PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सातौँ पटकमा बल्ल छुटे प्रकाण्ड : बन्ला वार्ताको वातावरण?



पहिलोपोस्ट

सातौँ पटकमा बल्ल छुटे प्रकाण्ड : बन्ला वार्ताको वातावरण?
प्रकाण्ड पहिलो पटक पक्राउ पर्दाको फाइल फोटो

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मामा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन्। 

हुनत यसअघि पनि उनी अदालतको आदेशमा रिहा नभएका होइनन्। तर रिहालगतै उनी घर हैन अदालतपरिसरबाटै प्रहरी हिरासत पुग्थे। कति खेर उनी निस्केला र पक्राउ गरौँला भनेर प्रहरी कुरी बसेका हुन्थे। उनीहरूको हातमा पहिले देखिनै पक्राउको लागि आवश्यक कागजपत्र तयार हुन्थ्यो। तर मंगलबार भने यसो भएन। उनलाई प्रहरीले पक्राउ गरेन। उनले माइतीघर मण्डलामा कोणसभा गर्न भ्याए।

पहिलो पटक गत साउन २२ गते प्रकाण्ड चन्दा लिएको विषयमा पक्राउ परे। त्यसपछि उनी कहिले चन्दा, कहिले आगजनी त कहिले विस्फोटनका घटनामा हिरासत पुगी नै रहे। ७ करोड रुपैयाँ चन्दा उठाएको भन्दै प्रहरीले उनलाई पहिलो पटक नियन्त्रणमा लिएको थियो।

पहिलो पटक पक्राउ परेपछि नरेन्द्रबहादुर सिंह विकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौँलाई विपक्षी बनाएर रिट दायर भएको थियो।

भदौ १ गते रिटमा सुनाइ गर्दै न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विकलाई सर्वोच्चको रजिस्ट्रारको रोहवरमा छाड्न आदेश दिएको हो। तर उनी फेरि अदालत परिसरबाट नै पक्राउ परे। लगियो काभ्रे। प्रहरीले काभ्रेमा आगजनीको अभियोग लगाइयो। छोरा वीरेन्द्र विकले र सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट फेरि दर्ता गराए। अदालतले रिहा गर्ने आदेश दियो। भदौ ९ गते फेरि पक्राउ गर्दै र नुवाकोट लगियो। नुवाकोट स्काभेटरमा जलाएको अभियोग लगाइयो।

भोलिपल्टै फेरि छोराले सर्वोच्चमा रिट हाले। प्रक्रिया पहिले जस्तै भयो। अदालतबाट रिहाइको आदेश। गेटमा नै प्रहरी। प्रकाण्ड पुगे भोजपुर। टेम्केमैयुङ गाउँपालिका ६ मा सकेट बम विस्फोट गराएको अभियोग लगाइयो। 

भोजपुर जिल्ला अदालतले ६० हजार रुपैयाँ धरौटीमा प्रकाण्डलाई छोड्न निर्देशन दियो। भोजपुर अदालतबाट पनि उनी फुत्किन सकेनन्। भदौ २८ गते फेरि अर्को अभियोगमा दाङ पुर्‍याइयो। फेरि अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट। कथा उस्तै नै भयो। अदालतले रिहाइको आदेश त दियो तर उनी घर होइन हिरासत नै पुगे। प्रकाण्डलाई गत भदौ ३० गते दाङ पुर्‍याइयो।

डेढ महिनाको अवघिमा ६ वटा जिल्ला प्रहरीको भ्यानमा सयर गर्न भ्याए। काठमाडौँ, काभ्रे, नुवाकोट, भोजपुर र दाङ र पछिल्लो समय उदयपुरको हिरासतमा रात कटाए।

सोमबार प्रकाण्डलाई उदयपुरबाट काठमाडौँ ल्याइएको हो। उनले सोमबारको रात महानगरीय प्रहरी वृत्त दरवारमार्गको हिरासतमा कटाएका थिए। आखिर सरकारले पक्राण्डलाई किन पक्राउ गर्‍यो? निर्वाचनका बेला देखाएको गतिविधि वा सैन्य संरचना तयार पार्दै  भन्ने सरकारले पाएको सूचना? 

गत भदौ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय अधिकारसम्पन्न राजनीतिक वार्ता समिति गठन गरेको थियो। 

समितिले आफ्नो काम थालिसकेको छ। वार्ता समितिलाई चारवटै सुरक्षा निकायका प्रमुखले ‘विप्लव’ नेतृत्वको आन्दोलन राजनीतिक प्रकृति भएको ब्रिफिङ गत साता गरेका थिए। 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मी र नेपाली सेनाका प्रतिनिधिले विप्लवको आन्दोलन राजनीतिक रूपमै समाधान गर्न र हेलचक्र्याँइ नगर्न सुझाएका थिए। 

पाण्डेले गृहमन्त्री रामबहादुर थापालाई बारम्बार अदालतको आदेशविपरीत पक्राउ गर्नाले वार्ताको वातावरण बन्न नसक्ने भन्दै उनलाई रिहा गरी वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए। 

सोही अनुसार पक्राउ र रिहाको यो शृङ्खलालाई आज गृहले निरन्तरता दिएन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell