PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रधानमन्त्री अस्वस्थ, आइसियुमा राख्‍ने तयारी भए पनि बालुवाटारमै फर्काइयो, भएको के हो?



सागर बुढाथोकी

प्रधानमन्त्री अस्वस्थ, आइसियुमा राख्‍ने तयारी भए पनि बालुवाटारमै फर्काइयो, भएको के हो?

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री तथा पार्टीका दुई मध्ये एक अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्।  

प्रधानमन्त्री केपी ओली कार्यक्रममा उपस्थित नहुने जानकारी त्यहाँ आएका अतिथि र कार्यकर्ताहरुलाई गराइएको थिएन। 

प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी नहुने बिहानैदेखि निश्चित जस्तै थियो। उनी निकट तथा ने क पाका शीर्ष नेताहरुलाई यसबारेमा जानकारी थियो। तर पनि अन्तिम समय आएर मात्रै महासचिव विष्णु पौडेलले पत्रकारहरुलाई प्रधानमन्त्री नआउने पुष्टि गरे। 

यसअघि शुक्रबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक पनि आकस्मिक रुपमा स्थगित गरिएको थियो। बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको भनिएको हुनाले शुक्रबार उनको स्वास्थ्य बारे कुनै जानकारी सार्वजनिक भएन।
 
वास्तवमा मन्त्रिपरिषद्को बैठक बस्ने समयमा प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुलर सेन्टर लगिएको थियो।

आइसियुमा राख्न बेड तयार

नाम उल्लेख नगर्ने शर्तमा एक चिकित्सकले भने, 'उहाँको रोग प्रतिरोधात्मक क्षमता कम भएर छातीमा इन्फेक्सन भएको रहेछ।' 

उनका अनुसार इमर्जेन्सीको संकेत देखिएकोले लाना साथ शिक्षण अस्पतालमा आइसियुमा राख्न बेड तयार पारिसकिएको थियो। तर एक्सरे गरेपछि आइसियुमा नराखी घरमै बस्ने र आराम गर्ने सल्लाह चिकित्सकहरुले दिए। 

स्वास्थ्यबारे सूचना नदिन निर्देशन

प्रधानमन्त्रीको स्वास्थ्य बारे जानकारी दिन उनको सचिवालयका कोही पनि सदस्य तयार भएनन्। त्यसैगरी चिकित्सकहरु पनि सूचना दिन तर्किए। 
अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार रोग र स्वास्थ्यबारे सूचना दिन कडाई गर्ने निर्देशन दिइएको छ।

यद्यपि चियापान समारोहमा उपस्थित पत्रकारहरुलाई पार्टी महासचिव विष्णु पौडेलले भाइरल फिभर भएको र छातीमा समस्या भएकोले स्वास्थ्यका कारण प्रधानमन्त्री उपस्थित हुन नसकेको बताए। 


शनिबारको चियापान कार्यक्रममा प्रधानमन्त्री पत्नी उपस्थित थिइन्। 

भएको के हो ?

भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्। ओलीमात्र हैन प्रत्यारोपण गरेका सबैले जीवनभर औषधि खानुपर्छ। 

मानिसको उमेर र स्वास्थ्य अवस्था अनुसार 'डोज' भने फरक-फरक हुन्छ। औषधिको 'डोज' 'ट्र्याक रेकर्ड भेरिफिकेशन' को आधारमा तय गरिन्छ। 

त्यसैले ट्रान्सप्लान्ट गरेको सुरुवातमा हप्तै पिच्छे 'ट्रयाक लेभल भेरिफिकेशन'गर्नुपर्छ। प्रत्यारोण पुरानो भएपछि भने ३ महिनामा एकपटक गर्नुपर्छ। 
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंहले गत जेठमा पहिलोपोस्टसँग भनेकी थिइन्, 'ट्रयाक लेभल नगरेर औषधिको 'डोज' तलमाथि भयो भने मानिस मर्नेसम्म खतरा हुन्छ।'

डा. सिंह हाल विदेश यात्रामा छन्। 

इन्फेक्सनको खतरा सधैँ

चिकित्सकहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले अरूबाट ल्याएर राखिएको मिर्गौलालाई सजिलै चिन्दैन। अरुको मिर्गौलालाई आक्रमण गरेर नष्ट पार्न खोज्छ। त्यसैले मिर्गौला नष्ट हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइन्छ।

औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ। औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ। प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छ। त्यसैले प्रत्यारोपण पछि औषधि खाइरहँदा पनि खतरा हुन्छ भने नखाँदा झनै खतरा।

सोही कारण प्रत्यारोपणपछि शरीरको प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्न धेरै कुराहरुमा सचेत हुनुपर्छ। डा सिंह भन्छिन्, 'प्रत्यारोपण गरिएका व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण हुन सक्छ। 'डोज' तलमाथि परेको थाहा नहुँदा एकदिनमै रुघा लागेर निमोनिया हुने र तत्कालै मृत्यु समेत हुनसक्छ।' 
चिकित्सकहरुका अनुसार अहिले रोग प्रतिरोधात्मक क्षमता कम भएर प्रधानमन्त्री ओलीको छातीमा संक्रमण भएको हो। सुरुमा इमर्जेन्सीकै संकेत देखिए पनि विस्तृत जाँच गर्दा संक्रमणको स्थिति घरमै बसी आराम गर्दा पनि नियन्त्रणमा लिन सकिने भएकोले निवासमै आराम गर्न पठाइएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell