PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

दुई हप्तादेखि १५ वर्षीया छात्रा संसद भवन अगाडि हडतालमा, 'नेताहरु कुरा सुनिरहेको छैनन्, किन पढ्नु?'



दुई हप्तादेखि १५ वर्षीया छात्रा संसद भवन अगाडि हडतालमा, 'नेताहरु कुरा सुनिरहेको छैनन्, किन पढ्नु?'
फोटो: theguardian.com

'यदि राजनीतिज्ञहरु आसपासका गतिविधिप्रति सचेत छैनन् भने विद्यालयमा मात्र गएर पढ्नु कुनै अर्थ हुँदैन।' 

यही कुरा बुझेर १५ वर्षीया छात्रा ग्रेटा थनबर्ग आफूलाई प्रभावकारी लागेको तरिकाले विरोध प्रदर्शन गर्दैछिन्, त्यो पनि स्वीडेनको संसद भवन अगाडी। थनबर्गले स्वीडेनमा सेप्टम्बर ९ का दिन हुने आम निर्वाचन सम्म विद्यालय जान अस्वीकार गर्दै हड्ताल गर्दैछिन्। कारण हो, वातावरण संकट तर्फ नेताहरुको ध्यान आकर्षित गर्न।

२६२ वर्ष अघिका सबै रेकर्डहरु ब्रेक गर्दै स्वीडेनमा लागेको डढेलो र तापक्रम बृद्धिसँगै चलेको तातो हावाकाबीच थनबर्गको हडतालले सबैको ध्यान आकर्षित गरेको छ।

दुई हप्तादेखि लगातार थनबर्ग हातमा प्लेकार्ड बोक्दै सेन्ट्रल स्टकहोल्ममा रहेको संसद भवनबाहिर चुपचाप बस्दै आएकी छिन्।

उनको प्लेकार्डमा लेखिएको छ 'म यो गर्दै छु किन भने तिमीहरु मेरो भविष्य प्रति खेलवाड गर्दै छौं।'

उनी भन्छिन 'म यो गर्दै छु किनभने अरु कोही पनि केही गर्दै छैनन्। म जे गर्न सक्छु त्यो गर्नु मेरो नैतिक दायित्व हो। वातावरण सम्वन्धी मुद्दाहरुलाई नेताहरुले प्राथमिकता दिनुपर्ने, वातावरण परिवर्तन प्रति सचेत हुनुपर्ने र त्यसलाई एक संकटका रुपमा लिइयोस् भन्ने मेरो धारणा हो।'

जब मानिसहरु उनलाई त्यहाँ हडताल बस्नु भन्दा विद्यालय जानुपर्ने सुझाव दिन्छन् तब ग्रेटा उनीहरुलाई आफ्नो झोलामा रहेको किताब देखाउँछिन्।

उनी भन्छिन् ' मेरो किताब यही छ। म के गुमाइरहेको छु, म त्यसको बारेमा सोच्दैछु। मैले विद्यालयमा गएर के पढ्ने? तथ्यहरु कसैका लागि महत्वपूर्ण छैन। नेताहरु वैज्ञानिकहरुका कुरा सुनिरहेको छैनन्। त्यसैले म किन पढ्नु?'

वातावरण र पर्यावरणीय दृष्टिकोणले सन्तुलित र उत्कृष्ट मानिएको स्वीडेनका लागि थनबर्गको आन्दोलन 'सरप्राइज ' का रुपमा आएको छ। यो वर्ष मात्र स्वीडेनले वातावरणका सम्बन्धमा 'विश्वमै सबैभन्दा महत्वकांक्षी रहेको कानुन' लागु गरेको थियो। त्यसबाट स्वीडेनले २०४५ भित्र कार्बनबाट मुक्त हुने लक्ष्य लिएको छ। यसले सन् २०१५ मा पेरिस सम्मेलनले अख्तियार गरेको नीतिहरुलाई समेत उछिनेको थियो।

थनबर्ग भन्छिन् 'यो धेरै ढिला भयो,  चाँडै हुनुपर्छ। स्वीडेन हरियालीको स्वर्ग हो। यहाँ कार्बनका सबैभन्दा धेरै फुटप्रिन्टहरु छन्।'

तर उनका अभिभावकहरु भने उनले हडताल त्याग्दै विद्यालय जानु पर्ने पक्षमा छन्। थनबर्ग भन्छिन् 'मेरा शिक्षकहरु विभाजित छन्। मानव भएको नाताले मैले जे गरिरहेको छु त्यसलाई उनीहरुले राम्रो भनेका छन्। तर शिक्षकका नाताले उनीहरु मलाई रोकिन र विद्यालय आउन भनिरहेका छन्।'

थनबर्गलाई पढाउने एक शिक्षक उनीलाई आन्दोलनमा साथ दिइरहेका छन्। २६ वर्षे बेनजामिन वान्गरले हडतालमा बसेका कारण तीन हप्ताको तलब नपाउन सक्छन्। यो भन्दा ठूलो खतरा भनेको उनले आफ्नो जागिर नै गुमाउन सक्छन्।

वान्गर भन्छन् 'जसरी पहिलो विश्व युद्ध रोक्न प्रयत्न गरिएको थिएन, त्यसरी नै वातावरण परिवर्तन रोक्न नसक्नु हाम्रो कमजोरी हो। हामीलाई वर्षौं देखि थाहा थियो कि यो समय आउँदैछ। उनीहरु ले यसका लागि धेरै सम्मेलन गरे। तर अझै उनीहरुले यसलाई रोक्न सकेनन्।'

'ग्रेटा निकै साहसी छिन्। उनी नेताहरुको कुरामा छिट्टै विश्वास गर्दिनन्। हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौं। यो अवस्थामा हामीले यो भन्दा राम्रो तर्क दिन सक्दैनौं।'

स्वीडेनका नागरिकहरुमा वातावरण सम्बन्धी चेतना नभएको भने होइन। स्वीडेनका ६० जंगलमा आगलागी हुनुभन्दा अघि भएको आम निर्वाचनमा लेफ्ट गठबन्धन सरकारमा रहेको 'दी ग्रिन पार्टी'ले राम्रो नतिजा ल्याउन सकेको थिएन। अहिले सो पार्टीको समर्थनमा धेरै नागरिकहरु रहेका छन्।

ग्रिन पार्टीका सांसद एल्म एरिक्सन भन्छन् 'ग्रेटाको साहस र द्दढताले म धेरै प्रभावित भएको छु। तर म दुखी पनि छु किनभने उनी त्यो स्थानमा छिन्। स्वीडेनका राजनीतिक दलले यस विषयमा धेरै चासो दिन सकेनन्। हामीले अत्याधिक गर्मी मौसमलाई धन्यवाद दिनुपर्छ किनभने यसले मानिसहरुलाई वातावरण परिवर्तनको बारे सोच्न र यसको रोमथाम नगरे हुने विपत्तीको बारे सोच्न बाध्य बनाएको छ।'

संसद भवन बाहिर ग्रेटालाई साथ दिइरहेकी छिन् ४५ वर्षिया 'आर्ट डाइरेक्टर' स्टेला एल्ली। उनी भन्छिन् ' हामीले फाल्ने फोहोरको व्यवस्थापन गर्न स्वीडेन सक्षम छ। तर प्लास्टिकका बोटल र अन्य वस्तुको प्रयोग न्यूनिकरण गर्न हामी केही गरी रहेका छैनौं। हामीलाई आमूल परिवर्तन चाहिएको छ। ' 

थनबर्गकी आमा मलेना अर्मान एक चर्चित ओपेरा गायिका हुन्। उनले आफ्नो अन्तर्राष्ट्रिय करियर वातावरण परिवर्तनका कारण हवाइ क्षेत्रमा देखिएको संकटका कारण छोड्नु परेको थियो।

ग्रेटाका पिता स्भान्टे भन्छन्  'ग्रेटाले हामीलई हाम्रो जीवनशैली परिवर्तन गर्न बाध्य बनाइन्। मलार्इ वातावरणको बारेका केही थाहा थिएन। हामीले त्यस प्रति ध्यान दिन थाल्यौं। हामीले पढेको सबै किताब ग्रेटाले नि पढेकी थिइन्।'

ग्रेटाकी शिक्षकहरुले उनलाई बत्ती निभाउन, कागज बचाउन र बिदामा न्यूयोर्क जान भनेका थिए। तर ग्रेटा यसमा सहमति हुन सकिनन्।

सामाजिक संजालमा उनले लेखेको लेख निकै चर्चित भएको थियो। उनी लेख्छिन्  'धेरै मानिसहरु केही प्रयास नगरी वा केही त्याग नै नगरी हामी यो संकट समाधान गर्न सक्छौं भन्ने कुरामा विश्वास गर्छन्।..'

ग्रेटाका पिताका अनुसार हडतालका क्रममा उनले धेरै गृहकार्य र तीन वटा किताब पढ्न भ्याइन।

स्भान्टे भन्छन् 'खासमा अहिले ग्रेटा विद्यालयमा हुनुपर्ने हो। उसले लिएको यो कदमको हामी समर्थन गर्न सक्दैनौं। उनी घरमै दुखी हुँदै बस्न सक्थिन् वा विरोध गर्न सक्थिन्।'

ग्रेटालाई 'एसपर्जस सिनड्रोम' (समाजमा घुलमिल हुन, कुरा गर्न गाह्रो हुनु) रहेको र यसबाट बेलाबेलामा उनको स्वास्थ्यमा असर परेको थियो। तर उनले आफ्नो यो सिनड्रोमलाई कमजोरीको रुपमा नभई 'गिफट' का रुपमा लिएकी छिन्। यसले उनलाई वातावरण संकटका विरुद्ध आवाज उठाउन सहयोग गरेको छ।

ग्रेटा भन्छिन् 'मेरो आन्दोलनको  राम्रो पक्ष भनेको कतिको संख्यामा मान्छेहरु आउँछन् र यस कार्यमा संलग्न हुन्छन् भन्ने हेर्नु हो। विद्यालयमा मैले समस्या भोग्नु परे मलाई मतलब छैन। मलाई विश्वास छ कि एक व्यक्तिले विश्वमा फरक पार्न सक्छ, परिवर्तन ल्याउन सक्छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell