PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसिया कप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियातर्फ, श्रीलंकामा राम्रो तयारी भएको प्रशिक्षक टमाटाको भनाई



गोविन्दराज नेपाल

एसिया कप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियातर्फ, श्रीलंकामा राम्रो तयारी भएको प्रशिक्षक टमाटाको भनाई
फोटो : रमन शिवाकोटी

काठमाडौँ : मलेसियामा यही बुधवारबाट सुरु हुने एसिया कप छनोट क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंकाबाट त्यसतर्फ प्रस्थान गरेको छ।

छनोट प्रतियोगिताअघि तयारीसहित अभ्यास खेल खेल्नका लागि नेपाली टोली गत सोमवार श्रीलंका गएको थियो। श्रीलंकामा तीन अभ्यास खेल खेलेपछि नेपाली टोली त्यतंबाट मलेसिया गएको हो।

पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा यस पटक विनोद भण्डारी र सागर पुनले समेत कमब्याक गरेका छन्।

श्रीलंकामा खेलेको तीनवटै अभ्यास खेलमा नेपाल विजयी भएको थियो।

जसमा कप्तान पारस खड्कासहित युवा खेलाडीहरु दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरेका थिए।

नेपाली टोलीका एक सदस्य सन्दीप लामिछाने भने सीपीएलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओटसमा अनुबन्ध भएका कारण उतैबाट मलेसिया जाँदैछन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले श्रीलंकामा राम्रो तयारी भएको बताए। ‘श्रीलंकामा राम्रो तयारी भयो। खेलाडीहरु सबै फर्ममा छन्।‘ श्रीलंकाबाट टमाटाले पहिलोपोस्टसँगको अनलाइन कुराकानीमा भने।

अभ्यासमा टप अर्डर ब्याट्म्यासले समेत राम्रो खेलेको टमाटाले बताए।

ओपनिङ नेपाली टोलीको लागि सँधै समस्याको रुपमा रहने गरेको छ। उपकप्तान ज्ञानेन्द्र मल्लले अभ्यासमा राम्रो खेलेपनि उनलाई कसले साथ दिने भन्ने निश्चित छैन। ज्ञानेन्द्र बाहेक सुबास खकुरेल र अनिल शाह पनि ओपनिङको लागि विकल्पका रुपमा छन्।

यस्तै गत डिसेम्वरमा वर्ल्ड क्रिकेट लिग च्याम्पियन खेलेपछि कमब्याक गरेका सागर पुनले पनि अभ्यासमा राम्रो खेले। सम्भवत उनले मिडल अर्डरमा ब्याटिङ गर्नेछन्।

फिनिसरको उपनाम पाएका ब्याट्सम्यान शरद भेषावकर चोटका कारण टिममा नपरेपछि नेपाली टोलीको मिडल अर्डरमा केही फेरबदल हुने पक्का छ। युवा खेलाडीद्वय आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अभ्यासमा गरेको प्रदर्शन छनोटअघि नेपालको लागि सकरात्मक पक्षको रुपमा रहेको छ।

‘दीपेन्द्रले श्रीलंकामा धेरै राम्रो इनिङ्स खेलेको छ। उसँग कन्फिडेनस्स पनि राम्रो छ। यसले छनोटमा पनि सहयोग गर्छ।‘ टमाटाले भने।

सन्दीप लामिछानेबिनै पनि नेपालका भेट्रान स्पिनर बसन्त रेग्मी र ललित राजवंशीले अभ्यासमा राम्रो गरे।

यसबाहेक फास्ट बलिङ डिपार्टमा पनि सोमपाल कामी, करण केसी र ललित भण्डारीले प्रदर्शनमा सुधार गरे।

एसियाका टेष्ट खेल्ने राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसरको रुपमा रहेको एसिया कप छनोटमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। छनोटको विजेताले सेप्टेमवरमा युएईमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

नेपालले बुधवार छनोटको पहिलो खेल ओमानसँग खेल्नेछ। टमाटाले सबै टिम राम्रो रहेकोले सबै टिमसँग राम्रो क्रिकेट खेल्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell