PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इन्द्रजात्राको अन्तिम दिन : महिलाले ताने रथ, राष्ट्रपतिले चढाइन् कुमारीलाई सुपारी र टेकुमा सेलाइयो यःसिं



पहिलोपोस्ट

इन्द्रजात्राको अन्तिम दिन : महिलाले ताने रथ, राष्ट्रपतिले चढाइन् कुमारीलाई सुपारी र टेकुमा सेलाइयो यःसिं

  • सहयोग रञ्जित
काठमाडौं: नालाको चित्तपोलबाट ल्याई द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको य:सिं ढालिएसँगै यसवर्षको येँया: अर्थात् इन्द्रजात्रा सम्पन्न भएको छ।


शुक्रबार राति १० बजेर २७ मिनेटको शुभ साइटमा य:सिं ढालिएको थियो। त्यसपछि य:सिंलार्इ विधिवत रुपमा पूजा गरी तानेर मरु,अट्कोनारायण, चिंकमुगल, मजिपात,जैसीदेवल, हुँदै टेकु दोभान स्थित विष्णुमति खोलामा लगेर छोडिएको थियो।

य:सिंलार्इ टेकु दोभान लगेर सेलाउने पहिलादेखि कै प्रचलन रहेको केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्रमान मानन्धरले बताए। उनले भने 'पहिला पहिला दोभानमा धेरै जोगीबाबाहरु हुन्थे। त्यहाँ छोडिएको य:सिं उनीहरुले प्रयोग गर्थे। आजकल बाबाहरु देखिँदैनन्। त्यसैले अरुहरुले नै काठ लिने गरेका छन्।'

यसअघि आज नानिचा:या अर्थात् बीचको टोलमा जीवित देवी कुमारीसँगै जीवित कुमार देवताहरु गणेश र  भैरवको रथयात्रा गरिएको थियो। शुक्रवार महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गरेका थिए। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभएपनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको हो। 

कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि कुमारी घर पुगेर रथ यात्रा समापन भएको थियो। किलागल स्थित पुलुकिसि राखिने मन्दिरमा र इन्द्रचोकस्थित आकाश भैरवको मन्दिर परिसरमा कुमारी, गणेश र भैरवको विशेष पूजा गरिएको थियो।
 
रथयात्रा समापनपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमारी घर गई श्री कुमारी, श्री गणेश र श्री भैरवको दर्शन गर्नाका साथै प्रसाद ग्रहण गरिन्।
 
सो अवसरमा राष्ट्रपतिले कुमारीलाई वस्त्र, आभूषण र सुपारी पनि चढाएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले बताए।

शुक्रवारबाटै मजिपा:लाखे, पुलुकिसि, सव:भक्कु, देवी लगायतका नाच पनि समापन भएको छ। वर्षौदेखि कुमारी घर अघि देखाइँदै आएको दशअवतार नाच भने आर्थिक र व्यवस्थापकीय कमजोरीका कारण केही दिन प्रदर्शन गरिएन। 





कसरी ल्याइएको थियो य:सिं ?

इन्द्रजात्रा सुरु हुने दिन हनुमानढोकामा गाडिने य:सिंको लागि रुख काट्न  केन्द्रीय मानन्धर संघका सदस्यहरु शिवरात्रीपछि नालास्थित जंगलमा गएर रुख छनौट गर्ने गर्दछन्। पहिला राजपुरोहितसँग गएर विशेष पूजा पश्चात रुख छनौट गर्ने गरिन्थ्यो। हाल भने गुरुजुको पल्टनका पुजारीसँग गई रुख छनौट गर्ने गरेको मानन्धरले बताए।

गजेन्द्रले रुख काट्ने विषयमा रहेको भ्रमका बारेमा चिन्ता व्यक्त गर्दै भने, 'बोकाले छानेको रुख काटेर ल्याउने कुरा गलत हो। पहिला त्यस्तो गरिन्थ्यो होला तर अहिले हामी आफै जान्छौं, पूजा गर्छौं। कम्तिमा ३५ हात लामो, ४ हात चौडाइ भएको मोटो रुख छनौट गर्ने गरेका छौं।'

त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले निश्चित गरेको साइतमा नालामा गई रुख काटिन्छ र तानेर भक्तपुरको राधेराधेसम्म ल्याइन्छ। त्यसपछि चौथीको दिन रुखलार्इ भोटाहिटी ल्याई द्वादशीका दिन वसन्तपुरस्थित हनुमानढोका ठ्डयाइएसँगै इन्द्रजात्रा सुरु गर्ने परम्परा रहेको छ।
 
अर्को वर्ष रुख छान्न जाने क्रममा होम गरी पुजा गर्न यसपालि ठ्डयाइएको य:सिंको काठ प्रयोग गरिने सचिव मानन्धरले बताए।

उनले भने 'रुख लिन जाँदा पहिला वर्ष ठ्डयाइएको य:सिं कै काठ प्रयोग गरिने प्रचलन छ। य:सिं ढालेर सेलाए पनि अर्को वर्षका लागि हामीसँग त्यसको काठ सुरक्षित छ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell