PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


वन संरक्षणका अभियन्ता नै भन्छन्- रुख काटिए पनि निजगढ विश्वकै सबैभन्दा वातावरणमैत्री विमानस्थल बन्छ


पहिलोपोस्ट

वन संरक्षणका अभियन्ता नै भन्छन्- रुख काटिए पनि निजगढ विश्वकै सबैभन्दा वातावरणमैत्री विमानस्थल बन्छ

घनश्याम पाण्डे वन तथा जैविक विविधता  संरक्षणका क्षेत्रमा चर्चित नाम हो। तुलसीपुर उपमहानगरपालिकाका मेयरसमेत रहेका पाण्डेको संरक्षण क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनिसकेको छ। सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसमेत रहिसकेका पाण्डे अहिले पनि जैविक विविधता र वन संरक्षणको अभियानमा जुझारु रुपमा सक्रिय छन्। उनले नेतृत्व गरेको उपमहानगरपालिकामा बिरुवा वितरण र वृक्षरोपणलाई तीब्र बनाएका छन्। जनप्रतिनिधिका रुपमा दाङको तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व हाँकिरहेको भए पनि वातावरण संरक्षणमा देशकै नेतृत्व गरिरहेका हुन्छन् पाण्डे। जनताको आवश्यकता र वातावरण संरक्षण दुवैसँग जानकार तथा जैविक विविधताको पक्षमा वकालत गर्दै आएका उनीसँग बाराको निजगढ विमानस्थलमा हुने रुख कटानी तथा विकासका मुद्दामा वसन्तराज उप्रेतीले गरेको कुराकानीको अंश : 
 
यतिखेर निजगढ विमानस्थल निर्माण गर्दा रुख काट्ने विषय चर्चामा छ। तपाईँ  वनजंगल संरक्षण अभियानमा विगत लामो समयदेखि सक्रिय हुनुहुन्छ। तपाईँको नजरमा निजगढमा विनास हुँदैछ कि विकास?

नेपालको सन्दर्भमा वन र विकास भन्ने विषय राजनीति र अर्थसँग पनि जोडिन्छ।  यसको विशेष अर्थ राजनीति नै छ। नेपालले कूल भूभागको ४० प्रतिशत वन क्षेत्र कायम गर्दा नै अन्तर्राष्ट्रियस्तरमा जैविक विविधता र वन संरक्षणमा ठूलो योगदान पुर्‍याउन सक्छ भनेर देखायो। अहिले दक्षिण एसियामा कूल भूगोलको प्रतिशतका हिसाबमा वनको क्षेत्रफल धेरै हुने देशमा नेपाल पहिलोमा पर्छ। बंगलादेशको भूगोलमा जम्मा चार प्रतिशतमात्र वन क्षेत्र छ। दक्षिण एसियाका बाँकी देशको जंगल पनि बंगलादेशकै हाराहारीमा छ।

वनलाई हामीले जैविक विविधताका आधारमा महत्वपूर्ण क्षेत्र (हटस्पट) का रुपमा संरक्षण गर्नुपर्छ। हात्ती, बाघ लगायत जनावरका लागि राज्यले ठाउँ पहिचान गर्छ र हटस्पट ठम्याउँछ, त्यसको संरक्षण गर्छ। जुन ठाउँमा विमानस्थल बनाउने भनिएको छ त्यो जैविक विविधताको हिसाबले हटस्पट होइन। त्यहाँको २५ सय हेक्टर वन व्यवस्थापन गरेर विमानस्थल बनाउँदा राष्ट्रियस्तरमा त्यसले केही असर गर्दैन। 

यही ठाउँमा वन मास्दा हात्ती हिँड्ने बाटो र बाघको बासस्थान सकिने कुरा उठेको छ त? 
तपाईँले बुझ्नुपर्ने कुरा के हो भने, जुन ठाउँमा बाघ र हात्ती रहने भयो त्यसलाई त सरकारले सुरुमै हटस्पटका रुपमा पहिचान गरेको छ। त्यस्ता ठाउँलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिसकेको छ। हटस्पट हो भन्ने पहिचान हुँदा निकुञ्ज विस्तार पनि गरेको छ। आरक्षणहरु विस्तार भएको छ। 

विमानस्थल नेपालको राष्ट्रिय गौरव योजनाको हिसाबले महत्वपूर्ण भएको र विमानस्थल बन्ने ठाउँ जैविक विविधताको हिसाबले पनि हटस्पटको रुपमा नरहेकाले तथा पहिले नै वन क्षेत्र एक किसिमले विनाश भएको ठाउँ रहेकाले यसमा विवाद गर्नु नै आवश्यक छैन। 
 

***
अहिले जसले वनको जैविक विविधता सकिँदैछ भनेर बोल्नुभएको छ, म उहाँहरुलाई प्रश्न गर्न चाहन्छु - तराईमा वैज्ञानिक वन व्यवस्थापनको नाममा कति जैविक विविधता नाश भएको छ? वहाँहरुले हेर्नुभएको छ देशका अरु ठाउँमा कति रुख काटिएका छन्?  आज निजगढको २५ सय हेक्टरमा रुख काटिन लाग्दा यस्तो हल्ला छ। संरक्षण नहुँदा मेचीदेखि महाकालीसम्म हेर्ने हो भने कति विनाश भएको छ? त्यतातिर ध्यान दिनु पर्दैन? संरक्षण गर्नुपर्दैन?
***

यो जंगल जैविक विविधता र जनावर संरक्षणका हिसाबले हटस्पट नै होइन कसरी भन्न  मिल्छ? आधार छन् त्यसका?
छन्। अहिले जहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरा आएको छ, त्यो त्यही ठाउँ हो जहाँ २०५४ सालमा तत्कालीन सरकारले 'अपरेसनल फरेस्ट मेनेज्मेन्ट प्लान' लागू गर्न खोजेको थियो। त्यो क्षेत्र फिनल्याण्डको इन्सो कम्पनीलाई दिने तयारी गरेको थियो, कटानीका लागि। अहिले एयरपोर्ट निर्माण गर्न लागिएको ठाउँसँगै बारा, पर्सा, रौतहतको वनमा यो प्लान लागू गर्न खोजिएको थियो। त्यतिखेर नेपालमा वन क्षेत्र धेरै खराब अवस्थामा थियो। त्यसैले रुख कटान गर्ने त्यो योजनाको हामीले विरोध गर्‍यौँ। त्यतिमात्र होइन तराईमा पनि सामुदायिक वन विस्तार गरिनुपर्छ भनेर अभियान थाल्यौं। त्यसको असर हो, वन क्षेत्र करिब पाँच लाख हेक्टर थप विस्तार भएको। दुई वर्ष अगाडि नेपाल सरकारको अध्ययनले नै यो पुष्टि गरेको छ।  साविकको वन क्षेत्रभन्दा पाँच लाख हेक्टर वन क्षेत्र सामुदायिक वनबाट विस्तार भएको हो। 

संरक्षणमा नै लागिरहनुभएको व्यक्ति भएकाले पनि हामीले तपाईँसँग सोधेका हौं - वन फँडानी गरेर विमानस्थल बनाउँदा केही असर हुन्न त?
फँडानी हुने भन्ने होइन, यसलाई व्यवस्थापन भनेर बुझ्नुपर्छ तपाईँहरुले। विस्तारित भएको वनको पनि विमानस्थलले लिने साह्रै सानो अंश हो। तर, यसमा नेपाल सरकारले केही कुरा प्रस्ट पार्नुपर्छ। २५ सय हेक्टर वन मासिँदैछ भने १० हजार हेक्टर वन बढाउने कार्यक्रम अघि सार्नुपर्छ। नेपालमा मानव बस्ती रहन नसक्ने धेरै भूभाग छन् जहाँ वन विस्तार गर्न सकिन्छ। त्यतातिर निजगढमा मासिएको वन क्षेत्रको चौगुना बढी वन विस्तार गर्नुपर्छ सरकारले। यो सम्भव पनि छ। आजभन्दा २० वर्ष अगाडि जुन अवस्थामा वन थियो, त्यो आज सुधारिएर पाँच लाख हेक्टर विस्तार भएको छ सामुदायिक वनका कारण। अनि सरकारले सकेसम्म कम क्षतिमा विमानस्थल बनाउनुपर्छ।

कम क्षतिमा एयरपोर्ट निर्माण गर्नुपर्छ त भन्नुभयो। तर, रन वे मात्र एयरपोर्ट हुँदैन भन्ने तर्क पनि गरिएको छ नि? 
अहिले पनि भवन आचार संहिताकै प्रयोग गरेर हामीले एयरपोर्ट बनाउन सक्छौँ। जस्तो कि ६६ प्रतिशत वन क्षेत्र राखेर ३३ प्रतिशत वन क्षेत्रमा हामीले संरचना बनाउने हो भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल संसारकै सबैभन्दा ग्रीन विमानस्थल बन्नसक्छ। त्यो बनाउनका लागि हामीले मापदण्ड तयार गर्नुपर्‍यो- रन वेले लिने बाहेक बन्ने संरचना चाहिँ जंगलभित्रकै कम रुख भएको ठाउँमा तयार गर्न सकिन्छ। शहर नै बनाउँदा पनि हरियाली शहर बनाउन सकिन्छ। यो सबैभन्दा वातावरणमैत्री र ग्रिनरी भएको विमानस्थल बन्ने अवस्था छ।

फँडानी हुने भन्ने होइन, यसलाई व्यवस्थापन भनेर बुझ्नुपर्छ तपाईँहरुले। विस्तारित भएको वनको पनि विमानस्थलले लिने साह्रै सानो अंश हो। तर, यसमा नेपाल सरकारले केही कुरा प्रस्ट पार्नुपर्छ। २५ सय हेक्टर वन मासिँदैछ भने १० हजार हेक्टर वन बढाउने कार्यक्रम अघि सार्नुपर्छ। नेपालमा मानव बस्ती रहन नसक्ने धेरै भूभाग छन् जहाँ वन विस्तार गर्न सकिन्छ। त्यतातिर निजगढमा मासिएको वन क्षेत्रको चौगुना बढी वन विस्तार गर्नुपर्छ सरकारले। यो सम्भव पनि छ।
***


रुख काट्ने काम चाहिँ थालिहालौं अनि एयरपोर्ट चाहिँ विस्तारै बन्दै जाला भन्ने कुराले यो आयोजना दोस्रो मेलम्ची बन्न सक्ने पनि जोखिम छ त?
त्यो त अब राज्यले इन्स्योर गर्नुपर्‍यो। मलाई के लाग्छ भने अहिले त्यहाँ जति रुख छन्। त्यो रुखको मूल्य छ खर्बभन्दा बढी रहेको छ। विमानस्थल बनाउन त्यही पैसा सदुपयोग हुनसक्छ।  तर, रुखहरु काट्ने बेला पारदर्शिता अपनाउन आवश्यक छ। त्यहाँका वरीपरी रहेका समुदायहरु विस्थापनमा पनि पर्दैछन्। उनीहरुलाई उचित ढंगले विस्थापन पनि गर्नुपर्छ। उनीहरुको जीविकोपार्जन पनि सुनिश्चित हुनुपर्छ। मलाई लाग्छ राज्यले यसलाई पारदर्शी ढंगले राष्ट्रिय महत्वको विषय र प्राथमिकताका आधारमा बनाउँदा समस्या आउँदैन।

विकास र वातावरणबीचको सम्बन्ध के हो तपाईँको बुझाइमा?
विकास भन्ने बित्तिकै दिगो हुनुपर्छ। त्यो आर्थिक, सामाजिक र वातावरणीय सन्तुलनसहितको हो। हामीले बाघ बढाएर अथवा जैविक विविधता बढाएर जनता सधैं गरीब भयो भने त्यो बचाएको जैविक विविधतासमेत बच्न सक्दैन। जैविक विविधता बाँच्नका लागि पनि आर्थिक सम्वृद्धि र सामाजिक सुरक्षामा सन्तुलन आवश्यक छ। हिजो हामीले जुन हिसाबले नेपालको वन र जैविक विविधता संरक्षणमा भूमिका निभायौं, त्यसले उल्लेखनीय प्रगति भएको छ। अब सँगसँगै बढेको जैविक विविधतालाई जोगाउँदै आर्थिक विकास, सम्वृद्धि र गरीबी निवारणतर्फ लाग्नुपर्छ। सामाजिक रुपमा जंगलसँग जनताको अन्तर्सम्बन्ध रहेको छ। वनलाई एकपक्षीय ढंगले हेर्नुहुँदैन। 

अगाडि नै तपाईँले भन्नुभयो २०५४ सालमा रुख काट्ने निर्णयको विरोध गर्नुभयो। अहिले निजगढ विमानस्थल निर्माण गर्दा रुख काट्ने कुरामा सामुदायिक वन अभियन्ताको भूमिका के हुन्छ? 
सामुदायिक वनका उपभोक्ताले के भन्छन्, त्यहाँका स्थानीयसँग छलफल गरेपछि थाहा हुने कुरा हो। म एउटा सामुदायिक वन अभियानकर्ताको हिसाबले भन्दा, हाम्रो अभियानले नेपालको छ लाख हेक्टरको वन क्षेत्र पहिले नै विस्तार भइसकेको छ। नेपालको जैविक विविधतालाई यसले बढाएको छ जुन हामी देखाउन सक्छौं। बाह्य पर्यटक बढाउने आधार तयार भएको छ। अब त्यो सम्भावनालाई क्यास गर्ने हो भने, पर्यटक ल्याउनुपर्छ। तर उनीहरु पैदल हिँडेर आउँदैनन्, सडकबाट आउँदैनन्। जहाजबाटै आउने हो। पर्यटक आउनका लागि अन्तर्राष्ट्रिय र सुविधायुक्त अन्तर्राष्ट्रिय विमानस्थल नभइकन सम्भव छैन। त्यसैले हामीले गरेको उपलव्धिको रक्षा गर्न, त्यसलाई देखाउन र आय आर्जनका लागि पनि पर्यटन विस्तार आवश्यक छ। त्यसैले यसमा धेरै बहस गरिरहनुपर्ने देखिन्न। तर कुरा त उठिसक्यो। 

यो विषय उठिसकेकाले राज्यले वन क्षेत्र विस्तार गर्नका निम्ति कार्ययोजना ल्याउनुपर्‍यो। र, निजगढलाई संसारको एउटा अन्तर्राष्ट्रिय ग्रीन एयरपोर्टका रुपमा विकास गर्नुपर्‍यो। 

विमानस्थल पर्यटकका लागि मात्र भन्ने सोच पनि साँघुरो भइसक्यो होइन र?          
हो। नेपालमा २०७२ सालको भूकम्पको समयलाई फर्केर हेरौँ न। त्यसबेला उद्दारका लागि विदेशबाट आएका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्नसक्ने अवस्था थिएन। पार्किङकै लागि भारत, बंगलादेश लगायतका मुलुकका विमानस्थलमा पुगे ती जहाज।

राष्ट्रिय सुरक्षाको हिसाबले पनि ठूलो विमानस्थल हाम्रो आवश्यकता हो। भोलि आउनसक्ने विपत व्यवस्थापनका लागि पनि विमानस्थल चाहिन्छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड नभएको दिनै छैन। जहाज होल्ड भएर यात्रुहरु कहिले बंगलादेश त कहिले भारत पुगिरहेका छन्। यसले समयको नोक्सान सँगै आर्थिक नोक्सान पनि भइरहेको छ। एउटा विमानमा प्राविधिक समस्या आयो भने नेपालमा विकल्प छैन। दसौं दिनसम्म पर्यटकले दुःख पाएको अवस्था देखेकै छौं। एउटा उदाहरण नै लिनुस् न- हामीले सामुदायिक वनको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेका थियौँ, नेपालमा। अन्तिम दिन समापन थियो। समापनका दिन टर्किस एयरलाइन्सको जहाज चिप्लिएर धस्सियो। पाँच दिनसम्म यहाँ आएका दुई सय विदेशी अभियन्तालाई पठाउन हामीलाई हम्मेहम्मे पर्‍यो।
 
जसले यसको विरोध गरिरहनुभएको छ नि, उहाँहरुलाई तपाईँले भनेको कुरा थाहा नहोला त?
अहिले जसले वनको जैविक विविधता सकिँदैछ भनेर बोल्नुभएको छ, म उहाँहरुलाई प्रश्न गर्न चाहन्छु - तराईमा वैज्ञानिक वन व्यवस्थापनको नाममा कति जैविक विविधता नाश भएको छ? वहाँहरुले हेर्नुभएको छ देशका अरु ठाउँमा कति रुख काटिएका छन्?

आज निजगढको २५ सय हेक्टरमा रुख काटिन लाग्दा यस्तो हल्ला छ। संरक्षण नहुँदा मेचीदेखि महाकालीसम्म हेर्ने हो भने कति विनाश भएको छ? त्यतातिर ध्यान दिनु पर्दैन? संरक्षण गर्नुपर्दैन?
 
वातावरणकै विषय उठाउँ न त - कतारको प्राकृतिक स्रोत इन्धन हो। सबैलाई थाहा छ त्यो तेल उपयोग गर्नु भनेको भविष्यको निम्ति खतरा निम्त्याउनु हो। भविष्यको निम्ति खतरा हो भन्दै आज कतार भोकभोकै बसेको त छैन नि। हाम्रा निम्ति वन ठूलो स्रोत हो। ४५ प्रतिशत भूभाग यसले ओगटेको छ। त्यो वनलाई हामीले सदुपयोग गर्नुपर्छ र त्यसबाट अधिकतम भन्दा अधिकतम लाभ लिनुपर्छ। त्यो लाभ प्राप्त गर्नका लागि एउटा ढोका भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि हुनसक्छ।
 
तपाईँ वन बचाउने अभियानकर्ता चाहिँ रुख काटेर एयरपोर्ट बनाउनुपर्छ भन्नुहुन्छ। एउटा अर्को समूह छ जो एयरपोर्ट बनाउनका लागि रुख काट्नै पाइँदैन भन्दै हिँडिरहेको छ। केले प्रेरित गर्छ यस्तो बहसका लागि?      
लहैलहैमा लाग्ने प्रचलन छ नेपालमा। वातावरणीय पक्ष अध्ययनले विमानस्थल बनाउँदा ठूलो असर गर्दैन भन्ने कुरा आइसकेको छ। यदि त्यहाँ बाघ अथवा हात्तीलाई क्षति पुग्छ भनियो भने हात्ती हेर्ने हटस्पट चितवन हो या बारा हो? यदि बारा हात्ती र बाघको हटस्पट हो भने किन २० वर्ष अगाडि बाराको जंगल काट्ने प्रस्ताव ल्याइयो सरकारी स्तरबाट? हिजो १२ वर्ष अगाडि बारा हात्ती र बाघको हटस्पट भएन, चितवन भयो। चितवनमा हात्तीका निम्ति राष्ट्रिय निकुञ्ज नै बनाइयो। चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको हटस्पट भएकाले पर्यटक आउन थाले। अब त्यही  हटस्पटको हात्ती हेर्न पर्यटकलाई सबैभन्दा नजिक एयपोर्ट निजगढ नै हुने त हो। 

त्यसबाहेक यो बहस आउनुमा यसको पछाडि भू-राजनीति र अर्थ राजनीति पनि जोडिएको हुनसक्छ। हामी त्यो विषयमा जान हुँदैन। भविष्यमा हामीले जैविक मार्गको वैकल्पिक उपाय निकाल्दै आवश्यक पर्ने उपयुक्त ठाउँमा विमानस्थल र ठूला पूर्वाधार निर्माण गर्दै जानुपर्छ। यदि नेपाल सम्वृद्ध बनाउने हो, नेपाली जनतालाई आत्मनिर्भर बनाउने हो भने यसको विकल्प छैन।   

        
 



वन संरक्षणका अभियन्ता नै भन्छन्- रुख काटिए पनि निजगढ विश्वकै सबैभन्दा वातावरणमैत्री विमानस्थल बन्छ को लागी २ प्रतिक्रिया(हरु)

tulsi [ 2018-10-06 21:25:48 ]
Samudayak avinta ko bichar teti tarkik lageyana kina ki teti bela ofmp banauda sustainable forest mgt garna khojako ho airport banauda ta tree lost all over and it will disturb the movement of wildlife also. So alternate is better to make airport in encroached area by shifting those settlement in better place by govt.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Suzeet [ 2018-10-02 23:14:03 ]
Dear minister ..if u want to develop our country than u better focus on the employment sector and focus on the daily needs of people ... ...
Why are u acting like a monkey who doesnt make own house neither let other to build?
Why are u making our country economically backward again ?
Please tell us frankly how much money will u get from this project

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट