PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उपत्यकाभित्रको सडकमा जोखिम बढ्दो : दुई महिनामै ३७ जनाको अकालमै गयो ज्यान



उपत्यकाभित्रको सडकमा जोखिम बढ्दो : दुई महिनामै ३७ जनाको अकालमै गयो ज्यान

काठमाडौः गत असोज ४ गते भक्तपुरको सूर्यविनायक–९ मा अरनिको राजमार्गमा बनेपा जाँदै गरेको ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दियो। 

दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भयो।  

टिपरको कारण उपत्यकाभित्र दुर्घटना बढेको भन्दै सरकारले गत साउन २७ गतेबाट दिउँसो गुड्न रोक लगायो। गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर चलाउने व्यवस्था मिलाइयो। टिपरबाट दिउँसोको समयमा हुने दुर्घटनामा केही कमी आयो तर दुर्घटना भने कमी भएन।

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्र १ हजार २ सय ८४ वटा दुर्घटना भए। सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन्। दुर्घटनामा परी दुई महिनामा ३७ जनाको मृत्यु भयो। ४२ जना गम्भीर घाइते भएका छन्। १ हजार ३४ जना सामान्य उपचारपछि घर फर्किए।

मादक पदार्थ सेवन गरी सवारी चलाएको कारण ४४ वटा दुर्घटना भएका हुन्। तीव्र गति, सडक अनुसार पालन नगर्दा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्त बताउँछन्। एसएसपी पन्त भन्छन्,' दुर्घटनाको मुख्य कारण मापसे, तीव्र गति, चालकको लापरबाही नै मुख्य कारण छन्। न्युनीकरणको लागि ट्राफिक प्रहरीले विभिन्न व्यवस्था लागु गरिरहेको छ।'

महाशाखाका अनुसार आर्थिक वर्ष २०७३/७४ मा उपत्यकामा ५ हजार ५ सय  ३० वटा सवारी दुर्घटना भयो भने १ सय ८२ जनाको मृत्यु भयो। २ सय १ जना गम्भीर घाइते भए। मापसेका कारण १ सय ६७ वटा दुर्घटना भएको देखियो। २०७४/७५ मा पनि दुर्घटना ६ हजार ३ सय ८१ सवारी दुर्घटना भयो । त्यसमा  १ सय ९४ जनाले अकालमै मृत्यु भयो। २ सय २१ वटा दुर्घटना मापसेकै कारण भएको एसएसपी पन्त बताउँछन्। 

१० वर्षको अवधिमा उपत्यकाभित्र मात्र झन्डै २ हजार भन्दा बढीको सवारी दुर्घटनामा ज्यान गइसकेको छ। महानगरीय ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०६२/६३ मा उपत्यकामा १ हजार ९ सय  ८९ वटा सवारी दुर्घटना भयो भने ८३ जनाको ज्यान गयो। २०७२/७३ मा ५ हजार ५ सय ५६ सवारी दुर्घटना भयो। त्यसमा  १ सय ६६ जनाले ज्यान गुमाए।

१० वर्षको बिचमा सबैभन्दा बढी आर्थिक वर्ष २०६७/८७ सालमा दुर्घटनाका कारण ज्यान गयो। सो वर्ष १ सय ७१ जनाले ज्यान गुमाएका थिए। यो वर्ष उपत्यकाभित्र ४९ सय ४१ वटा साना ठुला सवारी साधन दुर्घटनामा परेका थिए। चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ६४ जनाले दुर्घनाका कारण ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell