PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओलीले प्रवचन दिने भएपछि 'युनिर्भसिटी फर पिस'को प्रस्ताव अनुमोदन



प्रधानमन्त्री ओलीले प्रवचन दिने भएपछि 'युनिर्भसिटी फर पिस'को प्रस्ताव अनुमोदन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोस्टारिकामा रहेको ‘द युनिर्भसिटी फर पिस’मा प्रवचन दिने भएपछि शान्ति विश्व विद्यालय स्थापनासम्बन्धी प्रस्ताव हतारमा स्वीकृत भएको छ।

प्रतिनिधि सभाको आजको बैठकले शान्ति विश्व विद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको प्रस्ताव संसदबाट सर्वसम्मतिले पारित भएको छ।

प्रस्तावमाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले शान्ति विश्व विद्यालय स्थापना सम्बन्धी सन्धीमा नेपालले पहिले नै हस्ताक्षर गर्नु पर्नेमा ढिलो भएको बताए ।

‘कोस्टा रिकाको राष्ट्रपतिले विश्वविद्यालयमा प्रवचनका लागि हाम्रो प्रधानमन्त्री ज्यूलाई आमन्त्रण गर्नु भएको छ। उहाँ जाँदै हुनु हुन्छ । त्यसकारण यो प्रस्तावलाई छिटो अगाडि बढाउन खोजिएको छ,’ थापाले भने।

नेपाल सरकारले प्रस्ताव गरेको आरक्षणसहितको व्यवस्था संसदबाट स्वीकृत भएको छ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार कोस्टारिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

यसैगरी संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रमाणीकरण गरिएको १६ वटा विधेयकबारे जानकारी गराइएको छ। समितिबाट पारित राहदानी सम्बन्धी विधेयक पनि सदनमा पेस भएको छ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि २ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell