PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नागढुङ्गा-नौबिसे सुरुङमार्ग बनाउन पाँच चिनियाँ र एक जापानी कम्पनी इच्छुक, चार वर्षमा बनाउने लक्ष्य



नागढुङ्गा-नौबिसे सुरुङमार्ग बनाउन पाँच चिनियाँ र एक जापानी कम्पनी इच्छुक, चार वर्षमा बनाउने लक्ष्य

काठमाडौं : नागढुङ्गा-नौबिसे सुरुङमार्ग निर्माण गर्न छ वटा कम्पनीले इच्छा देखाएका छन्। सुरुङमार्ग निर्माण गर्नका लागि सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले निकालेको ग्लोवल टेण्डरमा पाँच चिनियाँ र एउटा जापानी कम्पनीले आवेदन हालेका छन्।

महाशाखा इन्जिनियर छविलाल पौडेलका अनुसार अब कम्पनीको प्राविधिक र आर्थिक मूल्याङकन अघि बढ्ने छ। महाशाखाले गत साउनमा ६० दिने ग्लोवल टेण्डर निकालेको थियो। तर उक्त अवधिमा कुनै कम्पनीले पनि आवेदन नदिएपछि पुनः १५ दिन समय थप गरेर सूचना निकालिएको थियो। 

इन्जिनियर पौडेलका अनुसार उच्चतम प्रविधि प्रयोग गरेर बनाउनु पर्ने भएकाले अपेक्षाभन्दा थोरै कम्पनीले मात्रै आवेदन दिएका हुन्। बोलपत्र भने नेपाली सहित करिव ४५ कम्पनीले खरिद गरेका थिए। 

'प्रकिया अघि बढिसकेको छ, हामी अब प्राविधिक र आर्थिक प्रस्ताव खोल्छौ' उनले भने। न्यूनतम लागत र उच्च प्रविधि प्रयोग गर्ने कम्पनी छनोट हुने महाशाखाले जनाएको छ। आगामी जनवरीसम्ममा छनोट प्रक्रिया सकेर निर्माणको कामै सुरु गर्ने महाशाखाको तयारी रहेको छ। छनोट हुने कम्पनीले तीन वर्षमा सुरुङमार्ग निर्माण सक्नुपर्ने छ। 

जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा जापानको निप्पन इन्जिनियरिङ कन्सल्ट्याण्टले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको हो।

सुरुङमार्ग नागढुङगा-नौबिसे सडक खण्ड अन्तर्गतको नेपाल आयल निगमको डिपो (थानकोट) नजिकैको बस्नेतछापदेखि सिस्नेखोला २.७ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुनेछ। सुरुमार्गको पूर्वीद्वार नागढुङ्गा फेदीमा पर्ने बस्नेतछापमा रहनेछ भने पश्चिमद्धार सिस्नेखोलामा रहनेछ।

थानकोटदेखि सुरुङमार्गको पूर्वीद्वार बस्नेतछापसम्म २.६ किमी पहुँचमार्ग निर्माण हुनेछ। सुरुङमार्गले नागढुङ्गाबाट घुमेर जाने बाटोमा लाग्ने ८ किमी बाटो छोट्याउने छ।
 
डिपिआर अनुसार सुरुङमार्ग ९.५ मिटरको चौडार्इको हुने छ। सुरुङमार्ग तीन लेनको हुनेछ। जसमा ३.५/३.५ मिटरका सवारीसाधन आउन  र जानका लागि दुर्इ वटा लेन हुनेछ। बीचमा साढे दुर्इ मिटरको सहायक लेन रहने छ।

सुरुङमार्ग निर्माणका लागि २२ अर्व रुपैया  लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। कुल लागत मध्ये १६ अर्व रुपैयाँ जापानिज सरकारको सहुलियत ऋण र ६ अर्व नेपाल सरकारको हुनेछ। सरकारले चालु आर्थिक बर्षका लागि १० अर्व रुपैयाँ बजेट छुट्याएको छ। यो सुरुङमार्ग  सन् २०२२ सम्ममा निर्माण सक्ने लक्ष्य लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell