PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश सातको नाम ‘सुदुरपश्चिम’ र राजधानी ‘गोदावरी’ दुईतिहाइले पारित, विपक्षी दलद्वारा मतदान बहिस्कार



एम बम

प्रदेश सातको नाम ‘सुदुरपश्चिम’ र राजधानी ‘गोदावरी’ दुईतिहाइले पारित, विपक्षी दलद्वारा मतदान बहिस्कार

कैलालीः प्रदेश नम्बर सातको राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने संसदीय समितीको प्रस्ताव दुईतिहाई मतले पारित भएको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष सुझाव समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव प्रदेशसभा सदस्य वीरमान चौधरी र शान्ति नेपालीको समर्थनमा दुईतिहाईले स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे।

पारित भएको प्रतिवदेन अनुसार सात नम्बर प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिका वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको व्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो।

उक्त प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरिएपछि ३८ जना प्रदेश सभा सदस्यहरुले पक्षमा मत दिएका थिए। तर, प्रतिपक्ष दल कांग्रेस र राजपाले भने मतदानमा भाग लिएनन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी १४ जना प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरी बाहिरिएका हुन्। राजधानी अनुपयुक्त स्थानमा भएको भन्दै उनीहरूले विरोध जनाउँदै बहिष्कार गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell