PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साम्बाको दशैं गिफ्ट : 'देशका लागि गोल दिने हो'



स्वेच्छा राउत

साम्बाको दशैं गिफ्ट : 'देशका लागि गोल दिने हो'

‘दशैंमा के गर्दै हुनुहुन्छ त?’ 
‘यस पटक त ट्रेनिङ गर्दैछु’ 

साबित्रा भण्डारी अर्थात् नेपाली महिला फुटबलकी साम्बाको यो जवाफले कुराकानी लम्ब्याउन उक्सायो। र, सुरु गर्‍यौं  दशैं वार्ता।

दशैंताका गाउँमा हुने खसी र भाले कपले उनको फुटबल करियरको भर्‍याङको काम गरेको थियो। घटस्थापनाअघि विभिन्न खेलकुद सम्बन्धी प्रतियोगिताहरु आयोजना हुन्थे। तर, सबै पुरुषका लागि मात्र। साबित्राको फुटबल खेल्ने रहरलाई महिला हुनुले रोकेन।

‘दाइहरुको टिममा मिसिएर म पनि खेल्थेंँ। लोकल गेम भएकाले फरक पर्दैनथ्यो,’ उनी सम्झिन्छिन्।

फुटबल खेल्ने र खेलाउनेले पनि उनलाई 'छोरी भएर नखेल्' भनेनन्। उनलाई हौसला मिल्यो। त्यसपछि उनलाई हुलमा मिसिन दशैं कुर्नु परेन। 

२०७१ को दशैंअघि लमजुङको धनपोखरामा महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। उत्साहले आयोजना गराएको खेलमा उत्साहकै समभागीहरु। जित्यो साबित्रा गाउँ सिम्बालीको टोलीले।

'१५ हजार नगद रुपैयाँ पुरस्कार जित्नु खुब ठूलो कुरा बन्यो। त्यसमा मैले पनि गोल गरेको थिएँ,' उनले भनिन्। उनको टिमले जित्यो नै साथमा उनी पनि ‘नोटिस’ भइन्। र, एपिएफ सेलेक्सनको लागि सिफारिसमा परिन्। छानिइन् र काठमाडौं आइन् पनि।

त्यसपछि पर्व विशेषमा मात्र घर जान थालिन्। हरेक दशैंमा केही खर्च बोकेर जान्छिन्। घरमा चाहिने सामान, भाइ बहिनी, आमाबुवाको लागि लुगा पनि। ‘यस पटक जान पाइन। खर्च पठाउन पनि ढिलो भइसक्यो,’ उनी केही निराश सुनिन्छिन्।

आउँदो नोभेम्बर चाइनामा हुने फ्रेन्ड्ली म्याचको तयारीमा छन् नेपाली महिला फुटबलको राष्ट्रिय टिम। साम्बा लगायत क्याम्पमा सहभागी कसैले पनि बिदा पाएनन्। हरेक बिहान ट्रेनिङ हुन्छ। फर्कँदा कतै चहलपहल कतै शून्य हुँदै गएको शहर देख्छिन्।  

‘यस पटक यस्तै भयो। दशैं घर रमाइलो याद गर्न पनि फूर्सद चाहिन्छ। नत्र ध्यान खेलमै छ,’ उनले भनिन्। 

साबित्रालाई दशैंमा टिका लगाउन निकै रहर लाग्छ। पहिले पहिले मामाघरमा दिदीहरुले सय रुपैयाँ पाउँदा आफूले पचास रुपैयाँ मात्र पाउँथिन्। भारी मन लिएर घर फर्कन्थिन् र भक्कानो छोडेर रुन्थिन्। हाँस्दै सुनाउँछिन्, ’बुवाले पैसा दिएर फकाउनु हुन्थ्यो।’ 

पहिलोपटक घरबाहिर दशैं मनाउन लागेकी उनी सिनियर दिदीहरुको हातबाट टिका र आशिर्वाद थापेर चित्त बुझाउने योजना बुन्दैछिन्। भन्छिन्, ’बाबा आमाले फोनमा ‘जितेर आउनु’ भनिदिए पुग्छ।’ 

चीनबाट नेपाली महिला फुटबल टोली ओलम्पिक क्वालिफायर खेल्न म्यानमार जानेछ। साम्बाको दशैं घरबाहिर र तिहार देशबाटै बाहिर हुनेछ। तर, पनि अहिले उनको ध्यान पूर्णरुपले खेलमै छ। अन्तर्राष्ट्रिय खेलमा देशको लागि १७ गोल गरेकी उनी आफ्नै रेकर्ड तोड्ने योजनमा छिन्। भन्छिन्, 'देशलाई दशैं तिहार गिफ्ट गोल दिने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell