PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ : वामदेवसामु सातै चुनौती



विधुर ढकाल

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ : वामदेवसामु सातै चुनौती

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का सचिवालय सदस्य वामदेव गौतमले संसदमा प्रवेशका लागि पटकपटक पार्टी सचिवालयमा प्रस्ताव राखिरहेका छन्। बर्दियाबाट पराजित उनको समर्थन छन् ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। 

सोमबारमात्र प्रचण्डले उनलाई काठमाडौं ७ बाट सांसद बनाउने प्रस्ताव सचिवालयमा पेश गरे। उनले त्यतिबेला हालका सांसद रामवीर मानन्धरसमेत यसमा सहमत भएको बताएका थिए। प्रचण्डले प्रस्ताव राखेको अर्को दिन मंगलबार सांसद मानन्धरले पार्टीले निर्णय गरे राजीनामा दिने भन्दै पत्रकार सम्मेलन गरे। उनले कसैको दबाबमा नभई आफ्नै प्रस्तावमा राजीनामा दिन लागेको बताएका थिए। 
उनले आफैले प्रस्ताव गरी सांसद पद छाड्न लागेको र गौतम निर्वाचित हुने दाबीसमेत गरे। 

मानन्धरले गौतमलाई जिताएरै पठाउने बताए पनि अवस्था उनीअनुकूलकै छ भन्न सकिन्न। चुनाव भएमा गौतमसामु चुनौती कम छैन। 
देशभर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साझेदार उम्मेदवार भएर आएको चुनावी लहरमासमेत बर्दियामा पराजित गौतमसामु काठमाडौं ७ मा यस्ता छन् ७ चुनौती।

चुनौती १ : असन्तुष्ट ओली गुट

भलै आफ्नै दलका कार्यकर्ता र नेता हुन्, गौतमलाई काठमाडौंबाट जितका लागि तिनकै साथ अनिवार्य छ। तर, वामदेवका लागि रामवीरले पद त्याग गरिरहँदा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ‌ओली पक्षधरहरु सन्तुष्ट देखिएका छैनन्। सामाजिक सञ्जालमा उनीहरुको उपस्थितिले बामदेवको सम्भावित आगमनमाथि कटाक्ष सुरु भइसकेको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा देखिएको सिथिलताका पछाडि वामदेव गौतम प्रकरण पनि जोडिएको छ। गौतमप्रति ओली सकरात्मक नभएको ओली निकटहरु खुलेरै बताउँछन्। एक पटक पार्टीको बैठकमा प्रधानमन्त्री ओलीले ‘वामदेव कामरेडले सांसद बन्न चाहनु भएको छ। उहाँका लागि मै सिट छोडिदिन्छु नि!’ भन्दै ठट्टा गरेका थिए।

त्यसो त उनको बर्दियामै भएको पराजय पार्टीभित्रको अन्तर्कलहको उदाहरण नै हो। बर्दिया १ बाट पराजित भएसँगै त्यहाँका निवर्तमान सांसद श्याम ढकालसहित १० जना जिल्लाका नेताविरुद्ध स्थायी कमिटीमै वामदेवले अभिव्यक्ति दिएका थिए। त्यतिमात्र होइन, आफूलाई हराउन केन्द्रीय सदस्य सूर्य थापासमेत लागेको उनले दाबी थियो।
 

उनले घुमाउरो तरिकाले पराजयमा तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीकै हात रहेको बताउँदै आएका थिए वामदेवले। 

सरकार हेरफेर गर्न सक्ने सम्भावना भएका उम्मेदवारलाई पार्टीकै अन्तर्घातबाट उपचुनावमा कसरी पराजित गराइन्छ भन्ने उदाहरण कृष्णप्रसाद भट्टराईले काठमाडौँको उपचुनावमा भोगेको पराजय छँदैछ। २०४८ सालको प्रतिनिधिसभाको निर्वाचनपछि कांग्रेसको बहुमत सरकार थियो। भट्टराई पराजित भएका थिए जसमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सबैभन्दा ठूलो हात थियो। काठमाडौँको उपचुनावबाट उनी संसद प्रवेश गर्न खोजे। तर, अन्तरकलहका कारण पराजित भए।

यसअर्थमा पनि यस पटक उनलाई काठमाडौं ७ मा ओली पक्षकै मानन्धरलाई राजीनामा गराएर जित हात पार्नुपर्ने चुनौती छ। 
 

चुनौती २ : सरकारप्रति निराश जनता

गत मंसिरमा सम्पन्न निर्वाचनमा ने क पा (तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धन)ले बहुमत हासिल गर्‍यो। राष्ट्रवादी नारा र भारतको राजनीतिक हस्तक्षेपले चिढिएका जनताको मत नेकपाप्रति अगाध साहनुभूतिका साथ ओइरियो। तर, नेकपाले त्यो जनमतलाई स्थायित्व दिन सक्यो त? सत्तारुढ दल नेकपाप्रतिको सोचमा धेरै परिवर्तन आइसकेको छ।

जनमतमा आएको उतारचढावले वामदेवको चुनावी अभियानदेखि मतदानसम्मै अर्थ राख्छ। केही थपिएका मत पनि हिजो झै उत्साही भएर ने क पातिर जान्छ भन्ने अवस्था छैन। गठबन्धन प्रति जुन उत्साह जनताले लिएका थिए, त्यो क्रमिक रुपमा धमिलो बन्दै गइरहेको छ। 

हिजो प्रधानमन्त्री ओलीले रेल र पानी जहाजको कुरा गर्दा ताली बजाउने जनताहरु अहिले गालीमा उत्रिन थालेका छन्। गाली गर्नेको सूचीमा ने क पाकै जनस्तरमा सक्रिय कार्यकर्ताको पङ्ति पनि उत्तिकै छ जो कुनै समय ने क पाका नेताले बोलेको बोलीलाई अक्षरस पालनमात्र गर्थ्यो।

पछिल्ला दिनमा भएका महिला हिंसा, मूल्य वृद्धिलगायतका कुराबाट सरकार घेरिँदै गएको छ। निर्मला हत्या काण्डले सरकारको लोकप्रियताको ग्राफलाई निरन्तर ओरालोमा झारेको छ। त्यसमाथि न्यूयोर्कबाट प्रधानमन्त्री ओलीले अपराधी पत्ता लाग्न १२ वर्ष लाग्न सक्छ भन्दै अभिव्यक्ति दिएपछि पार्टीको साख थप कमजोर बनेको छ। प्रधानमन्त्री कहिले अरिंगालमा आलोचित भएका छन् त कहिले जादुगरमा। 

सरकारको काम कारवाहीलाई दुरदराजका मतदाताले नजिकबाट हेरिरहेका छन् नै अझ काठमाडौंका चलायमान मतदाता यसबाट पर छन् भन्ने सोच्नु बामदेवका लागि गलत हुनेछ। बामदेवमात्र होइन, अलोकप्रियताको कसीमा अब्बल देखिएको सरकारकै दलका कुनै पनि नेताका लागि यो चुनाव फलामे च्युरा नै हो।    
 

चुनौती ३ : मेयरले गुमाएको साख

देखिने थोरै कामले पनि काठमाडौं सन्तुष्ट हुन्न। त्यसमाथि काम नै नभइरहँदा यहाँका भोटरहरुले आफूलाई पहिले झै स्थिर राख्छन् भन्नु काल्पनिक हुनसक्छ।

काठमाडौं महानगरपालिका हाँकिरहेका मेयर विद्यासुन्दर शाक्यको साख एकै वर्षमा नराम्ररी गिरेको छ। नेकपा एमालेबाट अत्याधिक मत ल्याएर मेयर बनेका उनीविरुद्ध आक्रोसितहरु बदलाको मुडमा छन्। त्यसका लागि असफल विद्यासुन्दरको कार्यशैलीको झोक गौतमविरुद्ध खनिने सम्भावना अधिक छ।  शाक्यकै कारण काठमाडौंका मतदाताहरु ने क पाप्रति रुष्ट छन्। सामान्यरुपमा मेयरले गरेका वाचा एक वर्षसम्म केही पनि पूरा गर्न सकेनन्। 

काठमाडौंका जनता यातायातको असुविधाले आजित छन्। उनीहरुले सहज रुपमा बसमा यात्रा गर्न चाहन्छन्। तर, मेयर शाक्यले मोनो रेल र मेट्रो रेलको सपना बाँड्न छाडेका छैनन्। साँझ रत्नपार्क, सुन्धारामा पुग्ने हो भने मानिसहरु गाडी चढ्न तँछाड मछाड गरिरहेका भेटिन्छन्। यदि यो भिडलाई मेयर शाक्यले गएर तिमीलाई मेट्रो चढाउँछु भन्न थाले भने, त्यहीँ झाप्पु हान्नसमेत पछि नपर्लान्। यस्तोमा वामदेव गौतम मेयरविरुद्धको झोकमा पर्ने सम्भावना अत्याधिक छ।
 

चुनौती ४ : चलायमान काठमाडौंका मतदाता

काठमाडौं 'भोट स्विइङ'मा चर्चित छ। मतदाता अत्यन्तै चलायमान। यसका ठूला उदाहरण हामीसामु छ। काठमाडौं १० बाट प्रचण्डको अद्भुत जित र पत्तासाफ पराजय। काठमाडौं २ बाट माधव नेपालको झक्कु सुवेदीसँगको हार र उसैगरी अद्भुत कमब्याक। अनि, माधव नेपालले दुई ठाउँबाट चुनाव जितेर रौतहट रोज्दा तत्कालीन नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठको पराजय।

यहाँका मतदाता 'फास्टफुड स्टाइल'मा परिवर्तनको प्रतीक्षामा छन्। त्यही अनुसार अपेक्षा पूरा नहुँदा नेता फेर्नु यहाँका भोटरको सामान्य विशेषता हो। नयाँ अनुहार काठमाडौंको रुचीको विषय बनेको छ। वामदेव गौतम काठमाडौं ७ मा नयाँ अनुहार त हुन् तर उनी पटक पटक ‘टेष्टेड’ र आफ्नै गृहजिल्लाबाट पराजित पनि हुन्। पटकपटक उप-प्रधानमन्त्री र मन्त्रीसमेत बनेका उनलाई पक्कै पनि काठमाडौंका मतदाताले पुनः परीक्षण गर्ला या नगर्ला? भन्न सकिन्न। 

चुनौती ५ : न स्थानीय न त नेवारकै ज्वाँइ

गौतमका लागि अर्को चुनौती भनेको यहाँको जातीय मत पनि हो। काठमाडौं ७ नेवार समुदायको बाहुल्यता भएको क्षेत्र हो। 

यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नं. १६, १७, १८ र २५ तथा नागार्जुन नगरपालिकाका वडा नं. १, २ र ३ अनि तारकेश्वर नगरपालिकाका वडा नं. ३, ४ र ५ रहेका छन्। काठमाडौँका चार वटा वडा नेवार समुदायको घना बस्ती भएका ठाउँ हुन्। 

यहाँ विजयी भएका मानन्धर स्थानीय समुदायसँग भिजेका नेता र व्यवसायी हुन्। उनले यस क्षेत्रबाटै स्थानीय तहदेखि नै आफूलाई अब्बल बनाउँदै आएका थिए। तर, गौतममा मानन्धरसँग भएका गुण छैन। किनकि वामदेव यहाँका 'टुरिस्ट' उम्मेदवार हुनेछन्।

नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रबाट गैर नेवारलाई आफ्नो पक्षमा मत तान्नु सजिलो काम होइन। न त नेवार, न त अरु नेता झै नेवारकै ज्वाइँ। उनकी श्रीमती परिन् मगर। अब, कांग्रेसले यहाँका स्थानीय नेवार समुदायबाट उम्मेद्वार उठाए, गौतमलाई थप चुनौती हुनेछ।
 

चुनौती ६ : विग्रहका लागि 'करिस्मेटिक लिडर'को चरित्र 

नेकपाका सचिवालय सदस्यसमेत रहेका गौतम पार्टीभित्र प्रभावशाली नेता त हुन नै तर उनको नामसँगै बदनाम चरित्र पनि जोडिने गर्छ। चुनावी खर्च चाँजोपाँजोका लागि उनलाई समस्या नहोला, तर काठमाडौंमा मत तान्ने प्रभावशाली व्यक्तित्व उनले बनाउनु कठिन विषय हो।
नेकपा एमालेलाई टुक्र्याएर नेकपा माले बनाउँदा उनको चरित्र विग्रहका लागि 'करिस्मेटिक' बन्न सक्यो। पार्टी फुटाए पनि चुनावी नतिजामा नेकपा माले सिटविहीन भयो। नेकपा एमालेभित्र उनको त्यही 'हर्कत'ले तत्कालीन नेकपा माओवादीको 'जनयुद्ध'लाई फ्युल गर्‍यो। पछि नेकपा एमालेमै समाहित हुँदा पनि पार्टी मूलधारले उनलाई माओवादी अध्यक्ष प्रचण्डको मान्छेका रुपमा मात्र बुझिरह्यो। माओवादीविरुद्ध हालका पार्टी अध्यक्ष केपी शर्मा ओली कटु आलोचक हुँदा सधैं सफ्ट रहे वामदेव।

पछिल्लो पटक एमाले-माअोवादी गठबन्धनबाट ओली प्रधानमन्त्री हुँदा 'प्रचण्डलाई प्रधानमन्त्रीको पद छाड्ने भद्र सहमति' तोडिएको भन्दै गौतमले पटक पटक बताउँदै आएका छन्।  त्यस्तै पार्टी एकता हुँदा अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने विषयमा सहमति भएको उनले खुुलेर बताउँदै आएका छन्।

पटकपटक मन्त्री र उप-प्रधानमन्त्रीसमेत भएका उनी हरेक पटक आलोचनाबाट बाहिर रहेनन्। उनको परीक्षण बर्दियाले गर्‍यो। प्यूठानले गर्‍यो। त्यहाँबाट उनी असफल भइसके। अब काठमाडौं ७ बाट परीक्षण हुँदैछन्। तर, उत्तीर्ण हुने ठोस प्रमाण भने देखिँदैन, सिवाय सांसद मानन्धरले भनेको पार्टी संगठनको बल। यस्तोमा बर्दियामा गुमेको करिस्मालाई उनले काठमाडौंबाट फर्काउन सके भने त्यो अद्‍भूत नै मान्नुपर्छ।
 

चुनौती ७ : सांसद त्याग्ने रामवीर नै 

रामवीरबाट 'त्यागवीर' बनेका सांसद मानन्धरले गौतमलाई जसरी पनि जिताएर पठाउने दाबी गरेका छन्। तर, ५ वर्षका लागि जनताले रामवीरलाई छानेका हुन्। भोटरहरुको त्यो मतलाई रामवीरले लत्याएको स्थापित गर्न कुनै कठिनाइ छैन, प्रतिस्पर्धी उम्मेदवारलाई। उनको हारजित दुवैमा रामवीरको ठूलो भूमिका हुनेछ। 

यी त रहे, वामदेवको चुनावी चुनौती। यी बाहेकका केही फ्याक्टर पनि छन् जसले चुनाव कसको पोल्टोमा जान्छ भन्ने निर्धारण गर्छ। चुनावमा अन्य राजनीतिक दलले दिने उम्मेदवारी र प्रचारसँगै राजनीतिक तथा रणनीतिक स्वार्थ बोकेका शक्ति केन्द्रहरुको चलखेल पनि कम रोचक हुनेछैन यस प्रकरणमा।

यथार्थ के हो भने बामदेवले चुनाव जित्छन् या हार्छन्। तर, यस घटनाक्रमले नेपालको स्थायित्वतिर लागेको राजनीतिले पनि केही गुमाउने निश्चित छ। यो घटनाक्रम समकालीन नेपाली राजनीतिको एउटा टर्निङ पोइन्ट हुनेमा कुनै शंका छैन।
 

हेर्नुस् यस्तो छ उनले प्रतिस्पर्धा गर्ने भनिएको क्षेत्रको अंक गणित

सुरुमा चर्चा आएको डोल्पामा वामदेव उम्मेदवार बनेको भए अंक गणित फरक हुनसक्थ्यो। डोल्पाको राजनीतिको चरित्र सधैं सत्तामुखि नै छ। पार्टी फेर्नु र बाहुबली शैलीमा चुनाव जित्नु डोल्पाका लागि नियमित आकस्मिकता हुने गर्छ। तर, उल्टो छ काठमाडौं ७। पछिल्ला तीन तहका निर्वाचनको मतको तथ्याङ्क वामदेवलाई ढुक्क बनाउने खालको छैन। धेरैले रामवीर मानन्धर प्रतिनिधिसभामा विजयी हुँदाको तथ्याङ्क मात्र हेरेका छन्।

तर, हेर्नुपर्ने अन्य तहको मत पनि हो। मानन्धर चुनावी मैदानमा खडा हुँदा त्यहाँको मतपत्रमा नेपाली कांग्रेसको रुख चिह्न नै थिएन। कांग्रेसले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको रुपमा त्यहाँ गाईलाई अर्थात् राप्रपाका विक्रमबहादुर थापालाई समर्थन गरेको थियो। नतिजामा ८ हजार मतको अन्तरले थापालाई मानन्धरले पराजित गरेका थिए जसमा विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ हजारभन्दा बढी मत ल्याएकी थिइन्। क्षेत्रगत रुपमा समानुपातिक मतको विवरण निर्वाचन आयोगले नराखेकोले कुन पार्टीले त्यहाँ कति मत पायो, हेर्न सकिन्न।

तर स्थानीय तहको निर्वाचनमा यहाँका १० वडाका वडाध्यक्षहरुले पाएको मतका आधारमा हेर्ने हो भने यो क्षेत्रमा तत्कालीन एमाले र माओवादी केन्द्रको मत जोड्दा नेकपाको पक्षमा १७ हजार ९ मत छ भने कांग्रेसको पक्षमा १२ हजार ६४५ मत छ। राप्रपाको मत २ हजार ८९ मत छ। अर्थात् कांग्रेस र नेकपाको मतअन्तर प्रतिनिधि सभाको मतअन्तरभन्दा झण्डै आधा घटेर ४ हजार ३६४ छ। 

वामदेवलाई चुनौती हुनसक्ने गरी झस्काउने अर्को तथ्यांक प्रदेश सभाको छ। प्रदेश सभाका दुई स्थानमा कांग्रेसको आफ्नै उम्मेदवार थियो। त्यसमध्ये पहिलो स्थानमा एमालेका वसन्तप्रसाद मानन्धर कांग्रेसका विजयबहादुर मालीलाई मात्र ३४ मतले पराजित गरेका हुन्। त्यसैगरी प्रदेश सभाको दोस्रो निर्वाचन क्षेत्रमा विजयी भएका एमालेका प्रकाश श्रेष्ठ र दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका धर्मराज अर्यालको मतअन्तर ७ सय २० थियो। प्रदेश सभाका दुवै स्थानमा आएको मत जोड्ने हो भने एमाले र कांग्रेसको मतअन्तर हजारबाट पनि घटेर साढे सात सयमात्रैमा आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell