PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुनकोशीमा बस खस्दा एक जनाको मृत्यु



सुनकोशीमा बस खस्दा एक जनाको मृत्यु
फोटो: ओमराज श्रेष्ठ

सिन्धुली: बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ। सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ। 

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो। घटनाको थप विवरण आउन बाँकी रहेको छ। 

सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिए। 

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको सो बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन। 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरु सबैको उपचारका लागि धुलिखेल पठाइएको उनले जानकारी दिए। दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell