेका छन्।

उनले भने,‘गाउँको सामान्य विवादलाई चर्काई राजनीतिको खोल ओढ्ने केही व्यक्तिहरुले झगडा गर्न खोजेका हुन्, अरु केही होइन, हरेक गाउँमा वादविवाद झगडा हुन्छ, तर सर्लाहीको ४ नं क्षेत्र ७७ जिल्लामध्येकै अपराधिक घटना घटाउने र झगडालाई चरमोत्कर्षमा पुर्‍याउने खालको ठाउँ हो, त्यही भएको हो आज, अरु केही होइन।’ 

यस्तो घटनामा एउटा सञ्चारमाध्यमले लेखेको भरमा सबैले त्यही लेख्ने गलत भएको उल्लेख गर्दै उनले पन्तले थपे, 'पार्टीको कुनै दोष छैन, व्यक्ति दोषी हुन्।'

प्रहरीका अनुसार यसरी भयो घटना

सर्लाही ​रामनगर गाउँपालिका–४ रामनगर बहुअर्वा टोलमा मंगलबार बिहान स्थानीय दुईपक्ष बिच झडप हुदाँ सोही ठाउँ बस्ने ५० बर्षीय रामविलास महतोको छर्रा लागेर मृत्यु भएको छ।

​सोही टोल बस्ने वडा नम्बर ४ का वडा अध्यक्ष रामनरेश महतो ना.१५ प ८०५५ नम्बरको मोटरसाइकलमा सोमबार दिउँसो वडा कार्यालयतर्फ जाँदै गरेको अवस्थामा करिब १५ जनाको समूहमा आएका व्यक्तिहरुले पुरानो रिसइबीका कारण मोटरसाइकल रोकी कुटपिट गरेको विषयलाई लिएर दुवै पक्षबीच ढुङ्गामुढा प्रहार तथा गोली फायर हुँदा छर्रा लागेर रामविलासको घटनास्थलमै मृत्यु भएको हो।

​घटनामा सोही ठाउँ बस्ने १८ बर्षीय विवेक महतो समेत ४ जना छर्रा लागेर सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी बहुअर्वाबाट संयुक्त प्रहरी टोली खटिगई सम्झाइबुझाई गर्दा समेत नमाने पछि प्रहरीले न्यूनतम बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell