PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मजिपाः लाखे - राक्षसको डरलाग्दो स्वरुपपछाडि लुकेको शान्त देउता



पहिलोपोस्ट

मजिपाः लाखे - राक्षसको डरलाग्दो स्वरुपपछाडि लुकेको शान्त देउता

  • सहयोग रञ्जित -

काठमाडौँ : ‘येंया पुन्ही’ अर्थात् इन्द्रजात्राको पहिलो दिन शुक्रबार। वसन्तपुरभन्दा केही पर रहेको मजिपा: (मजिपात) स्थित लाखेननीमा केही युवा धा: बाजा र भुस्या बज्याउँदै छन्। 

सानो चोक। चर्को घामका बीच मान्छेहरुको भिड र हल्ला। चारैतिर रहेका घरहरुमा मान्छेको हुल। बाजाको तालमा रमाइरहेका सबैको ध्यान भने त्यहीँ रहेको ‘लाखे छें’ (लाखे घर ) को ढोकामा छ। कहिले ढोका खुल्ला र 'लाखे आजु'को दर्शन गरौँला भन्ने उत्सुकता। 

‘लाखे छें’भित्र लक्ष्मण रंजित लाखे बन्न तयारी गर्दै थिए। लाखे नाय: ( नाइके) राजीव रंजितसहित ५-६ जना लक्ष्मणलाई तयार गर्दै थिए। लाखेको ख्वापा (मुकुन्डो) समाइरहेका राजीव सबैलाई काम गर्न निर्देशन दिँदै थिए। तासले बनेको विशेष लुगा, जामा, चोलो, फिट्टा, जनी:, घङ्ला, हातमा रुमाल लगाई लक्ष्मणसहित सबै तल्लो तल्लामा ओर्लिए। त्यसपछि सुरु भयो हेर्दै डरलाग्दो लाखेको ख्वापा (मुकुण्डो) लगाउने काम।

लक्ष्मणको टाउकोमा विशाल ख्वापा लगाएपछि त्यसलाई डोरीले बाँधियो। डोरी राम्ररी नबाँधे नाच्न अप्ठ्यारो वा ख्वापा नै बिग्रिन सक्ने डर हुन्छ। 

'दु दुम झ्या' 

सबै तयार भएपछि यो तालमा बाजा बजाउन लगाइन्छ। (लाखेलाई लाखे छें वा बाहिर परिवर्तन गर्ने क्रममा, घरबाहिर निकाल्दा वा भित्र ल्याउँदा 'दु दुम झ्या' तालमा बाजा बजाइन्छ।)

बाहिर बाजा बज्न सुरु हुन्छ। लगत्तै लक्ष्मण ‘लाखे छें’को सानो ढोकाबाट उफ्रिँदै बाहिर निस्कन्छन्। धा: बाजा र भुस्याको धून झनै बढ्छ। लक्ष्मण आफ्नो हात हल्लाउँदै चारैतिर रहेका दर्शकबीच नृत्य प्रस्तुत गर्छन्। वातावरण झनै रोमाञ्चित हुन्छ।  

*****
२३ वर्ष भयो लक्ष्मण रंजितले लाखे नाच नाच्दै आएको। बच्चा बेलामा अरु लाखे बनेर नाच्दा डर लाग्थ्यो उनलाई। अहिले आफै लाखे बन्दा कस्तो हुन्छ त?

‘सबै सामान्य,’ उनले पहिलोपोस्टलाई बताए।   

लाखे बन्नेहरुमध्ये ३४ वर्षका लक्ष्मणको धेरै प्रशंसा हुनेगर्छ। उनको नाच र हाउभाउको तारिफ सबैले गर्छन्। लक्ष्मण भने यसलाई ‘लाखे आजु’ प्रतिको सम्मानका रुपमा लिन्छन्। उनी भन्छन् 'लाखेले कृपा गर्छ जस्तो लाग्छ। भगवानले साथ दिए जस्तो लाग्छ।'

पहिला राजतन्त्र भएको बेला हनुमानढोका दरबारभित्र च्यारिटी शो हुन्थ्यो। विशिष्ट पाहुनाका बीच त्यहाँ लाखे नाच लगायत इन्द्रजात्रामा देखाइने अरु नाचहरु देखाइन्थ्यो। लाखेसँगै आएका सबैलाई प्रवेश दिँइदैनथ्यो। चिराग समातेका र बाजा बजाउने केहीलाई मात्र प्रवेश दिइन्थ्यो। 
लक्ष्मणलाई पनि भित्र जाने रहर किन नहोस्। उनी चिराग समाउने, लाखेको लुगा समाइ भित्र जाने प्रयास गर्थे। तर प्रयासहरु असफल हुँदा रुन्थे। हो, त्यही बेलादेखि उनले लाखे बन्ने अठोट गरे। भन्छन्, 'त्यसपछि लाखे बनेर देखाउँछु भन्ने लाग्यो। आज सफल हुँदा गौरव महसुस गर्छु।'

भूकम्प र पत्नी-मातृवियोग

२०७२ सालमा आएको भूकम्पमा परी उनको श्रीमतिको मृत्यु भयो। लक्ष्मणको खुट्टा भाँचियो। पीडामाथि पीडा। अर्को वर्ष उनकी आमा बितिन्। दुई वर्ष उनी लाखे बनेनन्। लाखे बनेयता २०७२ सालमा पहिलो पटक आफ्नो घरमा बसेर लाखे नृत्य हेरे उनले। पत्नी र मातृ वियोगको दुःखबीच संस्कृति संरक्षणमा भने उनी सचेत थिए। भर्खर लाखे बनेकाहरुलाई बाजाको तालमा नाच्न सिकाएको सम्झन्छन् उनी। जात्रा हेर्ने आएका धेरैले भिडमा लाखेका रुपमा उनलाई 'मिस' गरेको अनुभव गरे उनले। 

लक्ष्मण भन्छन 'लाखे नाच कसैले सिकाउँदैन। आफूभन्दा पहिला नाचेकाहरुलाई हेर्दै आफै सिक्ने हो। मैले पनि त्यही गरेको हुँ। कुन तालमा कस्तो हर्कत गर्ने आफै बुझ्ने हो।'

तर आजका युवामा लाखे बन्ने मोह रहे पनि उनीहरु 'प्रिपेर्ड' नभएकोमा उनको गुनासो छ। 

'म लाखे बन्छु भनेर भाइहरु आउँछन्। ल नाचेर देखा भन्दा लजाउँछन्। लाखे आजुको ख्वापा लगाइसकेपछि कार्टुन जस्तो नाचेर हुन्न नि। आजुको सम्मान गर्छु भन्नेहरुले त बाहिर नाचेर देखाउन सक्छन् नि। लाखे लजाएर हुन्न। अलि एग्रेसिभ हुनुपर्‍यो।'

को बन्छन् लाखे?

पहिला रंजितहरु मात्र लाखे बन्छन् भन्ने मान्यता थियो। तर हाल त्यस्तो छैन। रंजित समुदायबाहेकका व्यक्तिहरु पनि लाखे बन्न पाउँछन्। लाखे आजुलाई न्याय दिन सक्ने साथीहरुले राम्रो अवसर पाएको बताउँछन् लक्ष्मण। 

राजेश श्रेष्ठ १४ वर्ष हुँदादेखि लाखेको ख्वापा लगाउँदै नाच्दै आएका छन्। हाल उनी ३४ वर्षका भए। आजसम्म उनलाई रंजितले मात्र नाच्ने नाच किन नाचेको भनेर कसैले प्रश्न गरेको छैन। 

श्रेष्ठ भन्छन् 'बाल्यकालदेखि यहीँ हुर्केको। पहिला रंजितहरुको बाक्लो उपस्थिति थियो। सबै साथी। लाखे आजु हामी सबैको हो नि। यतिका वर्षमा मैले देखाएको नाच प्रति कसैले प्रश्न खडा गरेका छैनन्।' मुस्कुराउँदै थपे 'टिनएजमा जस्तो इनर्जी अहिले नहुने रैछ।'

लाखे बन्नेहरुलाई हालसम्म प्रशिक्षण नदिइएपनि अब भने सिकाउनु पर्ने आवश्यक्ता देख्छन् उनी। 

'सामान्य रुपमा लाखे नाच त गर्न सकिन्छ। तर लाखे नाच भनेको हात खुट्टा हल्लाउने, दौडिने मात्र होइन। नाच्दै धेरै ठाउँमा पुगिन्छ। त्यहाँ अरु देवीदेवताहरुसँग भेट हुन्छ। पुलुकिसी, सव:भक्कुसँग भेट हुन्छ। उनीहरुसँग भेट्दा सम्मान प्रकट गर्नुपर्छ। दुई देवता भेट्दा उनीहरु उफ्रिन्छन्। खुसीयाली प्रकट गर्छन्। एकैछिन वातावरण धेरै रोमान्चित हुन्छ। यो सामान्य रुपमा हात मिलाउनु जस्तो हो। यो सबैको ज्ञान लाखे बन्नेहरुमा हुनुपर्‍यो।'

धा:बाजा र भुस्याको तालमा यतिका वर्षदेखि नाच्दै आए थिए उनी। तर २० वर्षपछि एक व्यक्तिले उनले बाजाको तालमा देखाएको हर्कत नमिलेको बताए। को रहेछ भनी बुझ्दा उनी एक जमानामा लाखे बनिसकेका व्यक्ति रहेछन्। 

'आफू लाखे बन्यो। अनि म नै ठूलो भन्ने। त्यसरी हुँदैन नि। हाम्रा सिनियर लाखे ओमशंकर रंजितले २० वर्षपछि मेरो नृत्यमा रहेको कमजोरीका बारेमा मलाई भन्नुभयो। हामी पनि सिक्दैछौं।' 

लाखे भोज भएकै दिन ओमशंकर रंजितको निधन भएको बताउँदै श्रेष्ठले त्यो दिन कहिल्यै नबिर्सिने बताए।

****

लाखे बन्न ‘अडिसन’

येंया पुन्ही सुरु हुने दिन जब नजिकिँदै जान्छ लाखेननीमा रहेको लाखे छेंमा लाखे नायः राजीवलाई भेट्न आउने मानिसहरुको लर्को लाग्छ। लाखे बन्छु भनेर नाम टिपाउन भर्खरका केटाहरुको भीड हुन्छ। दिनमा २०-३० जना लाखे बन्छु भनेर आउने बताउँछन् राजीव।

त्यही लर्कोमा भेटिए १९ वर्षे शाहिल कुमार रंजित। राजीवले 'ल नाचेर देखा भन्दा' शाहिल कम्मर र हात हल्लाउँदै नाच देखाउन पछि परेनन्। उनमा लाखे बन्ने उत्सुकता प्रस्ट देखिन्थ्यो।  

रातिको समयमा लाखे बनाएर 'टेस्ट' लिन्छन् उनी सिकारु युवाको। राजीव भन्छन् 'रातिको समयमा धेरै पूजा हुँदैन। त्यसैले लाखे बन्ने इच्छा भएकाहरुलाई त्यसबेला नचाउने र राम्रो नाचे दिउँसै पूजाहरुमा लग्ने गर्छौं।'  पहिलादेखि लाखे सँगै हिड्ने, आजु प्रतिसम्मान गर्नेलाई प्राथमिकता दिन्छन् उनी।

२९ वर्षे शरद रंजितकार र २७ वर्षे सुदिप रंजितकार पनि लाखेननीमा भेटिए। दुवै कामबाट भर्खरै फर्केका। दुवै जना दाजुभाइ। शरद लाखे बनेको ८ वर्ष भएछ। त्यसको एकवर्ष पछि सुदिप लाखे बन्ने साइत जुर्योर। दुवै  दाजुभाइ लाखे बन्न सफल भएको मा धेरैले प्रशंसा गरे।

युवाले लाखे नाच धानिरहेकोमा भने सुदिपको भिन्न मत छ। 'युवा भनेरमात्र हुँदैन। लाखे बन्नका लागि अलि 'मेच्योर' (परिपक्व) हुनुपर्छ। लाखेको ख्वापा लगाइसकेपछि हामीमा दायित्व थपिन्छ। आजुको सम्मान गर्न सक्नुपर्योा।' ख्वापा बोक्दा गह्रौं लाग्ने तर लगाउँदा त्यस्तो महसुस नहुने बताउँछन् उनी। 

दुवै दाजुभाइले इन्द्रजात्राका लागि भनेर आफ्नो कामलाई एक हप्तासम्म 'म्यानेज' गर्दैछन्। 'हाम्रो संस्कार हो। संस्कृति हो। यसलाई हामीले नै बचाउने हो' भन्छन् शरद।

लाखे बनेपछि देवता चढ्छ भन्ने भ्रम मानिसमा रहेको बताउँछन् लक्ष्मण। तर ख्वापा लगाइसकेपछि स्वस्फूर्त रुपमा शक्तिको संचार हुने उनी बताउँछन्।

शरद भन्छन् 'लाखे बनेपछि खाली खुट्टा नाच्नु पर्ने हुन्छ। दौडिनुपर्छ। तर खुट्टा दुख्ने, बाटोमा सिसा, डुंगाले लाग्ने डर हुँदैन। हामी स्वस्फूर्त रुपमा नाच्छौं। ख्वापा लगाएपछि आफूमा केही तेज महसुस हुन्छ।'

लाखे बनेपछि सबैको उद्देश्य नाच्नु मात्र हुँदैन। लाखे बन्ने मान्छेले लाखेको ख्वापाको सुरक्षा पनि गर्नुपर्छ। राजेश श्रेष्ठ भन्छन्' लाखे बनेपछि लडिँदैन भन्ने हुँदैन। तर जे भएपनि हामी सबैको उद्देश्य लाखेको ख्वापा जोगाउनु हो।'

लाखेको ख्वापालाई केही भयो भने अनिष्ट हुने विश्वास रहेको बताउँछन् उनी। 

दानव हैन देवता

इन्द्रजात्रामा निकालिने प्रमुख नाच मध्य ‘मजिपाः लाखे’ मूलतः रंजितहरुले संचालन गर्ने मौलिक नाच हो। पौराणिक कथनहरुमा लाखेलाई एक दानवका रुपमा परिभाषित गरेपनि नेवार समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ।

लाखेले आफूमा रहेको दानव आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएका कारण नेवार समुदायमा लाखेलाई एक शक्तिशाली संरक्षकका रुपमा पुजा गर्ने गरेको बताइन्छ। किंवदन्ती अनुसार मजिपा: क्षेत्रमा रहेकी एक युवतीसँग लाखेको प्रेम हुन्छ। 

ती युवती भेट्न लाखे मानिसको भेषमा बारम्बार आउने गर्छ। युवतीको प्रेममा मोहित लाखेले उनको खेतको काममा सहयोग गर्छ। टोलभरी उनीहरुको प्रेमको चर्चा चल्दै गर्दा त्यहाँका बालबालिकाहरु हराउन थाल्छन्। लाखेमाथि स्थानीयहरुले शंका गर्छन्। लाखेलाई समातेर सोध्दा उनले आफ्नो गल्ती स्वीकार्छन्। लाखेलाई साना बालबालिकाको रक्षा गर्ने वाचा गराइन्छ। स्थानीयहरुले लाखेलाई बन्धनमा पारी नगर परिक्रमा गराउँछन्।  

इन्द्रजात्राका आठै दिन जब लाखेलाई लाखेननीबाट निकालिन्छ। तब लाखे जैसीदेग (जैसीदेवल) र चिकंमुग (चिकंमुगल) मा गएर तीन पटक उफ्रिन्छ। त्यसरी उफ्रिँदा त्यो क्षेत्रभित्र रोगहरुको महामारी हुँदैन भन्ने विश्वास रहेको छ। यस्तै कुमारी घर र आकाश भैरवका अगाडि पनि लाखे उफ्रिन्छ। त्यो चाहिँ उनीहरुलाई गरेको सम्मान भएको राजीव बताउँछन्।

हरेक युगमा उपद्रो गर्ने मानिसहरुको कमी हुँदैन। मानिस भित्र रहेको राक्षस जन्मे पश्चात ऊ उदण्ड हुन्छ, आतंककारी बन्छ। तर समाजका मानिसहरु एकजुट भएपछि जतिसुकै बलवान वा शक्तिशालीहरु पनि पररास्त हुन्छ।  मानिसमा देवत्व र दानवत्व हुन्छ। त्यसको प्रतिक लाखे भएको बताउँछन् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः। 

उनमा रहेको आतंककारी स्वभावलाई बन्धनमा पारेर उसलाई शान्त बनाउन मानिसहरु सफल भएका थिए। त्यसैले लाखेलाई शान्त भैरब पनि भन्ने गरिन्छ। नेवारहरुले आफूभन्दा अग्रजहरुलाई अजी, आजु भन्ने गर्छन। भैरवलाई पनि सम्मान स्वरुप नेवारहरु आजु भन्छन्। लाखे शान्त भैरवको प्रतिक भएकाले उनलाई पनि 'लाखे आजु' भन्ने गरिन्छ।

यस्तै, जीवित देवी कुमारीलाई तलेजु भवानीका रुपमा पुज्ने गरिन्छन। तलेजु भवानीको संरक्षकका रुपमा लाखेलाई लिइन्छ। त्यसैले लाखे जब-जब वसन्तपुरस्थित कुमारी घरको अगाडि पुग्छ, उफ्रिएर कुमारीप्रति सम्मान प्रकट गर्ने चलन रहेको छ। त्यसैले इन्द्रजात्रामा कुमारीको रथलाई बाटो देखाउने महत्वपूर्ण भूमिकाका पाएको हुन्छ मजिपाः लाखेले ।

******

लाखेको परीक्षा लिन झ्यालिँचा

इन्द्रजात्राभर लाखेसँगै हुने अर्को पात्र हो 'झ्यालिँचा'। निलो र सेतो कपडाको जामा लगाएको बालकलाई झ्यालिँचा बनाइन्छ। शान्त भैरवका रुपमा रहेको लाखेलाई झ्यालिँचाले जिस्काउने र लाखेको सिको गर्ने गर्दछ। जब झ्यालिंचाले जिस्काई रहन्छ, लाखेमा केही उग्रपनको विकास हुन्छ र झ्यालिंचालाई समात्ने प्रयासमा नाच्न थाल्दछ। किंवदन्ती अनुसार लाखेले मान्छे नखाने वाचा गरेको हुन्छ। उसले आफ्नो वाचा कतिको पालना गर्छ भन्ने हर्ने हेतुले झ्यालिँचाका रुपमा लाखेको परीक्षा लिने गरेको मान्यता रहेको छ। 

झ्यालिँचाको पनि आफ्नै ख्वापा हुन्छ। तर झ्यालिँचा बन्ने सानो बालक हुने हुँदा ख्वापाको धेरै प्रयोग गरिँदैन। सानोमा ख्वापा सम्हाल्न गाह्रो हुन्छ। ख्वापाको सुरक्षाकैलागि हाल झ्यालिँचाले ख्वापाको धेरै प्रयोग नगरेको राजीवले बताए।

यसपटक पनि पहिला वर्ष झै आर्यन रंजित झ्यालिँचा बने। 

लाखे र झ्यालिँचा

****

कहाँ राखिन्छ लाखेको ख्वापा?

इन्द्रजात्रा सकेको केही दिन पछि लाखेको पुजा गरी मन्जुश्री जाने बाटोमा रहेको नास: देवलाई राँगाको बलि दिइन्छ। कौशीतोषाखानाले एउटा राँगा दिन्छ। बाँकी सबै आफैले बेहोर्नुपर्छ। त्यही दिन लाखेननीमा भोज खुवाइन्छ। ५००-६०० जना मानिस हुन्छन्। 

भोज सकेको भोलिपल्ट लाखेको ख्वापा 'पिला'मा राखिन्छ। एक दिनलाई घर बन्द गरिन्छ। लाखे स्वयम आएर भोज खान आउने विश्वास रहेको स्थानीयहरु बताउँछन्। 

येंया पुन्ही अघि नै कृष्ण द्वादशीका दिन लाखे छेंमा रहेको प्राचीन ‘पिला’ भनिने गोप्य माटोको सन्दूकमा राखिएको लाखेको ख्वापा निकालिन्छ। ख्वापालाई बनाउन र रंगहरु लगाउन यट्खा टोलका चित्रकारहरु कहाँ लगिन्छ। त्यसको १५ दिनपछि दशमीमा ख्वापा फिर्ता ल्याई भोलिपल्ट एकादशीका दिन लाखेको रातो कपाल सजाइन्छ। लाखेको कपाल चौरी गाईको पुच्छरले बनेको हुने राजीवले बताए। ८ दिनसम्म लाखेनाच नचाएपछि केही दिनपछि समयबजी चढाई विधिवत रुपमा लाखेको ख्वापा पुन 'पिला' मा राखिन्छ। त्यसलाई अर्को वर्ष मात्र बाहिर निकालिन्छ।   



******

गुणकामदेवको पालाबाट लाखेनाच सुरु भएको विश्वास गरिन्छ। त्यसैले पनि चिकंमुगल, जैसीदेवल, मजिपात क्षेत्रको सडकलाई गुणकामदेव मार्गका रुपमा नामाकरण गरिएको छ। इन्द्रजात्रामा देखाइने सबै नाचहरु मध्ये लाखे नाचको आफ्नै मौलिकता र इतिहास रहेको छ। राजतन्त्र भएको बेला लाखे आजुलाई राजदरबार मै बोलाएर पूजा गरिने चलनसमेत थियो। एक दानवलाई उसको दानवत्व अन्त्य गराई शान्त बनाउन सफल भएको जात्राका रुपमा मजिपा: लाखे आजुको नृत्य रहेको छ। राक्षस स्वरुप भएपनि एक देवताको उपमा पाई स्थापित हुन सफल बिम्ब हो, मजिपा: लाखेआजु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell