PahiloPost

Dec 17, 2018 | २ पुष २०७५

'एकै दिन काशीमा नुहाएर काठमाडौँमा प्रेमिका भेट्न पुग्ने' भैरव गए राति छोरी भेट्न हनुमानढोकामा

'एकै दिन काशीमा नुहाएर काठमाडौँमा प्रेमिका भेट्न पुग्ने' भैरव गए राति छोरी भेट्न हनुमानढोकामा

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: आइतबार राति जीवित देवी कुमारीलाई भेट्न टेकुबाट पचली भैरवको यात्रा भयो।

टेकुस्थित पचली भैरवको मन्दिरबाट श्री पचली भैरव (तेप आजु द्य) को मूर्तिलार्इ खटमा राखी टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलार्इ उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो।

नेवार समुदायले यस दिनलार्इ पचिमह्रका रुपमा मनाउने गर्छन्।

हनुमानढोकाबाट पचली भैरवलार्इ ब्रहमटोलमा रहेको श्वेत भैरव कहाँ लगी तीन पटक परिक्रमा गराइयो। त्यसपछि ब्रहमटोल स्थित युति: ननिमा रहेको आशानारायण महर्जनको घरमा लगी मूर्ति प्रतिस्थापन गरियो।

१२ वर्षसम्म पचली भैरवको मूर्तिलार्इ पुजारी गुठीका १२ जनाको घरमा पालैपालो राखिने पचली भैरवका उजा भाजु भरत मालीले बताए।

गत वर्ष पचली भैरवको मूर्ति बद्री महर्जन कहाँ राखिएको थियो।

पहिले मध्य रातमा, अचेल राति नै

तीन चार वर्ष अघिसम्म पचली भैरवलार्इ पञ्चमीको रात बोकेर टेकुदेखि हनुमानढोका पुर्‍याइथ्यो। रातिको ११- १२ बजेसम्म भक्तजनहरु पचली भैरवको दर्शनका लागि जाग्राम बस्थे। परालले बनाइएको पांग्रा (पेचा) मा राखेर ७-८ युवा पचली भैरवलार्इ काँधमा बोकेर नगर परिक्रमा गराउँथे। टोलटोलमा युवाहरुको एक जमात आफ्नो टोलमा पचली भैरवको मूर्ति बोक्ने प्रतिक्षामा हुन्थे।

अहिले त्यो दृश्यमा भने केही परिवर्तन आएको छ। काँधमा बोकेर लग्दा पचली भैरवको मूर्ति धेरै पटक खस्थ्यो। त्यसका कारण मूर्ति धेरै बिग्रेको हुँदा मूर्ति बचाउनका लागि फलामको खट निर्माण गरि पचली भैरवलार्इ त्यसमा राखेर नगर परिक्रमा गराउन थालिएको भरत बताउँछन्।
 

पहिले मध्यरातमा हुने जात्रा हाल भने बेलुकी ७-८ बजे नै सुरु गर्ने गरेको उनले बताए।

'काशीमा नुहाएकै दिन फर्किएर काठमाडौँकी प्रेमिका भेट्ने'

किंवदन्ती अनुसार पचली भैरवको मूल थलो चित्लाङ थियो। उनले फर्पिङमा राज्य संचालन गर्थे। उनी एकै दिनमा काशीमा गएर स्नान गरेर काठमाडौंमा रहेकी प्रेमिकालार्इ भेट्न आउने गरेको कथन रहेको मालीले सुनाए।

त्यो बेला कै शक्तिशाली पचली भैरव एक दिन प्रेमिकासँग रात बिताएर फर्कन खोज्दा सुकाइरहेको फरिया नाघेर अघि जान सकेनन्। त्यसपछि उनलार्इ प्रेमिकाका दाजुभाइहरुले समाएर कुटे।

भैरवको मृत्यु भएको ठानेर उनलार्इ टेकुमा फालिदिएका थिए। पचली भैरवलार्इ फालेकै स्थानमा अहिले पचली भैरवको मन्दिर रहेको मालीले बताए।

तर पचली भैरवको मूर्तिलार्इ जहिल्यै टेकुस्थित मन्दिरमा भने राखिँदैन। घटस्थापनाको चौथो दिन राति पचली भैरवको मूर्तिलार्इ मन्दिरमा ल्याइन्छ।

पञ्चमीका दिन साइत हेरी मन्दिरमा रहेको पिठमा मूर्ति प्रतिस्थापन गरिन्छ।

वर्षमा एक दिन मन्दिरमा ल्याइने पचली भैरवको दर्शनका लागि पूरै दिन पचलीमा दर्शनार्थीहरुका घुँइचो लाग्ने गर्छ। त्यसक्षेत्रमा रहेका नेवार समुदायले भोज गर्छन्।

त्यो दिन दर्शनार्थीहरुले पचली भैरवको मूर्ति रहेको घ्याम्पोमा जाँड, फलफूल, अण्डा आदि चढाउने गर्छन्। चढाइएको प्रसादसहित राति पचली भैरवलार्इ टेकु, लगन, ज्या: बहाल, जोशीदेग, मजिपात हुँदै वसन्तपुरस्थित हनुमानढोकामा पुर्‍याइन्छ। 

त्यहाँ राष्ट्रका रक्षकका रुपमा रहेका भैरवलार्इ सरकारका तर्फबाट पूजा दिइन्छ। राँगाको बली चढाइन्छ।

कुमारी र भैरवको आँखा जुधाई

हनुमानढोका पुगे लगत्तै कुमारी र पचली भैरवलार्इ भेटाइन्छ। कुमारी पचली भैरवकी छोरी भएकोले उनीहरुलार्इ एकअर्काका आमनेसामने राखी आँखा जुधाइन्छ। त्यसलार्इ स्थानीय भाषामा 'दृष्टि चुलाकेगु' भनिन्छ। गरिन्छ। त्यसक्रममा पचली भैरवले कुमारीलार्इ आफूमा निहित शक्ति प्रदान गर्ने जनविश्वास रहेको छ।

कुमारीले मनले चाहे जति पचली भैरवलार्इ हेर्न पाउँछिन। कुमारीले हेर्न पुग्यो नभनेसम्म पचली भैरवलार्इ कहीँ लग्न नहुने मान्यता छ। पचली भैरवलार्इ कुमारीले 'हेर्न पुग्यो' भनेपछि मात्र पचली भैरवलार्इ उठाएर ब्रह्मटोलस्थित श्वेत भैरव कहाँ लगिन्छ र तीन पटक परिक्रमा गराइन्छ।

त्यसपछि पचली भैरवको मूर्तिलार्इ पा:ला: कहाँ लगिन्छ। वर्षका बाँकी दिन पूजा गर्न चाहनेहरु पा:ला:को घर नै पुगेर पूजा गर्ने गर्छन्। टेकुस्थित मन्दिरमा दर्शनका लागि पचली भैरवको सानो प्रतीकात्मक मूर्ति रहेको हुन्छ। 

गणतन्त्रपछि पनि ज्ञानेन्द्रकै सहयोग

लिच्छवीकालमा पचली भैरवको मूर्ति माटोको थियो। एक दिन जात्राका क्रममा चिंकमुग र मजिपातको बीच भागमा मूर्ति खस्यो र फुट्यो। मूर्तिलार्इ त्यहीँ पुरी त्यसलार्इ ज्वास्या भैरवका रुपमा पुजिन थालिएको भरत बताउँछन्। हाल त्यस स्थानमा ज्वास्या भैरवको सानो मन्दिर खडा गरिएको छ।

अहिले हामीले देख्दै आएको पचली भैरवको मूर्ति पहिलाको भन्दा फरक छ। पहिला पितलमा सुन लेप गरेर त्यसैमा पचली भैरवको आकृति बनाइने गरिन्थ्यो। २०७३ सालमा भने मूर्तिको आकृति पहिले भन्दा पृथक र नयाँ बनाइएको भरत बताउँछन्।

पहिलाका मूर्तिहरु कुँदिएका हुने गरेकोमा हाल भने घ्याम्पोमा पूरै नयाँ मूर्ति नै राखिएको छ। 

प्रत्येक १२ वर्षमा पचली भैरवको घ्याम्पो सहितको पूरा मूर्ति फेर्ने प्रचलन छ। पचली भैरवको नयाँ मूर्ति भने हालसम्म राजाले नै बनाई चढाउँदै आएका छन्।

गणतन्त्र आएपछि पनि पूर्व राजा ज्ञानेन्द्र शाहले नै पचली भैरवको घ्याम्पो सहितको नयाँ मूर्ति फेर्न सहयोग गरेको मालीले बताए।

प्रत्येक १२ वर्षमा परिवर्तन हुने घ्याम्पो परिवर्तन गर्दा राष्ट्राध्यक्ष पचली पुग्ने गरेका छन्। १२ वर्षमा फेरिएका सबै मूर्तिहरु क्ववहालस्थित थकु जुजु कहाँ रहेको उनले बताए।

१२ वर्षमा पचली भैरवको विशेष खड्गसिद्धि जात्रा गरिन्छ। गणतन्त्र आइसके पनि २०७३ सालमा भएको १२ वर्षे मेलामा ज्ञानेन्द्रले राष्ट्राध्यक्ष कै हैसियतमा भैरवसँग खड्ग साटासाट गरेको मालीले बताए। खड्ग साट्ने परम्परा भने मल्लकालदेखि चल्दै आएको छ।



ट्रेन्डिङ पोस्ट