PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मधेशका नेता : के गर्दैछन् दशैंमा?



बीपी साह

मधेशका नेता : के गर्दैछन् दशैंमा?

दशैं सबैको चाड बनिरहेको छ। के पहाड, के मधेश यसको प्रभाव सबैतिर फैलिँदैछ। मधेशमा दशैंको टीका जमरा नभए पनि कतिपय मधेशमा आधारित नेता टिका थाप्न जान्छन्। मधेशमा आधारित नेताले यसरी मनाउँदैछन् दशैं -

‘दशहरा’मा गाँउ–गाँउ डुल्दै महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको दशहरा गाउँगाउँ डुलेर बित्ने भएको छ। 

यस पटकको दशैंमा आफ्नो पैतृक गाउँ महोत्तरी जिल्लाको एकरहिया पुगेका ठाकुरले आफ्नो क्षेत्रका गाउँहरु डुलिरहेका छन्।

गाउँघरको स–साना चोक चौराहामा सर्वसाधारणलाई भेट्दै ठाकुरले दशैं मनाउँदैछन्। उनको क्षेत्रमा आयोजना हुने मेला तथा शुभकामना आदान प्रदान कार्यक्रमहरुमा पनि ठाकुर सहभागी हुने जनाइएको छ।

ठाकुरको निजी सचिवालयका अनुसार सोमवार गृहजिल्ला लागेका ठाकुर कार्तिक सात गते मात्रै काठमाडौं फर्किने छन्।

अहिले महोत्तरीमा रहेका ठाकुर ५ गतेसम्म महोत्तरीमै रहने छन्। ६ गते धनुषा हुँदै सर्लाहीमा हुने एक कोजाग्रत कार्यक्रममा सहभागी हुनेछन्। कोजाग्रत कार्यक्रम सकेर उनी काठमाडौंमा फर्किनेछन्।

विजय गच्छदारको दशैं आधा विराटनगर आधा काठमाडौंमा

नेपाली कांग्रेसको संसदीय दलका उपनेता विजय कुमार गच्छदारको दशैं केही दिन गृह जिल्ला र केही दिन काठमाडौंमा हुनेछ।

मंगलबार विराटनगर जान लागेका गच्छदार विराटनगर पछि आफ्नो निर्वाचन क्षेत्रमा केही दिन रहनेछन्। उनको निर्वाचन क्षेत्रमा आयोजना हुने दुईवटा शुभाकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनेछन्।

टिकामा गच्छदार काठमाडौं फर्किने छन्। 

पहाडी समुदायमा बिहे गरेका गच्छदार टिका लगाउन ससुराली जाने कार्यक्रम पनि रहेको गच्छदारका सहयोगी कपलेश्वर यादवले बताए।

सर्वेन्द्रनाथ शुक्ला फलहार बसेर दशैंको साधना

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्ला दशैंभरी फलहार बसेर नवरात्र मनाउँछन्। उनले दशैंलाई रमाइलो भन्दा पनि साधनाको रुपमा लिन्छन्।

‘हामी आन्दोलनबाट आएको शक्ति हो, संघर्ष हाम्रो जीवनको अंग बन सिकेको छ। संघर्षको लागि उर्जा चाहिन्छ। मेरा लागि यो नवरात्र उर्जा र साधनाका लागि विशेष अवसर हो,’ शुक्लाले भने।

‘मैले सुरुदेखि नै नवरात्रालाई सकारात्मक रुपमा साधना ठानेको छु। यस अवधिमा ध्यान केन्द्रीत गरेर अधिकतम् उर्जाका लागि यो नौं दिन बिताउँछु,’ शुक्लाले थपे, ‘फलहार मात्र गर्छु। रमाइलोभन्दा फरक हुन्छ। दशमी पछि आफ्नो गृह जिल्ला जान्छु।’

यस पटक दशैंमा उनका छोरा बुहारी पनि अमेरिकाबाट आएका छन्। उनीहरुले पनि बुवाजस्तै फलहार बसेर पूजापाठ गर्छन्।

शुक्लाले पहाडी समुदायमा विवाह गरेका छन्। उनकी श्रीमती निरंजना शुक्ला पनि पूजापाठमा रमाउँछिन्। दशैंको टिका थाप्न ससुराली जानेछन् उनि। मधेशको संस्कृति र पहाडको संस्कृतिको मिश्रणका रुपमा शुक्लाको दशैं बित्ने छ।
 

अनिल झा : पूजापाठलाई गृहनगर

राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा दशहरामा आफैँ पूजापाठ गर्छन्। यसपटक पनि उनी घटस्थापनाभन्दा पहिले आफ्नो गृहनगर पुगेका छन्।

नवरात्राको सबै विधि अनुसार उनले पाठ गरिरहेका छन्। 

यो दशैंमा उनको तीनवटा योजना छ। पहिलो योजना पूजापाठ, दोस्रो शुभकामाना आदान प्रदान र तेस्रो पार्टीको सदस्यता वितरण अभियान।
राजपाको निर्णयअनुसार दशैंकै अवधिमा झाले सदस्यता वितरणलाई पनि तीब्रता दिएका छन्। गाउँ गाउँमा डुलेर सदस्यता वितरण गरिरहेको झाले बताए।

झाका अनुसार कोजग्रत सकिएपछि उनी ८ गतेतिर काठमाडौंमा फर्किनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell