PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

यी हुन् चौथो बिम्स्टेक सम्मेलनका निर्णय



यी हुन् चौथो बिम्स्टेक सम्मेलनका निर्णय

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले बिम्स्टेकको १९९७ मा जारी बैंकक घोषणापत्रको कार्यान्वयनलाई पुनः प्रतिवद्धतासमेत जारी गरेको छ।

सम्मेलनले गरिवी निवारण यस क्षेत्रको विकासको मुख्य चुनौती भएको भन्दै दीगो विकाको एजेण्डा २०३० लक्ष्य प्राप्तिका लागि एक जुट भएर काम गर्ने प्रतिवद्धासमेत जारी गरेको छ। 

‘सम्मेलनले यस क्षेत्रको आर्थिक समृद्धि तथा सामाजिक विकासको मुख्य कारक व्यापार, लगानीलगायतका बहुआयामिक कनेक्टिभिटी कारकको रुपमा जोड दिएको छ,’ सम्मेलन समापन पछि आयोजित मिडिया व्रिफिङमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘यस क्षेत्रका अति कम विकसित तथा भुपेरिवेष्ठित राष्ट्रको मूलभूत आवश्यकताहरुको पहिचान गर्दै उनीहरुको विकास प्रक्रियामा अर्थपूर्ण सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त भएको छ।’ 

आतंकवाद र यसका सबै रुपहरुलाई निष्तेज पार्न आवश्यक पहलकदमी लिने विषयमा बिम्स्टेक सदस्य राष्ट्रका नेतृत्वबीच छलफल समेत भएको उनले जानकारी दिए। 

सम्मेलनले सन् २०१४ मा म्यानमारमा भएको तेस्रो सम्मेलन पछिका कार्य प्रगतिको समिक्षा समेत गरेको छ। 

यी हुन् सम्मेलनका निर्णयहरु

•    काठमाडौंमा सम्पन्न सम्मेलनले बिम्स्टेकका काम कारवाहीलाई अगाडि बढाउनका लागि बिम्स्टेक स्थायी कार्यसमिति (बीपीडब्लुसी) गठन गर्ने निर्णय गरेको छ। यो समितिले बिम्स्टेक सचिवालय र बिम्स्टेक सेन्टर तथा संस्थाहरुको प्राशासनीक तथा आर्थिक विषयमा काम गर्ने छ। 

•    सम्मेलनले बिम्स्टेक चार्टरको मस्यौदा तयार गर्ने निर्णय गरेको छ। संगठनको दीर्घकालिन भिजन, साझेदारीका प्रथामिकताहरुलाई परिभाषित गर्ने गरी चार्टरको मस्यौदा तयार गर्ने निर्णय भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। यस चार्टरलाई बिम्स्टेकको कार्यसमितिले तयार पार्ने र पाँचौ सम्मेलनले ग्रहण गर्नेछ। 

•    सम्मेलन बिम्स्टेक सयन्त्रका लागि कार्यसञ्चालन नियम हरु (आरओपी) विकास गर्न सहमत भएको छ। 

•    सम्मेलनले बिम्स्टेक विकास कोष (बीडीएफ) स्थापनाको सम्भाव्यतालाई अध्ययन गर्न निर्देश गरेको छ। कोषमा सदस्य राष्ट्रबाट स्वेच्छिक रुपमा योगदान गर्न सक्ने छन्। 

•    सम्मेलनले बिम्स्टेकको सचिवालयको क्षमता वृद्धिका गर्न सहमत भएको छ। बिम्स्टेकका योजना तथा कार्यक्रमहरुको कायान्वयनका लागि त्यसका लागि आर्थिक तथा मानव शंसाधनलाई व्यवस्थित गर्ने निर्णय भएको छ। त्यस्तै बिम्स्टेकका निर्देशकहरुको संख्या ७ पु¥याउने निर्णय भएको छ। प्रत्येक सदस्य राष्ट्रबाट एक-एक निर्देशक राख्न सहमति जुटेको छ। 

•    विद्यमान साझेदारीका प्राथमिक क्षेत्रहरुको समिक्षा, पुननिर्धारण गर्न सम्मेलन सहमत भएको छ। यस विषयमा काम बिम्स्टेकको कार्यसमितिले गर्ने छ। 

•    चौथो सम्मेलनले गरिबी निवारणका लागि दीगो विकासको एजेण्डा २०३० कार्यान्वयन गर्दै वंगालको खाडी क्षेत्रमा २०३० भित्र गरिवि निवारण गर्ने प्रतिवद्धा समेत जारी गरेका छन्। 

•    बिम्स्टेकले कनेक्टिभिटीलाई जोड दिँदै मल्टी मोडेल ट्रान्सपोटेसन लिंकेजलाई जोड दिँदै पारवहान सुविधानलाई सहज बनाउँदै हाइवे, रेलवे, वाटर वे, सी रुट, एयरवे विस्तार तथा आधुनिकिकरण गर्ने सहमति भएको छ। 

•    त्यस्तै सम्मेलनले बिम्स्टेक कोस्टल सिपिङ एग्रिमेन्ट र बिम्स्टेक मोटर भेइकल एग्रिमेन्टलाई यथासिघ्र सम्पन्न गर्न निर्देश समेत दिएको छ। 

•    त्यस्तै बिम्स्टेक यातायात कनेक्टिभिटी सम्बन्धि बिम्स्टेक मास्टर प्लानलाई कार्यान्वयनका लागि बिम्स्टेक कार्यटोलीलाई कार्यान्वयन तथा मोडालिटी तयार गर्न निर्देश समेत दिएको छ। 

•    त्यस्तै यसक्षेत्रमा हाइस्पीड इन्टरनेट तथा मोवाइल सुविधा उपलब्ध गराउनका लागि सम्मेलनले सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कार्यटोली गठन गर्ने निर्णय गरेको छ। 

•    व्यापार तथा लगानीका क्षेत्रमा सम्मेलन बिम्स्टेक फ्रि ट्रेड एरिया (एफटीए) सम्बन्धि यसअघिका छलफलका निष्कर्षलाई कार्यान्वयन गर्न सम्मेलनले प्रतिवद्धता जनाएको छ। 

•    सम्मेलनले बिम्स्टेक भिसा सहजताका लागि मोडालिटी तयार गर्न यससम्बन्धि विज्ञहरुको समूहलाई जिम्मा दिने सहमति जुटाएको छ। 

•    बिम्स्टेकमा आतंकवाद तथा अन्तरदेशीय संगठित अपराध नियन्त्रणका लागि कानुन कार्यान्वयन, गुप्तचर तथा सुरक्षा निकायबीचको साझेदारीलाई मजबुध बनाउने निर्णय गरेको छ। साथै यसका लागि गृहमन्त्री स्तरीय बैठक गर्ने निर्णय भएको छ। 

•    सम्मेलनले प्रकृतिक प्रकोप व्यवस्थापनका लागि अन्तरसरकारी विज्ञ समूहको गठन गरी कार्ययोजना बनाउने निर्णय गरेको छ। 

•    सम्मेलनले जलविद्युत तथा नविकरणीय उर्जाको क्षेत्रमा उर्जा साझेदारीका लागि अन्तर सरकारी विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ। सम्मेलनले बिम्स्टेक ग्रिड इन्टरकनेक्स सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकोमा स्वागत गर्दै बिम्स्टेक उर्जा केन्द्रको सञ्चानल गरी उर्जा साझेदारीमा जोडसमेत दिएको छ। 

२०२० मा नेपालले बिम्स्टेक पर्यटन कनक्लेभ गर्ने

यसैबीच नेपालले पर्यटन वर्षलाई लक्षित गरी बिम्स्टेक पर्यटन कनक्लेभ गर्ने भएको छ। नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदै छ। सोही सन्दर्भमा नेपालले बिम्स्टेक पर्यटन कनक्लेभको आयोजना गर्ने भएको हो। 

सम्मेलनले नेपालको यो घोषणलाई स्वागत गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell