PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्मला प्रकरणमा रहस्य गहिरियो : एसपी बिष्टका छोरा र मेयरका भतिजा निर्दोष भए हत्यारा को त?



सविन ढकाल

निर्मला प्रकरणमा रहस्य गहिरियो : एसपी बिष्टका छोरा र मेयरका भतिजा निर्दोष भए हत्यारा को त?

काठमाडौं : १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अभियुक्त सार्वजनिक भएदेखि नै कञ्चनपुर तनावग्रस्त बन्यो। ४१ वर्षीय दिलीपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएपछि स्थानियवासी आक्रोशित भए। यही आक्रोशमा जन्मिएको विरोध तथा प्रदर्शनमा प्रहरीको गोलीले एक जनाको अकालमै मृत्यु समेत भयो।

स्थानीयबासीको एउटै दाबी रहिरह्यो - बिष्ट निर्मलाको हत्यारा हुन सक्दैन। त्यसो भए हत्यारा को हो त? स्थानीयको शङ्काको घेरामा निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता थिए। सरकारले कञ्चनपुर प्रहरी प्रमुखमा रहेका एसपी डिल्लीराज बिष्टलाई हटाएर कुवेरबहादुर कठायतलाई पठायो। त्यसको केही दिनमा प्रहरीले बम दिदी बहिनीलाई नियन्त्रणमा लियो। 

अहिले अदालतबाट म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ। उनीहरूको बयानसमेत प्रहरीले लिएको छ। तर, घटनामा लागेको पर्दा उघारिन सकेको छैन। दिदी बहिनीले हत्यारासम्म पुग्ने कुनै ‘क्लु’ दिएका छैनन्। उनीहरूले बारम्बार घटनाबारे जानकारी नभएकोमात्र बताइरहेका छन्।

स्थानीयको शङ्काको घेरमा रहेका अन्य व्यक्तिहरूमा पर्छन् एसपी डिल्लीराज बिष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा। एसपी बिष्टका छोरा किरण र मेयरका भतिजा आशुष बिष्ट। उनीहरूमाथि पनि अनुसन्धान हुनुपर्ने स्थानीयको माग थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यी दुवैसँग गत सोमवार र मङ्गलवार बयान लियो। तर, बयानबाट कुनै तथ्य हात पर्न सकेन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेरबहादुर कठायतले पहिलोपोस्टसित भने, 'हामीले दुवै जनासँग बयान लियौं र अनुसन्धान गरेका छौँ। तर प्रमाणका आधारमा उनीहरूको घटनामा कुनै संलग्नता देखिँदैन।'

एसपीका छोरा किरणले घटना भएको दिन जन्मदिन मनाउन व्यस्त भएको प्रहरीलाई बयान दिएका छन्। उनीहरूको निर्मलासँग चिनजान नै नभएको र कुनै पनि सम्पर्क नभएको प्रहरीको दाबी छ। एसपी कठायतले भने, 'हामीले सबै रेकर्डहरू हेर्यौं । उनीहरूको कहीँ कतै सम्पर्क भएको अहिलेसम्म देखिएन।'

स्थानीले शंका गरेका व्यक्तिहरूको कुनै सम्बन्ध नदेखिएपछि प्रहरीको यो दाबीले घटना झनै रहस्यमय बन्दै गएको छ। के त्यसो भए निर्मला घटनाका मुख्य अभियुक्त प्रहरीले सार्वजनिक गरेका दिलीप सिंह बिष्ट नै हुन् त?

मानसिक रोगी समेत भनिएका बिष्टलाई डीएनए र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ ल्याइएको छ। तर, उनको कुनै पनि रिपोर्ट आइसकेको छैन। रिपोर्ट आएपछि थप खुल्ने अनुसन्धानमा खटिएका एक अधिकृतले बताए। उनले भने, 'हामी रिपोर्टको प्रतीक्षामा छौँ। त्यसबाट थप खुलासा हुन सक्छ।'

समितिको गृहमन्त्रीलाई बिफ्र : केही प्रमाण नष्ट छन्

भदौ ७ मा सरकारले घटनाको छानविन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सह-सचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। समिति अहिले कञ्चनपुरमा रहेर घटनाको छानबिन गरिरहेको छ। छानबिन अन्तिम चरम पुगेको र केही दिनमा नै सरकारलाई प्रतिवेदन बुझाउने तयारी छ। बुधवार समितिका केही सदस्यले गृहमन्त्री रामबहादुर थापालाई भेटेका छन्। भेटमा उनीहरूले घटना रहस्यमय भएको जानकारी दिएका छन्। घटना भएपछि केही प्रमाणहरू नष्ट भएकाले पनि अनुसन्धानमा समस्या हुने जानकारी गराएको गृह मन्त्रालय स्रोतले जानकारी दियो।

निर्मला पन्तको नजिकैको उखुवारीमा शव फेला परेको थियो। पानी जमेको ठाउँमा शव भएकाले पनि प्रमाण नष्ट भएको हो। निर्मलाको सुरुवालमा बलात्कारको क्रममा भएको विर्य तथा अन्य प्रमाण पानीमा पखालेका कारण मेटिएको छ।

के दिलीपसिंह बिष्ट नै दोषी हुन त?

प्रहरीले घटना भएको २४ दिनपछि सार्वजनिक गरेका दिलीप सिंह बिष्ट नै मुख्य दोषी हुन सक्लान्? एसपी बिष्टका छोरा र मेयरका भतिजा दोषी नदेखिएपछि बिष्टमाथि नै प्रहरीको शंका बढेर गएको छ। प्रहरी डीएनए रिपोर्टको प्रतीक्षामा छ। समितिले गृह मन्त्रीलाई गरेको ब्रिफिङमा बिष्ट, बम दिदी बहिनी वा तेस्रो व्यक्ति हुन सक्ने बताइएको छ। तर, घटनाको पर्दा पछाडि रहेर सबै घटना हेरिरहेको तेस्रो व्यक्ति को हो भन्ने कसैले पत्ता लगाउन सकेको छैन। र, दिन बित्दैजाँदा घटना झनै रहस्यमय बन्दै गएको छ।

सम्वन्धित समचार

निर्मला हत्या प्रकरण : छानविन समिति अन्तिम चरणमा, कुन अनुसन्धान कहाँ पुग्यो?

निर्मला हत्या प्रकरण : यसकारण परे एसपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell