PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रधानमन्त्री तीन दिन अस्पतालमै रहने, भएको के हो? यस्तो छ चिकित्सकहरुको ब्रिफिङ



सागर बुढाथोकी

प्रधानमन्त्री तीन दिन अस्पतालमै रहने, भएको के हो? यस्तो छ चिकित्सकहरुको ब्रिफिङ

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्तिमा तीन दिन अस्पतालमै राख्नुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। 

प्रधानमन्त्रीको उपचारका लागि खटिएको चिकित्सक टोलीमा रहेका डा. दिव्या सिंह, डा. अरुण सायमि र डा. उत्तमकृष्ण श्रेष्ठले आज बिहान स्वास्थ्य स्थितिबारे ब्रिफिङ गरे। 

चिकित्सकहरुका अनुसार छातीमा संक्रमण बढ्नुका साथै सुगरको मात्रा समेत बढेका कारण स्वास्थ्यमा समस्या देखिएको हो। 

दशैँपछि बिरामी भएका प्रधानमन्त्रीलाई रुघाखोकी लागेर छातीमा संक्रमण भएको थियो। रगतमा सुगरको मात्रा समेत बढेपछि अहिले त्यसलाई नियन्त्रणमा लिन इन्सुलिन दिइएको छ। त्यसैगरी एन्टिबायोटिक इन्जेक्सनबाट दिइएको छ।   

डा. सायमिका अनुसार प्रधानमन्त्रीलाई लोअर रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सन भएको हो। यसो हुँदा छाती घ्यारघ्यार हुने, श्वास फेर्न गाह्रो हुने हुन्छ। त्यही भएर सावधानी अपनाउन अस्पताल ल्याइएको हो। 

ब्रिफिङमा प्रधानमन्त्री ओलीको रगतमा सुगरको मात्रा अहिले ठीक रहेको चिकित्सकहरुले बताए। 'भोलिसम्म सामान्य स्थितिमा आउनेछ', उनीहरुले भने, 'एन्टिबायोटिक चलाएका कारण केही दिन भने आराम गर्नुपर्नेछ।' 

आराम गर्नका लागि निवास नपठाई अस्पतालमै राख्ने तयारी चिकित्सकहरुको छ। 

यसअघि शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्रीलाई अस्पतालमा नराखी घरमै आराम गर्न पठाइएको थियो। तर स्वास्थ्यमा थप समस्या देखिएपछि आज एकाबिहानै साढे ४ बजे उनलाई त्यही अस्पतालमा भर्ना गरिएको हो। 

अस्पतालको विज्ञप्ति

आइसियु हैन सिसियु

केही मिडियाले प्रधानमन्त्रीलाई आइसियुमा राखिएको भनी समाचार दिए पनि उनलाई सिसियुमा राखिएको हो। 

चिकित्सकहरुले सिसियुमा पनि राख्ने अवस्था नभएको दावी ब्रिफिङमा गरे। 'सिसियुको जरुरत नभए पनि सिसियुको भित्र राखेका हौँ, भोलिसम्म स्थिति सामान्य अवस्थामा आउँछ, उनीहरुले भने। 

चिकित्सक सायमिले प्रधानमन्त्रीको अवस्था सुधारोन्मुख रहेको बताउँदै तत्काल विदेश लैजानु पर्ने अवस्था नरहेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell