PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राष्ट्रसंघमा ट्रम्पको सम्बोधन, इरानमाथि आर्थिक प्रतिबन्ध उचित रहेको तर्क: विश्वमा आज



 राष्ट्रसंघमा ट्रम्पको सम्बोधन, इरानमाथि आर्थिक प्रतिबन्ध उचित रहेको तर्क: विश्वमा आज


राष्ट्रसंघमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताएका छन्। 

संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गरे। 

राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउनेगरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन मद्दत गर्नुपर्ने खाँचो रहेको बताए। उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाब सिर्जना गर्नुको विकल्प नरहेको बताए। 

उत्तर कोरियासँग आणविक निःशस्त्रीकरणका बारेमा वार्ताहरु अघि बढेको र चाँडै अर्को शिखर बैठकको आयोजना हुने जानकारी दिँदै राष्ट्रपति ट्रम्पले निःशस्त्रीकरणका कार्यहरु पूरा भएपछि आर्थिक प्रतिबन्धहरु फुकुवा हुने स्पष्ट गरे। 

ट्रम्पले कुनै समय दक्षिण अमेरिकाकै धनी राष्ट्र भेनेजुएलाको अव्यवस्था र गलत राजनीतिक प्रणालीका कारण मुलुक लगभग टाट पल्टिएको चर्चा गर्दै अहिले त्यहाँबाट २० लाखभन्दा बढी मानिस अन्य देशमा पलायन हुन बाध्य भएको बताउँदै भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारमाथि थप प्रतिबन्ध लगाउने जानकारी दिए। 

संयुक्तराज्य अमेरिकाले प्रत्येक वर्ष विभिन्न मुलुकका लागि उपलब्ध गराइआएको आर्थिक सहायताको समीक्षा गर्नुपर्ने समय आएको चर्चा गर्दै अमेरिकी सहयोग अमेरिकाकै हितमा समेत नभएकामा दुःख व्यक्त गरे। 

उनले राष्ट्रसंघको कार्यशैलीमाथि समेत प्रश्न गर्दै अमेरिकी हित विपरीत रहेका कारण राष्ट्रसंघीय मानवअधिकार आयोगबाट अमेरिका बाहिरिएको बताए। 

राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रपतिय कार्यकालमा अमेरिकाले अभूतपूर्व प्रगति गरेको, रोजगारी बढेको, व्यापार घाटामा कमी आएको, विदेशमा संचालित कलकारखाना स्वदेश फर्किन थालेको भनाइ राखेर सम्बोधन शुरु गरेका थिए। 

चीनद्वारा विरोध

ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ। अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो। चीनले अमेरिकी कदमप्रति वासिङ्टनको भद्र ध्यानाकर्षण गराएको छ । 

युद्धको त्रास

टर्कीले सिरियाको विद्रोहीको कब्जामा रहेको इड्लीब प्रान्तमा थप सैनिक पठाएको छ। अंकारा र मस्कोबीच इड्लीबमा तत्काल सैन्य कारबाही नगर्ने सहमति भएलगत्तै टर्कीले इड्लीबमा सैनिक तैनाथी बढाएको हो। इड्लीबको दक्षिणमा रहेको साराकिब सहरको मुख्य सडकमा करिब ३५ वटा सैनिक गाडीहरु प्रवेश गरेका थिए । सैनिक सवारीलाई अङ्कारा निकटस्थ नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) समर्थक विद्रोहीले पनि सुरक्षा दिएका थिए। यी विद्रोहीले टर्कीसँगको सिमानाका केही सिरियाली क्षेत्रमा नियन्त्रण गरिरहेका छन् । 

जिहादी पृथकतावादीमाथि आरोप

इरानमा सैन्य परेडमा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले जानकारी दिएको। इरानको दक्षिणपश्चिम शहर आभाजमा एक सैन्य परेडमा यो आक्रमण भएको थियो।खुजेस्तान प्रान्तमा सैन्य परेड भइरहेका स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेत गरी २४ जनाको मृत्यु भएको थियो । 

मोड्रिच फिफा वर्ष खेलाडी

क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जितेका छन्। मोड्रिचले विश्वकपमा गोल्डेन बल जित्नुका साथै गत महिना युरोपेली सर्वोत्कृष्ट खेलाडी घोषित भएको थिए। 

तस्विर: NILE/AP/AFP/REUTERS/GETTY/EPA



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell