PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म्यानमारबाट १९७७ पछिकै उच्चस्तरीय भ्रमण : राजधानी उत्रिए राष्ट्रपति मिन्ट



विधुर ढकाल

म्यानमारबाट १९७७ पछिकै उच्चस्तरीय भ्रमण : राजधानी उत्रिए राष्ट्रपति मिन्ट

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आएका छन्। म्यानमारबाट नेपाल भ्रमण गर्ने उनी हालसम्मकै उच्च अधिकारी हुन्। सन् १९७७ मा म्यानमारका अध्यक्ष (सेना प्रमुख) जनरल ने वीनको नेपाल भ्रमणपछि म्यानमारबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो। 

म्यानमारका राष्ट्रपति मिन्टको यो भ्रमणलाई नेपालले औपचारिक सद्भाकव भ्रमणको रुपमा समेत अगाडि बढाएको छ। मिन्ट विम्स्टेकको सम्मेलनका लागि नेपाल आउने पहिलो विदेशी भीभीआईपीसमेत भए। 

नेपाल भ्रमणमा रहेका राष्ट्रपति मिन्ट ३० मार्च २०१८ मा म्यानमारको राष्ट्रपतिमा निर्वाचित भएका थिए। म्यानमारमा लामो समयसम्म सैनिक शासन कायम भयो। सन् २०११ मा पुनः प्रजातन्त्रको स्थापना भएपछि राष्ट्रपति बन्ने मिन्ट चौथो नेता हुन्। 

नेपाल–म्यानमार सम्बन्ध

नेपाल र म्यानमारबीच १५० वर्ष पुरानो सम्बन्ध छ। म्यानमारमा नेपाली मुलका मानिसहरु छन्। तत्कालीन वर्मा र हालको म्यानमारमा वेलायती शासन हुँदा सैनिकका रुपमा गएका अधिकांश वर्मेली गोरखालीहरु त्यहाँ बसोवास गर्दै आएका छन्। उनीहरु नेपालबाट बसाई सरेर म्यानमार पुगेका थिए। 

हाल म्यानमारमा करिब ५ लाखको हाराहारीमा नेपाली मुलका नागरिकहरु रहेका छन्। वेलायती शासनसँगै उनीहरु म्यानमारमा पसेका थिए। उनीहरुले विश्व युद्धमा वेलायती पक्षबाट लडाइ लडेका थिए। सन् १९४८ मा बर्मा स्वतन्त्र भएपछि उनीहरु बर्मा सैनिकमा भर्ती भए। अहिले पनि गोर्खालीहरु म्यानमार सैनिकका मुख्य हिस्सा रहँदै आएका छन्। गोर्खा सैनिकले म्यानमारमा विभिन्न जातीय हिंसा नियन्त्रण तथा कुमिङतान युद्ध समेत लडेका थिए। 

म्यानमारमा रहेका अधिकांश गोर्खाहरु बौद्ध र हिन्दु धर्म मान्छन्। म्यानमारमा समेत उनीहरुले नेपाली भाषा नै बोल्दै आएका छन्। 

म्यानमारको ८८ प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्वी हो। म्यानमारमा रहेर उच्च सम्मान पाउने नेपाली मुलका सुकबहादुर राई हुन् जसले आङ साङ थुरिया अवार्ड पाएका छन्। यो अवार्ड म्यानमारको उच्च सम्मान हो। उनी म्यानमारको फुटबल टोलीका क्याप्टेन समेत थिए। उनले सन् १९५२ देखि १९७० सम्म म्यानमारको फुटबल टोलीको नेतृत्व गरेका थिए। उनलाई त्यहाँ महान फुटबलरका रुपमा लिइन्छ। 

कूटनीतिक सम्बन्ध र उच्चस्तरीय भ्रमण

नेपाल र म्यानमारबीच सन् १९६० मार्च १९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो। 

त्यसपछि पहिलो पटक त्यहाँका सैनिक शासक जनरल ने वीनले नेपाल भ्रमण गरेका थिए। त्यस्तै, उनले दोस्रो पटक सन् १९७७ मा पुनः नेपाल भ्रमण गरेका थिए। 

सन् १९७५ मा वीरेन्द्रको राज्याभिषेक समारोहमा म्यानमारका प्रधानमन्त्री   यु सेङ विङ  नेपाल आएका थिए।  

सन् २००८ मा म्यानमारको परराष्ट्र सहायक मन्त्री यु क्वि थुले नेपालको अनौपचारिक भ्रमण गरेका थिए। त्यस्तै सन् २०१० फेब्रुअरी १५ देखि १८ सम्म दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वषगाँठ समारोहमा सहभागी हुन म्यानमारका परराष्ट्रमन्त्री नियन वीनल नेपाल आएका थिए। 

सन् २०१४ जुनमा त्यहाँको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसीकी अध्यक्ष तथा हालकी स्टेट काउन्सिलर (सरकार प्रमुख) आङ साङ सुची नेपाल आएकी थिइन्। 

नेपालबाट म्यानमार भएको उच्चस्तरीय भ्रमण

नेपालबाट पहिलोपटक उच्चस्तरीय भ्रमण सन् १९७० अप्रिलमा भएको थियो। राजा महेन्द्रले म्यानमारको पहिलो राजकीय भ्रमण गरेका थिए। त्यस्तै सन् १९८० को मार्चमा राजा वीरेन्द्रले म्यानमारको अनौपचारिक भ्रमण गरेका थिए। 

१९८० मै तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले म्यानमारको भ्रमण गरेका थिए। त्यस्तै, तत्कालीन प्रधानमन्त्री शुसील कोइरालाले सन् २०१४ को मार्चमा म्यानमारको भ्रमण गरेका थिए। म्यानमारमा सम्पन्न विम्स्टेकको तेस्रो शिखर सम्मेलनमा सहभागी हुनका लागि तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँगै कोइराला म्यानमार पुगेका थिए। 

सन् २००१ मा परराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला र सन् २००९ मा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजता कोइराला विम्स्टेकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन म्यानमार पुगेका थिए। 

सन् २०१६ मा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०१७ मा म्यानमारको भ्रमण गरेका थिए। 

सन् २०१६–२०१७ मा म्यानमारबाट २५ हजार पर्यटक नेपालको भ्रमणमा आएका थिए। म्यानमारले भगवान गौतम बुद्धको जन्मभूमि लुम्विनीमा प्यागोडा र विहार निर्माण गरेको छ। त्यस्तै म्यानमारको एक बौद्ध चैत्यमा नेपालले उपलब्ध गराएको १६ काठका प्यानल प्रयोग गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell