PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आफ्नै गाडीबाट अस्पताल पुर्‍याइएका थिए प्रधानमन्त्री, २४ घण्टा अस्पतालमै रहने



सागर बुढाथोकी

आफ्नै गाडीबाट अस्पताल पुर्‍याइएका थिए प्रधानमन्त्री, २४ घण्टा अस्पतालमै रहने

काठमाडौँ : स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई एम्बुलेन्समा नभई उनकै गाडीबाट त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन्।

'उहाँ आफ्नै गाडीमा अस्पताल आउनु भएको हो,' अर्यालले भने। उनका अनुसार अब २४ घण्टा अस्पतालमै राखी स्वास्थ्य स्थितिको निगरानी हुनेछ। त्यसपछि मात्रै के गर्ने निर्णय हुनेछ। 

उपचारमा पाँच जना चिकित्सकको टोली खटिएको छ। 

उनको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र  जनरल मेडिसिनका डा. सन्तकुमार दासको मुख्य टिम छ। क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्यले सघाइरहेका  छन्। 

निजी चिकित्सक डा. दिव्या हिजोसम्म विदेशमा रहे पनि आज स्वदेश फर्केर उपचारमा संलग्न भइसकेकी छिन्।

केही मिडियामा प्रधानमन्त्रीलाई आइसियुमा राखी उपचार गरिएको भनिए पनि सिसियुमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

आइसियु इन्टेन्सिभ केयर युनिटको संक्षिप्त रुप हो। एकदमै गम्भीर बिरामीलाई आइसियुमा राखिन्छ। सिसियु कोरोनरी केयर युनिटको संक्षिप्त रुप हो। सिसियुमा कार्डियोभस्कुलर अर्थात् मुटुसँग सम्बन्धित बिरामीलाई राखिन्छ। 

शुक्रबार अपराह्न पनि प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल लगिएको थियो। तर निवासमै आराम गरी उपचार गर्न फर्काइएको थियो।  

चिकित्सकको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारमा उपचार सम्भव नभएको हो। 

भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्। औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ। औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपणपछि शरीरको प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्न धेरै कुराहरुमा सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन्। 

सम्बन्धित समाचार
प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली, आइसियु हैन सिसियुमा उपचार हुँदै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell