PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


एउटा त्यस्तो शहर जहाँ दुई सय वर्षदेखि दशैँ मनाइएको छैन


सहयोग रञ्जित

एउटा त्यस्तो शहर जहाँ दुई सय वर्षदेखि दशैँ मनाइएको छैन

यस पटक सरकारले घटस्थापनाको दिन सार्वजनिक विदा नदिए पनि वडा दशैँ बुधबारदेखि सुरु भइसकेको छ। देशविदेशमा रहेकाहरु घर फर्कने क्रम सुरु भइसकेको छ। दशैँका लागि बजारमा किनमेल गर्नेहरु घुइँचो थामिनसक्नु छ। नेपालभित्र मात्र हैन विदेशमा बस्ने नेपालीहरुलाई पनि 'दशैँ फिभर'ले गाँजिसकेको छ। तर काठमाडौँ उपत्यकामा एउटा त्यस्तो शहर पनि छ जहाँ दशैँको चटारो छैन।   

जावलाखेलबाट सात किलोमिटर दक्षिणमा पर्ने पुरानो बस्ती खोकनाका बासिन्दाहरु दशैँ मनाउँदैनन्। उनीहरु अरुले जस्तो न त टीकाका लागि आफन्त कहाँ जान्छन्, न त आफै टीका लगाउँछन्। 

किन मनाइँदैन दशैं?

खोकनाको करिब दुर्इ सय वर्ष पुरानो इतिहास छ। यहाँ किन दशैँ मनाइँदैन भन्ने बारे ठोकुवा गरेर भन्न सक्ने कोही छैनन्। तर यही बेला हुने सिकाली जात्राको व्यस्तताले नै त्यहाँ दशैं नमनाइएको स्थानीयहरुको भनाइ छ।

पूरा देश दशैंको रमझममा मस्त भइरहेको बेला खोकनामा श्री रुद्रायणी (सिकाली) जात्राको चटारो हुन्छ। घर-घरमा भोज गरिन्छ। 

२५ वर्षीया मन्जु महर्जन पनि जात्राको चटारोमा व्यस्त छिन्। घरमा पाहुनाहरुलार्इ बोलाउनु छ। अरुले जस्तै उनले पनि दशैंको टीका आजसम्म लगाएकी छैनन्। भन्छिन् 'हामी सबै जात्राका बेला यतै व्यस्त हुन्छौं। बाहिर कस्तो दशैं हुन्छ, यहाँ थाहा हुन्न। हामीलार्इ दशैं भन्नु नै यही जात्रा हो।' 

रुद्रायणीका वृद्धवृद्धादेखि अहिलेका साना बालबालिकासम्ममा अरु क्षेत्रमा जस्तै दशैंको 'क्रेज' देखिँदैन। मन्दिर छेउमै रहेको पाटीमा बस्दै गरेकी जुजुमैयाँ भन्छिन्, 'पहिलादेखि रुद्रायणी जात्रा मनाउँछौँ हामी। हाम्रो आफ्नै मौलिक संस्कृति हुँदाहुँदै किन अरुको संस्कृति पछ्याउनु र।'

'मैले आजसम्म टीका लगाएको छैन। हाम्रा बाजेबज्यैले पनि लगाएनन्। यो हाम्रो मौलिक परम्परा हो' ललितपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष रवीन्द्र महर्जन बताउँछन्। 

पहिला खोकना बाहिरका मान्छेसँग त्यहाँका छोरीहरुको विवाह चल्दैन थियो। तर अहिले त्यस्तो छैन। त्यस क्षेत्रमा बसोवास गर्ने मानिसहरुले बाहिर विवाह गरेसँगै केहीले भने दशैँमा टीका लगाउन जान थालेका छन्।

बस्ती सार्दा जात्रा जुध्यो दशैँसँग

किंवदन्ती भने रमाइलो छ। महिषासुर नाम गरेको दानवले देवताहरुलार्इ धेरै दुःख दिएछन्। महिषासुर बसेको ठाउँ पत्ता लगाउन देउताहरु बैठक बस्यो र उसलार्इ खोज्ने निर्णय भयो। भैरव,नागराज, रुद्रायणी, कुमार, सिङ्नी,व्याङ्नी काली लगायतका देवदेवीहरुले खोज्दासमेत महिषासुर भेटिएनन्। 

चिन्तित बनेका देवताहरुले मायादेवीको क्षमापूजा गर्ने निधो गरे। भैरव, काली, कुमारी र वाराहीलार्इ भोग चढाउन बलि दिइयो। समस्या समाधान भयो। तर फेरि केही समयपछि उस्तै। संकट बढ्दै गएपछि राक्षसहरुबाट बच्न बस्ती नै सार्ने निधो गरियो, अहिलेको खोकनामा। 

पुरानो बस्ती (कुदेश) खोकनाबाट करिब १५-२० मिनेट हिँडेपछि पुगिन्छ, सिकाली मन्दिर भएको ठाउँ। बस्तीसँगै देवीलार्इ पनि नयाँ स्थानमा सारियो। यसलार्इ अहिले रुद्रायणी मन्दिर भनेर चिनिन्छ। 

देवीले नयाँ स्थानमा बस्न त मानिन् तर भोग लिन मानिनन्। त्यसैले भोग भने रुद्रायणी मन्दिरमा नभई पुरानो मन्दिर भएको स्थान सिकालीमा लगेर चढाइन्छ। अहिलेसम्म त्यही परम्परा निरन्तर चलिआएको छ। पहिले यो जात्रा गाइजात्राको बेला मनाइने भएपनि बस्ती सार्दा जात्राको तिथि पनि परिवर्तन गरियो। नयाँ तिथि निकाल्दा दशैंसँग मिल्न पुग्यो। त्यसपछि खोकनाबासीले दशैं नमनाएको बताउँछन् स्थानीय चन्द्रमान डंगोल। यो जात्रा स्वस्थानी कथामा आधारित रहेको उनले बताए। 

कसरी हुन्छ जात्रा?

नेवार समुदायमा विभिन्न धार्मिक कार्य संचालन गर्नका लागि विभिन्न गुठी रहेका हुन्छन्। खोकनामा पनि रुद्रायणी जात्रा मनाउनका लागि श्री रुद्रायणी गुठी रहेको छ। त्यसमा ४६ गुठियार रहन्छन्। घटस्थापनाका दिन नेपालीहरुले आ-आफ्नो घरमा जमरा राख्दै दशैंको सुरुवात गर्छन्। तर खोकना क्षेत्रका घरहरुमा भने जमरा राखिँदैन। 

घटस्थापनाका दिन उनीहरुले मचापूजा गरे। गुठीका कुमार केटाहरुलाई सिकाली चौरमा रहेको मन्दिरमा लगियो। विशेष गोप्य पूजा गरियो। घटस्थापना र त्यसको भोलिपल्ट सिकाली चौरमा सम्बन्धित व्यक्ति बाहेक अरु कसैलार्इ जाने अनुमति हुँदैन। घटस्थापनाको भोलिपल्ट असोज २५ गते प्रधानमन्त्री केपी ओली सिकाली क्षेत्रमा आउने कार्यक्रम थियो। तर जात्राका कारण त्यो रद्द भएको हेराबहादुर डंगोलले बताए।  

तृतीयाका दिन भने रुद्रायणी गुठीका सदस्यहरु दिनभरि व्रत बस्ने गर्छन्। चौथो दिन प्रत्येक घरमा छ्वयालाबु गरी भोज खाइन्छ।

पञ्चमी अर्थात् असोज २८ गतेका दिन त्यहाँ मुख्य जात्रा हुन्छ। रुद्रायणी मन्दिरबाट देवतालाई बाहिर निकालेर खटमा राखिन्छ। त्यसैदिन बेलुकातिर एउटा राँगालार्इ खोकनाको कोट क्षेत्रबाट बाहिर लगेर बलि दिइन्छ। बिहान १-२ बजेतिर खटमा राखिएका देवतालाई बोकेर सिकाली मन्दिरमा लगेर प्रतिस्थापन गरिन्छ। 

छैटौँ दिन ४६ जना गुठियारहरु सेतो विशेष पोशाकमा तयार हुन्छन् र सिकालीतिर लाग्छन्। गुठीका १४ जना आफूले निर्वाह गर्नुपर्ने देवताको भूमिकाको ख्वापाः (मुकुण्डो) र वस्त्र लगाउँछन। वीरभद्र, महाकालीका रूपमा देवगणहरुलाई तान्त्रिक विधिबाट मन्दिर बाहिर निकालिन्छ। उनीहरुलार्इ सिकाली परिसरमा नचाइन्छ। सिकाली चौरबाट नाच्दै उनीहरुले गाउँ परिक्रमा गर्छन्। त्यसदिन क्वँलाछीमा आएर जात्रा समापन हुन्छ।

त्यसको भोलिपल्ट राति क्वँलाछीमा नाच देखाइन्छ। त्यसको भोलिपल्ट रुद्रायणी मन्दिरमा मूर्ति र ख्वापा: पुन: प्रतिस्थापन गरिन्छ। जात्राकै समय त्यहाँ आफन्तहरुलार्इ बोलाइन्छ र भोज गरिन्छ।

विजया दशमीको दिन भने खोकनामा केही हुँदैन। न त उनीहरु टीका लगाउँछन्। न त टीका लगाउन कतै जान्छन्।  जात्राबाट थाकेकाले उनीहरु त्यस दिन आराम गर्छन् भन्ने मान्यता रहेको छ। 

 



एउटा त्यस्तो शहर जहाँ दुई सय वर्षदेखि दशैँ मनाइएको छैन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट