PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वामदेव गौतमलाई काठमाडौं ७ बाट जसरी नि जिताएर पठाउँछु : रामवीर मानन्धर



विधुर ढकाल

वामदेव गौतमलाई काठमाडौं ७ बाट जसरी नि जिताएर पठाउँछु : रामवीर मानन्धर

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का सांसद रामवीर मानन्धरले पार्टीका नेता वामदेव गौतमले आफ्नो क्षेत्रबाट निर्वाचन जित्ने दाबी गरेका छन्।

आज विजुलीबजारस्थित संवाद चौतारीमा पत्रकार सम्मेलन गरी सांसद मानन्धरले गौतमका लागि आफैले प्रस्ताव गरी ठाउँ छाड्न लागेको र गौतम निर्वाचित हुने दाबी गरेका हुन्।

'वामदेव गौतमले पार्टी एकतामा पुर्‍याएको योगदानको सम्मान गर्दै मैले आफ्नो ठाउँ छाडेको हुँ, उहाँले जसरी पनि जित्नुहुन्छ,' सांसद मानन्धरले भने, 'पार्टीका स्थानीय तह बलिया छन्। हामी जसरी पनि उहाँलाई जिताएर पठाउँछु।'

मानन्धरले आफ्नो राजीनामा स्वीकृत गरियोस भनी सोमबार नै नेकपाका अध्यक्ष प्रचण्ड र नेता गौतमलाई बुझाइसकेको जानकारी दिए। उनले भने, मैले हिजै नेताद्वयलाई भेटेर राजीनामा स्विकार गरियोस् भनेर पत्र बुझाएको छु। भोलि बस्ने सचिवालय वैठकले मेरो प्रस्ताव स्विकार गरेमा सभामुखसमक्ष राजीनामा दिनेछु।'

यसअघि डोल्पादेखि दैलेखसम्म पुगेर चुनाव लड्ने रहर गरेका वामदेवलाई त्यहाँका सांसद र जनताले पत्यानन्। त्यसैकारण पार्टीमा पुर्‍याएको योगदानको मुल्याङकन गर्दै आफूले ठाउँ खाली गरेकोसमेत मानन्धरले बताए।

सांसद पद छाड्न दबाव आएको भन्ने सम्बन्धमा मानन्धरले कसैको दबाव नरहेको स्पष्ट पारे।

क्षेत्र नं ७ का जनतालाई विकास चाहिएको भन्दै उनले त्यसका लागि आफू राजीनामा दिन तयार रहेको उनले दाबी गरे। 'यो मेरा मतदाताको अपमानको कुरा होइन, उहाँहरुको सम्मान गर्दै यसका लागि तयार भएको हुँ,' गौतमको जित्ने आधारको विषयमा गरिएको प्रश्नमा उनले अगाडि भने, 'यस क्षेत्रका अधिकांश जनता पार्टी प्रक्रियामा जोडिएका छन्। उहाँहरुले जिताएर पठाउनुहुन्छ।'

उपप्रधान मन्त्रीसम्म बन्न सक्छु


यसैबीच सांसद मानन्धरले आफू उपप्रधान मन्त्रीसम्म बन्न सक्ने सम्भावना रहेको बताएका छन्। 'पार्टीले मलाई वडा सदस्यदेखि दुई पटकसम्म सांसद बनायो। मैले पार्टी एकताको सम्मानका लागि प्रस्ताव गरेको हुँ,' पत्रकार सम्मेलनमा उनले भने 'कसैको दबाब होइन मेरै प्रस्ताव हो। मैले नै पार्टीको एउटा अध्यक्षको हातमा राजीनामा स्वीकृत गर्न पत्र बुझाएको हुँ।'

उनले पार्टीले चाहे आफू उपप्रधान मन्त्रीसम्म बन्न सक्ने दाबी गरे। 'हिजो पनि पार्टीले मलाइ सांसदसम्म बनाएको हो,' राजीनामापछि राष्ट्रियसभामा लाने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, 'पार्टीले चाह्यो भने प्रधानमन्त्री त भन्न सक्दिनँ, मन्त्री - उपप्रधान मन्त्रीसम्म बन्न सक्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell