PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डाक्टरहरुको माग कसरी भयो पूरा? आन्दोलनको बल कि हाइप्रोफाइल व्यापारीको नेक्सस?



सागर बुढाथोकी

डाक्टरहरुको माग कसरी भयो पूरा? आन्दोलनको बल कि हाइप्रोफाइल व्यापारीको नेक्सस?

काठमाडौं : आन्दोलनरत चिकित्सकको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन नगरेको भए यतिबेला सेता कोटधारी डाक्टरहरु आन्दोलनका लागि सडकमा हुन्थे। उनीहरुको हातमा ब्यानर र पम्प्लेट हुन्थ्यो। अस्पताल बन्द, बिरामी मर्कामा पर्थे। तर,  एकाएक उनीहरुको माग पूरा भयो।

डाक्टरहरुको माग अनुसार नै मुलुकी अपराध संहिता संशोधन प्रकियामा अगाडि बढ्यो। डाक्टरहरु ढुक्क भएर काम गर्न थाले।

तर, मुलुकी अपराध संहिता ऐन त्यतिकै संशोधन प्रकियामा गएको होइन। यसमा डाक्टरहरुको दौडधुप र आन्दोलनको कथा छुट्टै छ।

नेपाल चिकित्सक संघबाट कानुन संशोधन गर्न पटक पटक १५ दिनको 'अल्टिमेटम' पाएको सरकार चुप बस्यो।  डाक्टरहरु पनि आन्दोलन सुरु गर्दै अनि स्थगित गर्दै गए। सरकारले डाक्टरहरुलाई 'माछोमाछो भ्यागुतो…' बनाइरह्यो। पटक पटक झुक्याएपछि डाक्टरहरु 'कन्भिन्स' हुन सकेनन्। उनीहरुले उपचार नगर्ने भन्दै फेरि आन्दोलन सुरु गरे। 

त्यो आन्दोलन ५ बुँदे सहमतिमा गएर टुंगियो। त्यसको २० दिनपछि डाक्टरहरुले भनेबमोजिम मुलुकी अपराध संहिता संशोधन  प्रकियामा गएको छ। 'आन्दोलनले गर्दा अपराध संहिता संशोधन  प्रकियामा गयो' भन्ने सन्देश गएको छ।

'यथार्थ यतिमात्र हो त?'

नेपाल चिकित्सक संघका महासचिव डाक्टर लोचन कार्की  कानुन संशोधन हुनुको 'फ्याक्टर' आन्दोलनलाई मात्र मान्दैनन्। आन्दोलनले दबाब दिए पनि सरकार  डाक्टरहरुको मागमा 'पोजेटिभ' भएकाले कानुन संशोधन भएको उनको तर्क छ। सरकार पोजेटिभ नभएको भए आन्दोलनले माग पूरा नहुने सुनाउँछन्, उनी।

सरकार सजिलै माग पूरा गर्ने पक्षमा थिएन। डाक्टरहरुले सडकमा आन्दोलन चर्काइरहँदा समेत सरकारको मुड चेन्ज भएको थिएन। डाक्टरहरुले भने अनुसार माग पूरा गर्न नसक्ने चेतावनीसहितको अभिव्यक्ति कानुन र स्वास्थ्य मन्त्रालयबाट आइरहेको थियो। 

तर, सरकारले एकाएक आफ्नो सोच बदल्यो र चिकित्सकहरुसँग सम्झौता गर्यो।

'किन त?'

महासचिव कार्कीका अनुसार आन्दोलनको कारण सरकारको दबाब बढ्दै गएको थियो। यता चिकित्सकहरुको टोलीले कानुन मन्त्री, स्वास्थ्य मन्त्री, पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' र नेकपाका उपनेता सुवास नेम्वाङलाई बारम्बार भेट गरिरहेका थिए। उनीहरुलाई भेट्दै आफ्ना मागहरुको बारेमा 'ब्रिफिङ' गरिरहेका थिए।

सरकारले यूटर्न लिनुको 'फ्याक्टर'  चिकित्सकहरुको 'ब्रिफिङ' ठान्छन कार्की। चिकित्सकहरुको ब्रिफिङको कारण नेताहरुको धारणा परिवर्तन भएको उनको तर्क छ। भन्छन्, 'डाक्टरहरुको मागप्रति उहाँहरुलाई कसैले गलत ब्रिफिङ गरेको थियो। हामीले त्यो कुरा सम्झाएपछि कुरा बुझ्नुभयो।'

नेपाल चिकित्सक संघका अर्का एक सदस्य भने डाक्टर कार्कीको कुरामा असहमति जनाउँछन्। उनी डाक्टरहरुको ब्रिफिङ र आन्दोलनको कारणले मुलुकी अपराध संहिता संशोधन प्रकियामा नगएको दावी गर्छन्। 'हामीले नेता तथा मन्त्रीहरुलाई पटक पटक भेट्यौं। महान्यायाधीवक्तालाई पनि भेट्यौँ, '  उनले भने, 'हामीले पटकपटक भेट्दा पनि उहाँहरु सकरात्मक देखिनु भएन। अहिले संशोधन प्रकियामा जानुको 'फ्याक्टर' अर्कै छ।'

'के हो त्यो फ्याक्टर?'

उनी भन्छन्,  'सुवास नेम्वाङ र उपेन्द्र महतोको सम्बन्धको फ्याक्टर।'

महतो मेडसिटी अस्पतालको सञ्चालक हुन्। सुवास नेम्वाङ र महतोको भेट भएपछि मात्र डाक्टरहरुको माग बमोजिम अपराध संहिता संशोधनको प्रकियामा गएको दाबी गर्छन उनी। महतोले नेम्वाङलाई नभेटेको भए डाक्टरहरुले भनेबमोजिम  मुलुकी अपराध संहिता ऐन संशोधन नहुने तर्क छ उनको। भन्छन्, 'जे भयो अन्तिम समयमा महतो र नेम्वाङको भेटले भयो।' 

डाक्टरहरुले सुवास नेम्वाङलाई यसअघि पनि पटक पटक नभेटेका हैनन्। माग पूरा गराउने अन्तिम अस्त्रको रुपमा भेट गरे पनि नेम्वाङ 'कन्भिन्स' भएका थिएनन्। तर, यसपटक महतो आफैँ भेट्न पुगेपछि उनी 'कन्भिन्स' भएका  हुन। 'महतो भेट्न पुगेपछिमात्रै काम बन्नु र हामीलाई केही 'रेस्पोन्स' नगर्नुको अर्थ सम्बन्ध नै त हो,' उनले भने।

सम्बन्धको बाटो पछ्याउँदै यसअघि पनि चिकित्सकको टोलीसँगै नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरी प्रचण्डलाई भेट्न पुगेका थिए। प्रचण्डले चिकित्सकको टोलीलाई, 'यस्तो ऐन ल्याउनुपर्ने अवस्था कस्ले गर्दा आयो?' भनेर सोधे। प्रचण्डले डाक्टरहरुको मागमा व्याक्तिगत रुपमा कन्भिन्स भए पनि तत्कालै केही गर्न नसक्ने बताएका थिए। प्रचण्डको त्यो जवाफले उनीहरु निराश भएर फर्किएका थिए।

त्यसैले चिकित्सकहरुले महतो र नेम्वाङको सम्बन्ध प्रयोग गरेका हुन्।

महतोले एक साताअघि राष्ट्रियसभाका अध्यक्ष, कानून मन्त्रीका साथै नेकपाका संसदीय दलका उपनेता नेम्वाङलाई भेटेका हुन्। सुवास नेम्वाङसँग डाक्टर महतोको राम्रो सम्बन्ध छ। प्रचण्ड जसरी नेम्वाङ नबिच्किने देखेर  महतो नेम्वाङकहाँ पुगेका हुन्।

त्यो भेटमा कानुनले गर्दा डाक्टरहरुले देश नै छाड्न सक्ने तर्क नेम्वाङलाई सुनाएका थिए उनले। नेम्वाङसँग चिकित्सकले निर्भिकतापूर्वक काम गर्न पाउने अवस्था निर्माण गर्न मागसमेत गरेका थिए।

कुराकानी अन्तिममा नेम्वाङले महतोलाई, 'म कोसिस गर्छु' भन्दै बिदा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell