PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कम्पनीको साहुकै कीर्ते गरेर ७० करोडको ठगी प्रयास, अन्तत: फन्दामा परे जीतबहादुर



सविन ढकाल

कम्पनीको साहुकै कीर्ते गरेर ७० करोडको ठगी प्रयास, अन्तत: फन्दामा परे जीतबहादुर

काठमाडौं : कीर्ते कागजपत्र बनाइ ७० करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने १२ जनलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधवार राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।  

३३ वर्षीय जीतबहादुर मगर लगायतका अन्य व्यक्तिहरु मिलेर शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष हुँ भनी कम्पनीको नाममा काठमाडौंको बालुवाटरमा रहेको तीन रोपनी जग्गा, घर, सतुंगलमा रहेको जग्गा र अन्य ठाँउमा जग्गा बिक्री गर्ने वैना समेत दिएको खुल्न आएको व्यूरोका एसपी सानुराम भट्टराईले बताए। एसपी भट्टराईले भने, 'आफूलाई कम्पनीको अध्यक्ष देखिने नक्कली कागजपत्र बनाएर कम्पनीको जग्गा बिक्री गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएका हौं।' 

फलो अप :  शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको ठगी प्रकरण : मन्त्रीको निर्देशन कर्मचारीले टेरेनन्, ठगकै भए मतियार

प्रहरीले ४५ वर्षीय राजनप्रसाद लम्साल, ४० वर्षीय निरज कुमार मानन्धर, पुण्यप्रसाद खरेल, राजकुमार तामाङ, ३१ वर्षीय हिमाल महर्जन,  २८ वर्षीय अमृत थापा मगर, ५५ वर्षिय चिरीबाबु महर्जन लगायत १२ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुविरुद्ध विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराध मुद्धामा अनुसन्धान भइ अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेको एसपी भट्टराईले बताए। 

कम्पनी रजिष्टारको कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायण प्रसाद पोखरेल र उमेशमान जोशी तथा कम्पनी रजिष्टारको कार्यालय शाखामा करारमा कार्यरत ‍दुई जना कर्मचारीहरूलाई समेत पक्राउ गरिएको साथै कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत अन्य २ जना हाल फरार रहेको प्रहरीले जनाएको छ ।

यसरी ठग्ने योजना

रामेछाप सुनापाती गाविस वडा नम्बर १ बस्ने ३३ वर्षीय जीतबहादुर मगर शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिका संचालक एवं अध्यक्ष। काठमाडौं चुनदेवी बस्ने भारतीय नागरिक राम निरंजन जटियाको घरमा विगत १६ वर्षदेखि काम गर्दै आएका व्यक्ति हुन्, उनी। उनै मगरले राजनप्रसाद लम्साल, निरज कुमार मानन्धरको मुख्य सहयोगमा  जटियाको घरबाट कम्पनीको आवश्यक कागजपत्र चोरी गरे। उनीहरुले मिलेर नक्कली कागजात, सहीछाप र हस्ताक्षर कीर्ते पनि गरे। अध्यक्ष जटियाको नामको सम्पूर्ण शेयरहरू खरिद गरेको कागजपत्र बनाइ कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिए। कम्पनी रजिष्टारको कार्यालयबाट जीतबहादुर मगरको नाममा नामसारी समेत गराउन सफल भए। अनि सुरु गरे ठगीको धन्दा। 

उनीहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको संचालक समितिको वैठकको निर्णय भनी शेयरधनी संचालक राम निरंजन जटियाले जीतबहादुर मगरलाई कम्पनीको ७५% बराबर हुन आउने १८ हजार ७ सय ५० थान शेयर बिक्री गरेको भनी कीर्ते कागज बनाउन समेत भ्याएका थिए। विशेष साधारणसभाको वैठकबाट जीतबहादुर मगरले आफुलाई अध्यक्ष बनाएको, राम निरंजन जटियालाई संञ्चालक भनी उल्लेख गरेका थिए।

गत असारमा राम निरजंन जटियाको संञ्चालक पदबाट राजीनामा स्वीकृतिको निवेदनसमेत पेश गरेको कागजात तयार पारियो। साथै कम्पनीको अर्को संञ्चालक समितिको वैठकले कम्पनीको २५% बराबर हुन आउने ६ हजार २ सय ५० थान शेयर राम निरंजन जटियाबाट जीतबहादुर मगरले खरिद गरेको कागजसमेत बनाए। र, कम्पनीको अर्को विशेष वैठकबाट जीतबहादुर मगरको नाममा मात्र १ जनाको संचालक समिति हुने भनी निर्णय गरे। 

कम्पनी रजिष्ट्रार कार्यालयको गत असार २७ र ३२ गतेको निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर लगत राम निरंजन जटियाको नामबाट जीतबहादुर मगरको नाममा नामसारी भयो।

त्यसपछि बालुवाटार बस्ने राजभाइ श्रेष्ठलाई कम्पनीको शेयरधनी संचालक हुँ भनी कागजात समेत देखाई जीतवहादुर मगरले बालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रति आना २१ लाख २५ हजारको दरले खरिदका लागि बैंक मार्फत् १ करोड बैना लिए।  

कान्तिपुरमा साउन ११ गते प्रकाशित विज्ञापन
तर, शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी संचालक राम निरंजन जटियाले गत साउन ११ गते कान्तिपुर दैनिकमा जीतबहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुँदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी भयो।

जीतबहादुर मगरले साउन १६ गते नयाँ पत्रिका दैनिकमा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर र घर जग्गा समेत राम निरंजन जटियाको मन्जुरीमा कम्पनी रजिष्टारको कार्यालयबाट जीतबहादुर मगरको नाममा नामसारी भइसकेकाले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिका नाममा भएको घर जग्गा खरिद गर्दा बाधा पर्ने छैन भनी सार्वजनिक सूचना जारी गर्छन्।

नयाँ पत्रिकामा प्रकाशित विज्ञापन

त्यसको भोलिपल्टै राम निरंजन जटियाले मिति २०७५ साउन १७ गते नागरिक दैनिकमा मञ्जुरीबेगर जीतबहादुर मगरले सहीछाप हस्ताक्षर कीर्ते गरी शेयरधनी संचालक अध्यक्ष राम निरंजन जटियाको नामको सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुँदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी गर्छन्। त्यसपछि अन्तत: मगरको ठगीको रहस्य बाहिरियो। 

नागरिकमा प्रकाशित विज्ञापन

कम्पनी जटियाकै नाममा फिर्ता

कीर्ते गरेर जीतबहादुर मगरको नाममा बनाइएको शंकर इलेक्ट्रोनिक्स अहिले राम निरंजन जटियाकै नाममा बनाइएको छ। कम्पनी रजिष्टार कार्यलयबाट पछिल्लो समय गरिएका सबै निर्णय खारेज गरेसँगै कम्पनी जटियाकै नाममा फिर्ता भएको हो।

जटिया विदेशी नागरिक भएकाले उनले कम्पनीको नाममा काठमाडौंका विभिन्न स्थानमा २० रोपनी जग्गा र घर छ। २५ लाख रुपैयाँ पुँजी भएको कम्पनीको शेयर कीर्ते गरेर किन्नुको पछि करिब ७० करोड रुपैयाँ बराबरको त्यही घरजग्गा कारण थियो।

कीर्ते कागजपत्र बनाइ ७० करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने मगर सहित १२ जनलाई प्रहरीले पक्राउ गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell