PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


काठमाडौंमा वामदेवले चुनाव जित्न कि ‘लहर’ आउनु पर्छ कि ‘कहर’


पहिलोपोस्ट

काठमाडौंमा वामदेवले चुनाव जित्न कि ‘लहर’ आउनु पर्छ कि ‘कहर’

  • किशोर नेपाल-

यो साता अमेरिका भ्रमणबाट तरोताजा भएर फर्किएका प्रधानमन्त्री केपी ओलीको भनाई निकै रोचक मानियो।  उनी कोटको बाहुलाबाट अण्डा निकाल्ने जादूगर होइनन्। उनको बदलिएको विचारमा देशको बिकास हुने कुरामा शंका छैन।  देशमा चुच्चे रेल पनि आउँछ र बुच्चे जहाज पनि आउँछ।  समुद्रको त दुखै भएन।  पूरै प्रशान्त महासागर नेपालकै आधिपत्यमा रहेको सम्झे हुन्छ।  हो, समय केही तलमाथि पर्न सक्दछ।  यसको अर्थ हो, उनले दिएका रेल, पानीजहाज र विकासका अरु आश्वासनहरु ढिलो पूरा हुन सक्दछन्।  प्रम ओलीले विकासका यी कामहरुमा समयको अडको थापेपछि रेल र पानी जहाजको सफर गर्ने भन्दा पनि देशको छिटो विकास हुने भयो भनेर रमाएका जनता अलमल्ल परेका छन।  

वास्तवमा प्रम ओलीको बडी ल्यांग्वेज राम्ररी हेर्दा अमेरिकाबाट फर्किएपछि उनी केही सुस्ताएका देखिन्छन्।  कोष्टारिकामा पिएचडीको उपाधि पाएपछि उनको मनमा केही आत्म–सन्तोष र केही जिज्ञासा उत्पन्न भएको हुन सक्दछ। यस्तो अवस्थाले मानिसलाई मानसिक सन्तुष्टि मिल्दछ र मानिसको शरीर आनन्दले सुस्त देखिन्छ। प्रम ओलीलाई उपाधिको आत्म–सन्तोष पनि छ।  यस अर्थमा, झापामा जन्मिएका ओलीले कोष्टारिकाबाट पीएचडी पाउनु ठूलै कुरा हो।  डिग्री मानार्थ हो कि ‘शानार्थ’ हो ? त्यसको खासै मतलब भएन। 

गणतान्त्रिक संविधान लागू भएपछि प्रम ओलीको दुबै कार्यकाल असहज अवस्थाको शिकार भएको छ।  दुबै पटक ओली चुकेका छन्।  अतिशय अभिमान उनको पहिलो दोष हो।  पहिलो पटक माओवादीलाई नचिढाएको भए कांग्रेस–माओवादी गठबन्धनले उनलाई हटाउन पाउने थिएन।  दोस्रो पटक माओवादी पार्टी एकता नै गरेर सरकारमा आएको थियो।  गृह जस्तो अपजसिया मन्त्रालय माओवादीको कमाण्डमा थियो।  तर, देशको शान्ति सुरक्षाको अवस्था कोरामिन खुवाउनुपर्ने बिरामीको अवस्थामा पुग्यो। एक दिन पनि घटनाविहिन भएनन्।  साना ठूला घटनाचक्रका बीचमा आयो तेत्तीस किलो सुन।  देशको सबभन्दा सुरक्षित क्षेत्र मानिने अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरी ल्याइएको तेत्तीस किलो सुन बेपत्ता भयो। त्यो सुन कसले बेपत्ता तुल्यायो ? सरकारसँग जानकारी छैन।  तर, सुन तस्करीको आरोपमा सरकारले धेरै मानिसलाई आरोप र अभियोग लगायो।  त्यसपछि आयो कन्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको पाशविक घटना। ओली सरकारको निधारमा लागेको कलंकको धब्बा थियो।  यसमा घटनाको जाँच गर्ने पुलिस अधिकारीमात्र होइन स्वयं प्रम ओली पनि मुछिए। किनभने टेलिभिजनको पर्दामा आशंकित बम दिदी बहिनीको इज्जत र प्रतिष्ठाको प्रतिरक्षा उनैले गरेका थिए। यो नै उनको पतनको पहिलो सिंढी थियो। कुनै न कुनै दिन यो साबित हुनेछ।

देशले गति लिन नसकेको यसै मेसोमा उनका ‘अनन्य’ मित्र माधव नेपालले संसदीय ‘महा–समुद्र’ तताए।  उनले डुब्न लागेको देशको उद्दार गर्न माझीको खोजी गरेपछि ओलीले अमेरिकाबाटै स्फूर्तिका साथ आफनो बचाउको प्रयास गरे।  तर, माधवको माझीले उनको मनमा अलिकति गहिरो हलचल मच्चाएको आभास भएको छ।  यो त माधवजीले नै जान्ने कुरा हो।  माधव र केपीको मित्रता अहिलेको होइन।  गणतन्त्रको स्थापनापछि प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएका दिनदेखिको हो।  स्वर्गीय गिरिजाप्रसाद कोइरालाको दिमागमा माधव नेपालको नाम थियो प्रधानमन्त्रीका रुपमा।  माधव नेपालसंग उनले ‘छोरी सुजातालाई उप–प्रधान तथा परराष्ट्र मन्त्रीमा नियुक्तगर्ने प्रस्ताव’ राखेका थिए।  माधवजीले त्यो प्रस्ताव अस्वीकृत गर्नुपर्ने कुनै कारण थिएन।  एमाले–कांग्रेस सरकार गठनको पृष्ठभूमि यही थियो। 

त्यो सरकारका लागि बालुवाटारमा आवश्यक बन्दोबस्त र ब्यबस्था मिलाएका थिए केपी ओलीले।  उनी त्यतिखेर एमालेका सर्व शक्तिमान नेता भइसकेका थिएन।  त्यतिबेला उनको गुनासो थियो, ‘प्रधानमन्त्री माधव बन्ने, बन्दोबस्त र ब्यबस्था मैले मिलाउनुपर्ने। ’ अहिले त्यस्तै भएको छ।  प्रम ओलीले कामरेड वामदेव गौतमको टेक केयर गर्न उनलाई चुनाव लडाउँदैछन् काठमाडौको क्षेत्र नम्वर सातबाट।  वामदेव बालुवाटार छिरेपछि उनले त्यहाँ धेरै विषयमा सन्तुलन मिलाउने छन् माधवको पालामा स्वयं केपीले मिलाएको जस्तो।  प्रम ओलीको पहिलो आवश्यकता प्रचण्डलाई सन्तुलन मिलाएर राम्रो आसनमा राख्नु छ।  ओली र प्रचण्डको सहमतिमा पार्टी एकता भएपछि दुवै पार्टीका कार्यकर्ताहरुको मान–सम्मान यथोचित बढाउनु छ। खेलका अरु नियम त छँदैछन्। 

वर्तमान सरकार किन रमाएको छ ? यसका कारणहरु खुलस्त छैनन।  प्रम ओलीले उखान टुक्कामा टेकेर चलाएको शासन अपराधी र भ्रष्टाचारीहरुका लागि सुखद रहेको छ।  अर्थमन्त्री युवराज खतिवडाको हातबाट अर्थतन्त्र उम्किइसकेको छ।  बैंकहरुको चर्को ब्याजदरले व्यवसायीहरु निसास्सिएका छन्।  महंगीले सामान्य नेपालीको चुल्होमा आगो बाल्न अत्यन्त कठिन अवस्था सिर्जना गरेको छ। सरकार धनीवर्गको हितमा केन्द्रित छ।  नियमका नाउँमा बैंकहरु सरकारको निर्देशनले बाँधिएका छन्।  खुला अर्थतन्त्रको नाममा नहुनुपर्ने कुरा भएका छन्।  भुईंचालोले भत्काएका सम्पदाहरुको पुनःनिर्माणमा ठूलो हेलचेक्य्राईं र भ्रष्टाचार भएको छ।  धरहरा, रानीपोखरी, दरवार स्क्वायर, विभिन्न मठ तथा मन्दिरहरुको पुनःनिर्माणमा सरकारले देखाएको उदासीनता डरलाग्दो छ। अब यो प्रष्ट भै सकेको छ प्रम ओलीको सरकार भरोसायोग्य छैन।

सरकार राजनीतिक पूर्वाग्रहमा चुर्लुम्म डुबेको छ। प्रतिपक्षी पार्टीहरुप्रति देखाउनु पर्ने सामान्य सदभावसम्म पनि देखाएको छैन सरकारले।  सामाजिक सञ्जाल र च्याउ उम्रिएसरी उम्रिएका अनलाइन पत्रिकाद्वारा विरोधीहरुको मानमर्दन गर्ने काम सरकारकै इशारामा भै रहेको कुरा जो कोहीलाई पनि थाहा छ।  सरकारी क्षेत्रका विज्ञापन सरकारी क्षेत्रका संचार माध्यमहरुलाई मात्र उपलव्ध गराउने परिपत्र गरेर सरकारले निजी क्षेत्रका संचार माध्यमहरुलाई तर्साउन खोजेको छ।  सरकारका संचारमन्त्री नै पूर्वाग्रही भएकाले सरकारको एकाधिकारवादी उद्देश्यको पोल त्यसबाट खुल्दछ।

यो त शासन प्रणालीमा देखिएका उपद्रवहरु भए। व्यवस्थागत कुशासनहरुमा पनि प्रम ओलीको सरकार पहिलो नम्वरमा नै पर्दछ।  संघीयता विरोधी भनेर स्पष्ट चिनिएको वर्तमान सरकारले प्रादेशिक प्रशासनको खाकासम्म तयार पार्न सकेको छैन।  मुख्यमन्त्री छन्, काम छैन।  नारा लगाइयो ‘घरघरमा सिंहदरवार’। अहिले स्थानीय तहको बिजोग भएको छ।  प्रादेशिक प्रशासनसँग समन्वय नगरी स्थानीय निकायहरु स्वतन्त्र रुपमा कसरी चल्न सक्दछन्? विचारणीय प्रश्न छ यो।  केन्द्रमा रहेका मन्त्री र कर्मचारीहरुले प्रादेशिक प्रशासनको धज्जी उडाएका छन्।  केन्द्रीकृत व्यवस्थाको संरक्षणमा हुर्किएको काठमाडौंको ठालुतन्त्रले संघीय व्यवस्थालाई आत्मसात गर्छ भन्ने विचार नै गलत थियो।  देश त्यही विचारको कुचक्रमा फँसेको छ।

यतिबेला ओली नेतृत्वको सरकारको निर्गम कसैले चाहेको छैन। शासनबाट एउटा ओलीको निर्गमले खुशी हुनुपर्ने आवश्यकता अलिकति छैन।  किनभने अहिलेको राजनीतिक यथार्थ यही हो : एउटा ओली गएर आउने अर्को ओली नै हो।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नाममा जम्मा भएको दुइतिहाई भोटले ब्यक्तिको विकल्प दिन सक्दछ।  प्रधानमन्त्री पदमा त्यो भोटले जसलाई चुन्दछ त्यही प्रधानमन्त्री हुन्छ।  तर, त्यस्तो विकल्पको कुनै अर्थ छैन।  ओली पदबाट हटेपनि राजनीतिको शैली हट्दैन।  किनभने, यो सत्ता कम्युनिष्ट चरित्रको छ।

निश्चय पनि, सरकार चलाउने पार्टी विग्रहमा छ।  यो पार्टीका केपी ओली, प्रचण्ड, माधव नेपाल, नारायणकाजी, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरुमा आपसी वैमनस्यता चर्को छ।  यो पार्टीको चरित्र भारतीय कम्युनिष्ट पार्टीको चरित्रसँग मिल्दोजुल्दो छ।  भाकपा (मार्क्सवादी) र भाकपा आपसी कटुताले डुबेका थिए।  त्यस्तै कटुताले नेकपालाई पनि गहिरो जंघारमा लगेर गाड्यो भने अचम्म मान्नु नपर्ला।  पार्टीमा यो अवस्था आउन नदिन नेताहरुले कुनै चमत्कार गर्ने आशा कसैले गरेको छैन।

सम्भवतः पार्टीभित्रको वैमनस्यता समाप्तगर्न नेतृत्वले वामदेव गौतमलाई संसदमा भित्र्याउने खेल शुरु गरेको छ।  तर, वामदेव स्वयं नै पार्टी सुदृढीकरणका लागि केही गर्नसक्ने अवस्थामा देखिँदैनन्।  काठमाडौँको सात नम्बर क्षेत्रबाट उनको विजय सरकारले भोटको बाकस आफनो कब्जामा नलिएसम्म सुनिश्चित हुनेवाला छैन।  काठमाडौंमा वामदेवले चुनाव जित्न कि त ‘लहर’ आउनु पर्दछ कि त ‘कहर’ आउनु पर्दछ। यो उपचुनाव प्रतिष्ठाको विषय भएकोले कांग्रेसले पनि यसलाई गम्भीरता साथ लिनेछ।  प्रम ओली शासनको प्रहारको पहिलो विन्दू काठमाडौँ भएकोले पनि यहाँका मतदाताले गौतमलाई चुन्ने कुरा संदिग्ध नै देखिएको छ।



काठमाडौंमा वामदेवले चुनाव जित्न कि ‘लहर’ आउनु पर्छ कि ‘कहर’ को लागी २ प्रतिक्रिया(हरु)

muskan [ 2018-10-10 23:47:13 ]
kishwor sir,battisputalima basera balaju,naya bazar,gooldhunga ko kura thaha hundaina hai.tyo baam bumi ho, kyal rahowosh.thank you.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


muskan [ 2018-10-10 20:47:42 ]
kishwor sir,battisputalima basera balaju,naya bazar,gooldhunga ko kura thaha hundaina hai.tyo baam bumi ho, kyal rahowosh.thank you.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट