PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेशका मुख्यमन्त्री एकपछि अर्को चीन दौडाहामा : कर्णालीका फर्किए, गण्डकीका जाँदै



विधुर ढकाल

प्रदेशका मुख्यमन्त्री एकपछि अर्को चीन दौडाहामा : कर्णालीका फर्किए, गण्डकीका जाँदै

काठमाडौं : एक पछि अर्को गर्दै प्रदेशका मुख्यमन्त्रीहरू चीन यात्रामा निस्किन लागेका छन्। हाल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालगायतको टोली चीनबाट फर्किएका छन्। 

यो टोली फर्किएको अर्को दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको टोली चीन जाने तयारी गरेको छ। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, प्रदेश नीति तथा योजना आयोगका गिरिधारी पौडेल, मुख्य सचिव लक्ष्मीराज शर्मा लगायत केही व्यवसायी मंगलवार चीन जाँदै छन्। 

कर्णाली प्रदेशका मुख्यमन्त्री १७ औँ वेस्टर्न चाइना इन्टरनेसनल फेयरमा सहभागी हुन त्यहाँ पुगेका हुन्। सेप्टेम्बर २० देखि २४ (आज) सम्म चीनको सिचुवान प्रान्तमा आयोजना भएको फेयरमा सहभागी हुन चीन गएका थिए। 

सिचुवान प्रान्तका गभर्नर यीन लीको निमन्त्रणामा चीन गएका उनी त्यहाँ रहँदा वेस्टर्न चाइना इन्टरनेसनल फेयर अन्तर्गत बेल्ट एन्ड रोड डेभलभमेन्ट कन्फ्रेन्समा सहभागी भए।

पश्चिम चीनका १२ वटा प्रान्त तथा चीनका केन्द्रीय मन्त्रालयले गरेको कार्यक्रममा नेपालका तर्फबाट उपराष्ट्रपति नन्दबहादुर पुनसमेत सहभागी भएका थिए।

मुख्यमन्त्री शाहीले चीन भ्रमण कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन महत्त्वपूर्ण भएको बताए। कर्णाली प्रदेश र चीनको सिमाना समेत जोडिएकाले चीनसँग कर्णालीको विकासमा सहकार्यका लागि छलफल भएको उनको भनाई थियो। 

उनले चीन भ्रमणका क्रममा त्यहाँका अधिकारीसँग चीनसँग जोडिएका नाका सञ्चालनको विषयमा छलफल भएको जानकारी दिए। त्यस्तै चीन सरकारले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत कर्णाली प्रदेशलाई जोड्ने तथा लगानीका विषयमासमेत छलफल भएको उनको भनाई छ।
 

गण्डकी प्रदेशका मुख्यमन्त्री जाँदै 


कर्णालीका मुख्यमन्त्री पश्चिम चीनको सिचुवानबाट फर्किएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री चीनको दक्षिणी प्रान्त हाइनान जान लागेका छन्। उनी प्रदेशको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलवार त्यसतर्फ जाँदै छन्।

सात दिन लामो भ्रमण प्रदेशको विकासका एजेण्डामा केन्द्रित हुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। 

हाइनानका गभर्नर स्यान स्यामिङको विशेष निमन्त्रणमा त्यसतर्फ जान लागेका उनले गण्डकी प्रदेशको विकासको विषयमा छलफल हुने बताए। 

साउथ चाइना सीको किनारमा रहेको क्वाङतोङबाट हाइनान प्रान्त स्वतन्त्र भएको दिन अक्टोबरमा १ मा हाइनान डे मनाइन्छ। सोही अवसरमा त्यहाँ आयोजना हुने विशेष कार्यक्रमको प्रमुख अतिथिको रूपमा मुख्यमन्त्री गुरुङलाई निमन्त्रणा गरिएको हो। 

गत भदौको अन्तिममा सात बसेको मन्त्रिपरिषद्को बैठकले कर्णालीका मुख्यमन्त्री शाहीसँगै गण्डकी प्रदेशका मुख्यमन्त्रीको चीन भ्रमणलाई स्वीकृत गरेको थियो। 

मुख्यमन्त्री गुरुङले भ्रमणका क्रममा प्रदेशमा प्राविधिक महाविद्यालय स्थापनाका लागि त्यहाँका अधिकारीहरूसँग छलफल गर्ने बताए। पोखरा विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘प्रदेशमा प्राविधिक महाविद्यालय खोल्ने भनेका छौँ। यसमा उनीहरूले इच्छा देखाएका छन्।’ उनले यससम्बन्धी सम्झौता पोखरामै हुने भन्दै नोभेम्बरमा हाइनानका गभर्नरलाई पोखरा भ्रमणका लागि निम्तो दिनेसमेत जानकारी दिएका छन्। 

गभर्नरको पोखरा भ्रमणका क्रममा गण्डकी प्रदेश र हाइनान प्रान्तबीच भगिनी सम्बन्ध स्थापना गर्नेसमेत उनले जानकारी दिए। उनले प्रदेशको विकासको प्राथमिकताका आधारमा केही सम्झौता हुनेसमेत बताए। तर यस बारेमा उनले थप जानकारी दिएनन्। 

‘हामीलाई यति चाहियो भनेर भन्दैनौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘अनुदान लिँदा पनि हाम्रो आवश्यकता र प्राथमिकताका क्षेत्र हेरेर लिन्छौं।’
भ्रमणका क्रममा सौर्य ऊर्जा र जलविद्युतको विषयमा पनि छलफल हुने मुख्यमन्त्री गुरुङले बताए। उनले चिनियाँ लगानीकर्ताहरूलाई प्रदेशमा लगानी गर्नका लागि आह्वान गर्नेसमेत जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell