PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रपतिसामु दश अवतारका कलाकारहरुको 'विद्रोह', किन अन्यौलमा पर्दैछ यो परम्परा? 



पहिलोपोस्ट

राष्ट्रपतिसामु दश अवतारका कलाकारहरुको 'विद्रोह', किन अन्यौलमा पर्दैछ यो परम्परा? 

  • सहयोग रञ्जित -
काठमाडौं : येँयाः अर्थात् इन्द्रजात्राको चौथो र महत्वपूर्ण दिन हिजो वसन्तपुरमा जीवित देवी कुमारी, जीवित देवहरु गणेश र भैरवको रथयात्राका साथै मजिपा:लाखे, पुलुकिसि, सव:भक्कु, महाकाली नाच प्रदर्शन भयो। राष्ट्रपति लगायत विशिष्ट अतिथिहरुले गद्दी बैठकबाट जात्रा अवलोकन गरे। तर राष्ट्रपति उपस्थित कार्यक्रममा दश अवतार भने प्रदर्शन गरिएन। अन्य दिनमा बेलुकीको समयमा प्रदर्शन गरिने दश अवतार कुमारी, भैरव र गणेशको रथयात्रा प्रारम्भ हुने चतुर्दशीको दिनमा राष्ट्रप्रमुखको उपस्थितिमा दिउँसै देखाइने प्रचलन थियो। 

तर यस पटक भगवान विष्णुका १० वटा अवतारहरुको प्रदर्शनमा सरिक हुने देवतारुपी कलाकारहरुले राष्ट्रपति सामु विद्रोह गरे। राष्ट्रपतिसहितका विशिष्ट व्यक्तिहरु रहेको गद्दी बैठकको दायाँपट्टीको भूकम्पले भत्किएको मन्दिरमा अघिपछि मञ्च बनाएर देखाइने दश अवतार यस पटक देखाइएन।

आवश्यक आर्थिक व्यवस्थापनमा कमजोरीका कारण यसपालि दशअवतार प्रदर्शनमा समस्या हुँदै आएको छ। इन्द्रजात्रा शुरु हुनु अगाडि दश अवतार प्रदर्शनी गर्ने वा नगर्ने भन्नेमा नै अन्यौल रहेको थियो। कलाकारहरुले प्रदर्शन निरन्तर नै हुन नसक्ने बताएका थिए। पहिलो र दोश्रो दिन जसोतसो दश अवतारलार्इ निरन्तरता दिइएको थियो। तर इन्द्रजात्राको तेस्रो दिन आइतबार दश अवतार प्रदर्शन नै गरिएन भने हिजो पनि समयमा प्रदर्शन हुन सकेन।

दश अवतारका कलाकार साथै दश अवतार प्रदर्शन तथा प्रवर्द्धन समाजका पर्यवेक्षक नवीन शाहीले समयमा आर्थिक व्यवस्थापन हुन नसक्दा यस्तो भएको बताए।

‘तेश्रो दिन त आवश्यक रकम उपलब्ध नहुँदा दश अवतार प्रदर्शन अवरुद्ध नै हुनपुग्यो। हिजो पनि समयमा रकम उपलब्ध नभएको कारण नै समयमा प्रदर्शन हुन नसकेको हो। रकम पूरा उपलब्ध नभएता पनि आफूहरुले नै रकम व्यवस्थापन गरी संस्कृतिलाई निरन्तरता दिएका हौं,’ शाहीले बताए। 

यस्तै कलाकार राजन शाहीले आज पनि दश अवतार प्रदर्शन हुने नहुनेमा आफूहरु नै अन्यौलमा रहेको बताए। सरकारी पक्ष वा जात्रा व्यवस्थापन समितिबाट पनि कुनै सहयोग नदेखिएकाले यसपटक यो मौलिक परम्परा सञ्चालनमा समस्या आएको उनले बताए। 

 ‘एक दिनमा ५० जनाको संख्यामा कलाकार, प्राविधिक खट्नुपर्छ। हामी नियमित कलाकारबाहेक विद्यालयबाट विद्यार्थीहरु पनि ल्याउनुपर्छ। दिनको १० हजारभन्दा बढी खर्च आवश्यक छ’ समाजका अर्का पर्यवेक्षक शिव मानन्धरले भने। पहिलो र दोश्रो दिन पनि आफूहरुले नै आर्थिक व्यवस्थापन गरी दश अवतार प्रदर्शन गरेको उनले बताए।

हाल दश अवतार प्रदर्शन व्यक्तिगत तवरबाट भइरहेको भन्दै दश अवतार कलाकारहरुले यसलाई संस्थागत बनाउनुपर्ने माग गर्दै आएका छन्। दश अवतारका क्रममा लगाइने वस्त्र, अलंकार लगायतका सामाग्री सुरक्षित राख्ने स्थान नभएको र यसको सुधारको लागि कुनै योजना बनाउनमा कसैले चासो नदिएको कलाकारहरुको गुनासो छ। 

यसका साथै दश अवतार प्रदर्शनमा सक्रिय कलाकार, प्राविधिकको उचित मूल्यांकन नभएकोमा पनि उनीहरुको असन्तुष्टि रहेको छ। दश अवतारलार्इ कुनै अन्यौल बिना प्रदर्शन गर्ने सम्बन्धमा दश अवतारका कलाकार र दश अवतार गुठीका व्यवस्थापक दीपकप्रसाद श्रेष्ठबीच आवश्यक छलफल भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell