PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिरामी मानिसलाई सुताउने टेबलमा राखेर चिलको एक्सरे!



पहिलोपोस्ट

बिरामी मानिसलाई सुताउने टेबलमा राखेर चिलको एक्सरे!

  • राजु आचार्य-

'त्यो अस्तिको चिल त तगडा भयो नि ! छोडे पनि उड्ला जस्तो भएको छl'

युनाइटेड क्लब पोखराका  संस्थापक अध्यक्ष हिमालय बख्रेलले यसो भन्दा मलाई विश्वास नै लागेनl मर्छ भनेर वास्ता नगरेको चिल कसरी बाँच्यो होला? यो त असाध्यै दुर्लभ घटना भयो।

मैले यो घटनाबारे उद्दारकर्ता मध्येका एक संरक्षणकर्मी चिरञ्जीवी खनाललाई जानकारी गराउँदा  उनले भने, 'हो र दाइ, राम्रो भयोl कस्तो मनै फुरुङ्ग हुने खबर सुनाउनु भयोl'

मलाई भने आफ्नै आँखाले नहेरी विश्वासै लागेनl  भोलिपल्टै पोखरा पचवैयास्थित 'पोखरा जुलोजिकल पार्क' तिर लागेँl युनाइटेड क्लब पोखराले बर्सेनि आर्थिक सहयोग गर्दै आएको र स्थानीय समुदायद्वारा सञ्चालित पार्कमा राखिएको स्वस्थ चिल देखेपछि भने बल्ल राहतको सास फेरेँl मर्छ भनेको चिल फुर्तीका सात सानो पिँजडामा उडिरहेको देख्दा खुसी त लाग्यो नै र सँगै अचम्म पनि!

५  महिनाअघि वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी जवाफ राईले फोन गरेl  म र चिरञ्जीवी खनाल पुग्दा क्याफ्टेरिया नजिक विद्यार्थीहरूको हुल थियोl विनिता कार्की, अमृता रौनियार, भुवन सिंह विष्ट, रक्षा ठकुरी  लगायतका विद्यार्थीहरू के गर्ने भनेर बिलखबन्दमा परेका थिएl  

स्वास्थ्य लाभ गरिरहेको चिल

भित्रबाट जवाफ राईले सानो चाउचाउको कार्टुनमा राखिएको चरा लिएर आएl चरा कार्टुनभित्र लडिरहेको थियोl घाँटी लत्रिएको थियोl समाउन खोज्दा टोकौँला झैँ गर्थ्योl तर सके पोl चरा तनावमा रहेको प्रस्ट देखिन्थ्योl 

भुवन भाइले भने 'बिहान हामी चिया खादै थियौँ, ऊ त्यो रुखबाट  खस्यो।' भर्खर उड्न खोजेको यो बिचरो  करिब १५  मिटर माथिबाट  खसेको थियोl खसेको चरालाई कार्टुनमा राखेर तनाव कम गर्ने प्रयास गरिएको रहेछ l

चरालाई के गर्ने भनेर मेरो राय मागियोl नेपालमा 'चरा उपचार तथा पुनर्स्थापना केन्द्र'  छैन, त्यसो भए उपचार हुने कुरै भएन l रुख अग्लो र मरेको  थियो l बर्खाको बेला चिप्लो पनि थियो , चढ्न सक्ने कुरा पनि भएन l

'जे होला होला, पचवैया  पठाउँ' मेरो सबै सँग राय मिल्योl फोन गर्ने बित्तिकै बख्रेल निजी कार  लिएर आइपुगेl  कारमा  हालेर रामबजारस्थित  'किरण मेडिकल'मा  एक्सरेको लागि अनुरोध गरियोl मानिसको एक्सरे गर्ने ठाउँमा चिललाई राख्दा सबै हाँसिरहेका थिएl यो अनुभव पहिलो थियो, तिनका लागि र हाम्रा लागि पनि l  एक्सरेको रकम लिन मानेनन्l 

एक्सरे गर्ने तयारीमा चिल

'एक्सरे हेरेर केही भन्न सकिन्छ र सर? मैले प्रश्न गरेँ। उनले भने 'मान्छेको भए त केही भन्न सकिन्थ्यो, तर यसको लागि त भेटनरीमा नै लैजानु पर्ला।'

एक्सरेको  डिजिटल कपी पाइएनl एक्सरेको फोटो मोबाइलमा खिचेर राखेँl घरमा आएर सामाजिक सञ्जालमा  पोस्ट गरेl थुप्रैको प्रतिक्रिया आइरह्योl भेटनरी डाक्टर बिन्दु अधिकारी र स्वागत नेपालको राय मिल्योl त्यो चिलको घाँटीको हड्डी सरेको  (डिसलोकेट) थियोl यस्तो अवस्थामा घाँटीलाई नहल्लने गरी हप्तौँ राख्नु पर्थ्योl केही तरल पदार्थ खुवाउन सकिन्छ भन्ने कुरा आए पछि मैले आशा मारी सकेको थिएl बिन्दुले एक प्रकारको घाँटीमा बाँध्ने ब्यान्डेज खोजिन्, तर भेटिएनl  जे गरे पनि मर्छ भन्ने लग्योl रातभर कसरी बचाउन सकिएला भन्ने प्रयासहरू खेर गएl

उता एक्सरे गरेपछि बख्रेलले अमरसिंगस्थित आफ्नो बिजुली पसलमा राखेl चिलले घाँटी उठाएको थिएनl तर बेला बेलामा शरीर र घाँटी  उठाउने प्रयास गर्थ्योl जताततै पातलो दिसा मात्रै थियोl आँखा टीठ लाग्दोl भोलिपल्ट अलिकति पानी दिइयोl अफ्ठ्यारो गरी पियोl एउटा आशा  पलायोl मासुका सा-साना टुक्राहरू खुवाउने प्रयास सफल हुन सकेनl उनले भोलिपल्ट नै चिडियाखानामा बुझाएl

तालिम बिना चिडियाखानामा रहेका वन्यजन्तुको स्याहार सुसार गर्दै आएका प्रकाश  नेपालीले ५ दिनसम्म त थोरै पानी  मात्रै खुलाएl छैटौँ दिनमा सानो मासुको टुक्रा बिस्तारै निल्योl अलि टाठो जस्तो लग्योl क्रमशः दुई हप्तामा खुट्टाले उभिने प्रयास गर्‍योl दिएको खाना  खान थाल्योl  करिब १ महिनामा घाँटी धान्न सकिने अवस्थामा पुग्योl विगत ५ महिनामा चिल तङ्ग्रिएको छl  पिँजडा छोडेर खुला आकाशमा उड्ने दिनको पर्खाइमा छl यो अवधिभर न कुनै डाक्टर आए, न कुनै औषधि नै खुवाइयोl यो सुधारले प्रकाश हुनसम्म खुसी भएl उनले नै चिलको सेवा गरेका थिएl 

 

चिलको घाँटीमा हड्डी सरेको थियो

नेपालमा चितवन राष्ट्रिय निकुन्ज तथा सदर चिडियाखाना, काठमाडौँ बाहेक अन्य ठाउँमा वन्यजन्तुको उपचार विरलै हुने गर्छl अन्य ठाउँमा जिल्ला पशु कार्यालय वा भेटनरी डाक्टरहरूले गर्ने गर्दछन्l संरक्षणकर्मीहरूले उद्धार गरेकाहरूलाई गुगलको भरमा उपचार वा हेरचाह गरेर छोड्नु बाहेक अन्य कुनै विकल्प रहँदैनl
२५ सय वर्षअघि भगवान बुद्धले घाइते सारस चराको उपचार गरेको प्रसङ्ग उल्लेख छl २५ सय वर्षपछि एउटा घाइते चराको उपचारको लागि ठाउँ र विज्ञहरू नपाइनुले हामीहरू यी अबोध प्राणीको हितमा कसरी काम गरी रहेका छौँ भनेर प्रस्ट हुन्छl धन्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को पाँचौँ संशोधनले वन्यजन्तु पुनर्स्थापना केन्द्र स्थापनाको लागि भर्खरै मात्र ढोका खोलिदिएको छl जिल्लाहरूमा वन्यजन्तु उपचार तथा पुनर्स्थापना केन्द्रको स्थापना अपरिहार्य भई सकेको छl किनकि सबै वन्यजन्तुहरू यो चिल जस्तो 'आफैं ठिक हुने' भाग्यमानी हुँदैनन्l



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell