PahiloPost

Dec 17, 2018 | २ पुष २०७५

मतिना : जीवित देवीबाट सामान्य किशोरी बनेपछिको एक वर्ष, भन्छिन्- 'रमाइलो लागिरा'छ'

मतिना : जीवित देवीबाट सामान्य किशोरी बनेपछिको एक वर्ष, भन्छिन्- 'रमाइलो लागिरा'छ'

सहयोग रञ्जित/पहिलोपोस्ट


आज महाअष्टमि। गत वर्ष आजै कै दिन मतिना शाक्य सामान्य मानवमा ‘डिमोसन’ भइन्। ९ वर्षदेखि जीवित देवी कुमारीका रुपमा पुजिँदै आएकी उनले आफू बस्दै आएकी कुमारी घर छोडिन्। 

३ वर्षकी हुँदा वसन्तपुरस्थित कुमारी घरमा प्रवेश गरेकी मतिनालार्इ भेट्न बुवा प्रतापमान शाक्य, आमा सुनीता शाक्य र दिदी मिजला शाक्य बारम्बार कुमारी घर जान्थे। तर त्यतै बस्न भने पाउँदैनथे। 

सामाजिक र सांस्कृतिक महत्वको भएकोले आफ्नी छोरीलार्इ कुमारी बनाउन पाउँदा मतिनाको परिवार खुसी थियो। छोरीले गरेको त्याग उनीहरुका लागि सम्मान थियो। 

अझ मतिना त गणतान्त्रिक नेपालकी पहिलो कुमारी। पहिला कुमारी छनौट गर्दा राजासँग चिना मिलाउने गरिन्थ्यो। पहिलो पटक मतिनाको चिना भने देशसँग मिलाइएको थियो। त्यसैले उनी अझ विशेष।  

९ वर्षपछिको घर फिर्ती

९ वर्षसम्म कुमारी घरमा छुट्टै परिवार (चिताइदार) सँग बस्दै आएकी मतिना गत साल १२ वर्षको उमेरमा पहिलो पटक इतुम्बहालस्थित आफ्नो घरमा प्रवेश गरिन्।  

मतिनालार्इ जीवित देवीबाट साधारण मानिस बन्दा केही असहज महसुस नभएको पनि होइन। कुमारी घरमा सीमित व्यक्तिहरुको रेखदेखमा रहेकी मतिना केही समय चारैतिर मानिसका हुल र क्यामेराको फ्लायसलाइटले घेरिइन्। पछि उनका लागि सबै सामान्य बन्यो। 

घर फर्किए लगत्तै गइन् स्कूल

नेपाल भाषामा 'मतिना' को अर्थ हुन्छ 'माया'। मायालु र लजालु स्वभावकी मतिनालार्इ हामी भेट्न जाँदा उनी मामाघर जाने तर्खरमा थिइन्। आफ्नो परिवार, चिनेजानेको मान्छे र विद्यालयका साथी बाहेक अरुसँग कम बोल्ने उनका अघि हामी पनि अन्जान नै थियौं। 

हामीले सोधेका कति प्रश्नमा उनी मौन बसिन्। मौनतामा पनि धेरै कुरा लुकेको हुन्छ। कति कुरा उनका बुवाले सोध्दै, बताउँदै थिए। जीवित देवी रहेकी मतिनासँग उत्तर नहुने त कुरै भएन। तर समयको खेल, उमेर बढेसँगै उनले आफ्नो पहिचान बुझ्ने र कुमारी प्रथाका बारेमा खुलेर बोल्नेमा प्रतापमान विश्वस्त छन्। 

देवीबाट मानिस भइसकेपछि उनलार्इ केही समय कठिन हुने परिवारको अनुमान थियो। तर मतिनाले घर फर्के लगत्तै विद्यालय जाने निधो गरिन्।

कुमारी घर मै कक्षा ७ मा पढ्दै गर्दा मतिना १२ वर्ष पुगिन्। त्यसपछि उनले अवकाश पाइन्। कुमारी घरमा मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म मतिनालार्इ पढाउन शिक्षकहरु कुमारी घर मै पुग्थे। विद्यालयले अरु विद्यार्थीलार्इ जसरी परीक्षा लिन्थ्यो, जीवित देवी कुमारीको पनि त्यसरी नै परीक्षा हुन्थ्यो। परीक्षाफल आउँथ्यो। 

मतिना हाल भोटेबहालमा रहेको ग्रीन पिस को एडमा कक्षा ८ मा पढ्दैछिन्। पहिलो पटक विद्यालयमा प्रवेश गर्दा उनलार्इ विद्यालयले विशेष सम्मानका साथ स्वागत गरेको थियो। कुमारी घरबाट निस्केको छोटो समयमा उनलार्इ विद्यार्थीका रुपमा केही असहज हुने अनुमान गरिएको थियो। 

विद्यालयको पहिलो दिन चुप बसेकी मतिना दोस्रो दिनदेखि साथीहरुसँग बोल्न, खेल्न थालेकी छिन्। बुवाले जिस्किँदै 'अहिले त हल्ला समेत गर्छिन्' भन्दा मतिनालाई चित्त बुझेन र खण्डन गरिन्।  

कुमारी घरमा हुने पढाइ र हाल विद्यालयमा हुने पढाइ मतिनालार्इ एउटै लाग्छ। दुबै 'रमाइलो'। तर पहिलाभन्दा मतिनाको शिक्षामा अहिले धेरै सुधार आएको प्रतापले बताए। 

मतिनासँगै वर्तमान जीवित गणेश देवता समबेग शाक्य पनि सोही विद्यालयमा एउटै कक्षामा पढ्छन्। तर सेक्सन भने छुटाछुट्टै।

विद्यार्थीहरुले नै पूर्व जीवित देवी र वर्तमान गणेशलार्इ एउटै कक्षामा नराखी छुट्टाछुटै राखी पढ्ने इच्छा देखाएकाले त्यसो गरिएको हो।   


मतिनाका बुबा आफ्नी छोरी कुमारी बन्दाको फोटो हेर्दै

मोबाइल क्रेजी मतिना

कुमारी घर भित्र बालिकालार्इ बन्देजमा राखिन्छ। बालिकाको अधिकार हनन् हुन्छ भन्नेहरुले कुमारी प्रथाको विरोध नगरेको पनि होइन। तर प्रतापमान यसमा असहमत छन्। कुमारी घरभित्र कुमारीलार्इ अन्य सबै बालबालिकालार्इ दिइने स्वतन्त्रता हुन्छ। यति हो कि कुमारीका रुपमा उनी कुमारी घरबाट जब पायो, तब बाहिर निस्कन पाउँदिनन्। 

संस्कृति नबुझेका, कुमारी प्रथा नबुझेका र कुमारी घर नै प्रवेश नगरेका अधिकारवादीहरु कुमारी प्रथाका विरोध गर्दै गरेको आरोप उनी लगाउँछन्। 

बाहिरी संसारका बालबालिकाहरुमा जति मोबाइलका लागि क्रेज छ। मतिना पनि मोबाइल भनेपछि हुरुक्कै हुन्छिन्। कुमारी घरमा मतिनाले मोबाइल, इन्टरनेट, टिभी सबै चलाउँथिन्। बरु अहिले मतिना आफै बुबाआमालार्इ मोबाइल सिकाउन सक्षम भएकी छिन्।  

समाजमा विद्यमान रहेका कुप्रथाले महिला, बालबालिकाहरूलार्इ शोषण दमन गरेको भन्दै त्यसलार्इ कुमारी प्रथासँग जोड्न नहुने प्रतापमान बताउँछन्। कुमारी प्रथाले त बालिकालार्इ देवी मानेको उनको भनाइ छ।

शहरमा 'बोडर्स कल्चर' अपनाउँदै आफ्नो छोराछोरीलार्इ आफूबाट अलग्गै राख्दा बालअधिकारका वकालत गर्नेहरु चुप लाग्ने गरेको प्रतापमानको तर्क छ। उनी भन्छन् 'बोडर्सभन्दा कुमारी घरमा बढी स्वतन्त्रता छ। हामी जुन बेला पनि छोरी भेट्न जान सक्छौं। उनलार्इ हेर्ने परिवार नै हुन्छ। शिक्षा, स्वास्थ्य, संचार लगायत सबैको सुविधा हुन्छ। कसैको डर हुँदैन।'

‘विदेशी शिक्षा पद्धति अपनाउने अनि दुर्इ चार विदेशीहरुको लहरमा नेपालको मौलिक संस्कृतिलार्इ नै नकारात्मक भन्दै हिँड्ने। यो त उनीहरु आफैले बुझ्नुपर्ने होइन र?’, उनी प्रश्न गर्छन।  

कुमारी प्रथा पहिला केही कठोर भएपनि समयसँग यसमा परिमार्जन हुँदै गएको छ। माग र आवश्यकता अनुसार सेवा र सुविधा थप गरिएको छ। आम मानिसले झै वर्तमान कुमारीले पनि मोबाइल, इन्टरनेटको प्रयोग गरी घरबाटै सारा संसार नियाल्ने प्रताप बताउँछन्। बाहिर समाजमा कुमारी प्रथाका बारे गलत सन्देश गइरहेकोमा प्रतापमानले चिन्ता व्यक्त गरे। 


बाँसुरी बजाएर स्वयम्भू परिक्रमा गर्दै मतिना। फोटो सौजन्य : प्रतापमान शाक्य

बाँसुरी बजाउँदै स्वयम्भू परिक्रमा

अन्जान मान्छेसँग टाढै रहने मतिना बिस्तारै सामाजिक कार्यहरुमा घुलमिल हुन थालेकोमा प्रतापमान खुसी छन्।

एक महिनासम्म नेवार समुदायले प्राकृतिक प्रकोपहरुबाट बच्न सकियोस् भनेर बुद्ध समक्ष प्रार्थना गर्दै गुँला पर्व मनाउँछन्। त्यही क्रममा काठमाडौँका विभिन्न टोलहरुबाट स्वयम्भू परिक्रमा गरिन्छ। यस पटक गुँला पर्वमा मतिनाले इतुम्बहालको केशचन्द्र गुँला बाजं खलबाट पहिलो पटक बाँसुरी बजाउँदै स्वयम्भू परिक्रमा गरिन्। 

गुँला सुरु हुनुअघि नै बाँसुरी बजाउन सिकेकी मतिना अहिले बाँसुरी बजाउन अलि पोख्त भइसकेकी छिन्। उनकी दिदी मिजलाले पनि धेरै वर्षदेखि गुँलामा बाँसुरी बजाउँदै आएकी छिन्। 

अर्को वर्ष भने धा:बाजा बजाउने इच्छा छ उनको। एकातर्फ हातले र अर्कातर्फ गजोले बजाउने धाः हेर्दा ढोलजस्तो देखिन्छ। पढाइसँगै मतिनालार्इ संगीततर्फ पनि निकै झुकाव रहेको कुरा यसैबाट प्रष्ट हुन्छ। कुमारी घरमा रहँदा मतिना गितार बजाउने गर्थिन्। तर घरमा गितार नभएकाले उनले हाल गितार बजाएकी छैनन्। 


आमाबुबा र दिदीसहित मतिना

पहिले रथमा, अहिले झ्यालमा 

९ वर्षसम्म आफै रथमा बसेर यात्रा गर्दै आएकी मतिनाले यसपालि पहिलो पटक येँया (इन्द्रजात्रा)मा कुमारी घरबाट रथयात्रा हेरिन्।
कुमारी घरको कलात्मक झ्यालबाट मतिनाले वर्तमान जीवित देवी कुमारी तृष्णा शाक्यलार्इ पहिलो पटक रथ यात्रा गरेको देखिन्। 

'रमाइलो लाग्यो,' पहिले रथयात्रामा जाने, अहिले हेर्ने। कस्तो लाग्यो भन्ने प्रश्नमा उनले संक्षिप्त उत्तर दिइन्। त्यसदिन परिवारसँग उनी मध्यरातसम्म इन्द्रजात्राको रौनक हेर्न व्यस्त भइन्। 

श्वेतभैरवको मुखबाट प्रसादका रुपमा दिइने जाँड महिलाहरुले खानका लागि तँछाडमछाड गर्दै गरेको दृश्य उनले जीवनमा पहिलो पटक हेरिन्। त्यहाँ पनि फोटोग्राफरहरुको नजर उनमा परेपछि क्यामरा उनीतर्फ मोडियो। यसबारे पनि प्रश्न गर्दा उनले फेरि भनिन्, 'रमाइलो लाग्यो।' 


हामीले एक पटक बाँसुरी बजाउन आग्रह गर्दा लजाएकी मतिनाले बुवा प्रतापको आग्रह मा भने केही समय बाँसुरी बजाइन्। 

पूर्व कुमारीबारे भ्रम

जीवित कुमारीको बारेमा जस्तै नेपाली समाजमा पूर्व कुमारीप्रति पनि धेरै भ्रम रहेका छन्। पूर्व कुमारीले विवाह गर्न नहुने, बन्धनमा बस्नुपर्ने लगायतका भ्रम छन्। 

प्रताप भन्छन्, 'अरुले भनेको आधारमा, सुनाएको आधारमा मानिसहरु यो संस्कारप्रति नकरात्मक धारणा राख्छन्। प्राय: पूर्व कुमारीहरुको बिहे भइसकेको छ। नातिनातिना नै छन्। पूर्वकुमारी रश्मिला शाक्य त सफ्टवेयर इन्जिनियर हुन्। यो सबै स्वतन्त्राको उपज हो।'  

आफ्नी छोरीलार्इ कुमारीका बारे समाजमा विद्यमान भ्रमहरु चिर्न सक्षम बनाउने र देशको असल नागरिक बनाउने प्रतापमानको दृढता छ। 


 

पूर्व र वर्तमान कुमारी साथी

बेला बखतमा मतिना कुमारी घर गइरहन्छिन्। हालकी कुमारी तृष्णा शाक्य मतिना देखेपछि हुरुक्कै हुने र उनीसँगै खेल्न रमाउने गर्छिन्। मतिना र तृष्णा एक अर्काका राम्रा साथी बनेका छन्। मतिना समय मिलेसम्म कुमारी घर गइरहने बताँउछिन्। कुमारी घरले पनि पूर्व कुमारी र उनको परिवारलार्इ विशेष कार्यक्रमहरुमा बोलाएकै हुन्छ। 

मतिना अब देवी रहिनन्, तर पनि उनीप्रति मानिसहरुको सम्मान अझै कायम छ। उनलार्इ अझै मानिसहरु ढोग्न पुग्छन्। मतिना सबैलार्इ आशीर्वाद दिन्छिन्। जीवित देवी कुमारीका रुपबाट मानव भएको एक वर्ष भएता पनि उनलाई सदा 'द्य: मयजु' (देवी) कै रुपमा पुकारिन्छ। 

 


ट्रेन्डिङ पोस्ट