PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

श्रीलंका : राष्ट्रपति समर्थकको हत्या आरोपमा पूर्व मन्त्री पक्राउ, राजापाक्षेले सम्हाले कार्यभार, नयाँ मन्त्रिपरिषद् गठन



पहिलोपोस्ट

श्रीलंका : राष्ट्रपति समर्थकको हत्या आरोपमा पूर्व मन्त्री पक्राउ, राजापाक्षेले सम्हाले कार्यभार, नयाँ मन्त्रिपरिषद् गठन
अपदस्थ प्रधानमन्त्री विक्रमासिङ्गे पत्रकार सम्मेलन गर्दै। फोटो : एएफपी

कोलम्बो: श्रीलंकामा राजनीतिक संकट झनै बढ्ने सम्भावना बढेको छ। गत शुक्रवार श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल बिक्रमासिङ्गेलार्इ अपदस्थ गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकाको राजनीति अस्थिर हुँदै गएको छ। 

अपदस्थ गरिएका बिक्रमासिङ्गेको पक्षमा उभिएका श्रीलंकाली संसदका सभामुख करु जयसुर्याले राष्ट्रपति सिरिसेनाले संसद संचालन गरी राजनीतिक संकट समाधान नगरे देशमा नरसंहार मच्चिन सक्ने बताएका छन्।  

बिक्रमासिङ्गेले आफूसँग संसदमा बहुमत रहेको भन्दै सिरिसेनाको कदम असंवैधानिक रहेको बताए पश्चात् सिरिसेनाले संसदको अधिवेशन नोभेम्बर १६ सम्म स्थागित गरेका थिए।

रनिल बिक्रमासिङ्गे नै देशको प्रधानमन्त्री रहेको बताएका जयासूर्याले संसदमा बिक्रमासिङ्गेलार्इ बहुमत सावित गर्ने अवसर दिनुपर्ने बताए।
आज पत्रकारहरुसँग उनले भने, 'हामी यो कुरा संसदबाट समाधान गर्न सक्छौं। यो विषयलार्इ हामीले सडकमा लग्यौं भने यहाँ नरसंहार हुनेछ।'

आइतबार भएको गोलीकाण्डबारे बोल्दै उनले यस्ता हिंसाका घटनाबाट अन्तर्राष्ट्रिय स्तरमा श्रीलंकाको छवि बिग्रने र देशमा आर्थिक संकट उत्पन्न हुने बताए।  

मन्त्री रणतुङ्गा पक्राउ

यता, सिरिसेनाले अपदस्थ गरेका प्रधानमन्त्री बिक्रमासिङ्गेका निकट सहयोगी र उनको सरकारमा पेट्रोलियम मन्त्री रहेका अर्जुना रणतुङ्गालाई पक्राउ गरिएको छ।

उनलार्इ पेट्रोलियम मन्त्रालयमा रहेका बेला सुरक्षाकर्मीले पक्राउ गरेको इन्डियन एक्सप्रेसले जनाएको छ

आइतवार रणतुङ्गा कोलम्बोस्थित सरकारी कार्यालयमा प्रवेश गर्न खोज्दा उनलार्इ राष्ट्रपति सिरिसेनाका समर्थकहरुले रोकेका थिए। प्रदर्शन चर्किँदै गएपश्चात् रणतुङ्गाका अंगरक्षकले गोली चलाउँदा ३४ वर्षे एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य दुर्इ जना घाइते भएका थिए। 

श्रीलंकाली क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका रणतुङ्गालार्इ घटना लगत्तै त्यहाँबाट प्रहरीको पोशाक, बुलेटप्रुफ ज्याकेट र हेल्मेट लगाई त्यहाँबाट बाहिर निकालिएको तस्विरहरु सार्वजनिक भएको थियो।

हिजो भएको गोलीकाण्डमा गोली चलाउने आदेश दिएको आरोप रणतुङ्गामाथि लगाइएको छ।

नयाँ निर्वाचनको आह्वान

यता, नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेले भने ट्वीट गर्दै नयाँ प्रजातान्त्रिक व्यवस्था सुरु गर्नका लागि छिटै निर्वाचन गराउने पर्ने बताएका छन्। घृणाको राजनीति अन्त्य गर्दै नयाँ निर्वाचनबाट मात्रै श्रीलंकामा आर्थिक, राजनीतिक र सामाजिक अस्थिरताको अन्त्य हुने राजापाक्षेले उल्लेख गरेका छन्। 

तर, राष्ट्रपतिले अपदस्थ गरेपनि आफू नै प्रधानमन्त्री रहेको बताउँदै आएका बिक्रमासिङ्गेले भने अझै सरकारी निवास छोडेका छैनन्।

आइतबारसम्म सरकारी निवास खाली गर्न समय दिइएपनि उनले प्रधानमन्त्री निवास छोड्न अस्वीकार गरेका हुन्। सरकारी निवास बाहिर ठूलो संख्यामा बिक्रमासिङ्गेको समर्थकहरु रहेको बताइएको छ। 

राजापाक्षेले कार्यभार सम्हाले

शुक्रवार प्रधानमन्त्री बनाइएका राजपाक्षले आजबाट कार्यभार सम्हालेका छन्। बिक्रमासिङ्गेले प्रधानमन्त्री निवास नछोडेकाले उनले प्रधानमन्त्रीको सचिवालयमा कार्यभार सम्हालेका हुन्।  

यस्तै उनले राष्ट्रपति मैत्रिपाला सिरिसेनाले १२ सदस्य रहेको मन्त्रिपरिषद् गठन गरेका छन्। राजापाक्षेलार्इ वित्त र अर्थ व्यवस्था मन्त्रीको जिम्मेवारी दिइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell