PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राज्यको गोपनीयता भंग गरेको आरोपमा रोयटर्सका पत्रकारहरु दोषी ठहर



राज्यको गोपनीयता भंग गरेको आरोपमा रोयटर्सका पत्रकारहरु दोषी ठहर
फोटो: EPA

नेपीडह: म्यान्मारको अदालतले रोहिंग्या मुस्लिम समुदायको नरसंहारसम्बन्धी समाचार संकलन गर्ने रोयटर्स समाचार संस्थासँग आबद्ध दुईजना पत्रकारलार्इ गोपनीयता कानुन उल्लंघनको आरोपमा दोषी ठहर गरेको छ।

गत डिसेम्बरदेखि म्यान्मारमा कुख्यात इन्सेन जेलमा रहेका ३२ वर्षीय वा लोन र २८ वर्षीय क्या सो ओउलार्इ अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ। 

प्रहरीले नै प्रदान गरेको दस्तावेजहरु बोकेर हिड्डै गर्दा उनीहरुलार्इ पक्राउ गरिएको थियो। उनीहरुले आफूहरुलार्इ फसाउन प्रहरीले नै षड्यन्त्र गरेको बताउँदै आएका छन्। 

अदालतको फैसला पश्चात बोल्दै वा लोनले भने 'मलार्इ कुनै डर छैन। मैले केही गल्ती गरेको छैन। मलार्इ न्याय, प्रजातन्त्र र स्वतन्त्रतामा विश्वास छ।'

रोयटर्सका प्रधान सम्पादक स्टेफेन अल्डरले 'आजको दिन म्यान्मार, हाम्रा दुर्इ पत्रकार र विश्वभरको प्रेस स्वतन्त्रताका लागि सबै भन्दा दुखद दिन हो' भनेका छन्। 

अदालतमा न्यायाधीश यि एलविनले दुवै पत्रकारहरुले राज्यका नीतिहरु विरुद्ध कार्य गरेको र गोपनियता भंग गरेको आरोपमा दोषी देखिएको बताएका थिए। दोषी ठहर गरिएका दुवै पत्रकारहरु रोयटर्समा कार्यरत म्यानमारका नागरिक हुन्। 

दुबै पत्रकारले सेप्टेम्बर २०१७ मा द्वन्द्व प्रभावित रखाइन राज्यमा मारिएका १० जना रोहिंग्या मुस्लिमका बारेमा अनुसन्धान गरिरहेका थिए।

म्यान्मारमा गतवर्षको अगस्टमा रखाइन राज्यमा सेनाको निर्मम दमनबाट जोगिन करिब सात लाख रोहिंग्या मुस्लिम समुदाय बंगलादेश पलायन भएका थिए। केही दिन अघि मात्रै संयुक्त राष्ट्रसंघले म्यान्मारका रोहिंग्या अल्पसंख्यकको जातीय नरसंहारमा म्यान्मारका सेनाप्रमुख र उच्च सैनिक अधिकारीहरु दोषी देखिएकाले उनीहरुमाथि मानवता विरुद्धको अपराध र युद्ध अपराधको मुद्दा चलाउनुपर्ने निष्कर्ष सहितको प्रतिवेदा सार्वजनिक गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell