PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्मला हत्या : किन प्रहरी अनुसन्धान स्थानीयले पत्याएनन्? शंकाका चार आधार



सविन ढकाल

निर्मला हत्या : किन प्रहरी अनुसन्धान स्थानीयले पत्याएनन्? शंकाका चार आधार

काठमाडौँ : गएको साउन १० गते १३ वर्षीया निर्मला पन्त खाना खाएर घरबाट बिहान ११ बजेर १५ मिनेटमा आफ्नै कक्षाकी साथी रोशनी भन्ने आँचल बमको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन्। आँचलको घर उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा पर्छ। 

साइकलको चेन बिग्रिएकाले साथीको घरमा पुगेर उनले हात धोइन्। करिब ३ घण्टा निर्मलाले रोशनीकै घरमा समय बिताइन्। २ बजेर १५ मिनेटमा उनी घर फर्किन्। उनको साथमा रोशनीको घरबाट पढ्नको लागि ल्याएको तीन वटा नोट कपी, कालो पोलिथिनमा अम्बा र रोशनीले दिएको २० रुपैयाँ थियो।

निर्मला त्यो दिन घर  पुगिनन्। भोलिपल्ट नजिकैको  उखुबारीमा उनको शव फेला पर्‍यो । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखियो। हत्या अघिल्लो दिन ४ बजेदेखि ५ बजेको बीचमा भएको देखियो।

घटना भएको २४ दिनपछि प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गर्दै दिएको घटनाको विवरण अनुसार मुख्य अभियुक्त निर्मलाको गाउँकै ४१ वर्षीय दीलिप सिंह विष्ट थिए। आफ्नै कान्छा भिनाजुको हत्यामा ९ वर्ष कैद भुक्तान गरी निस्किएका थिए विष्ट। मानसिक सन्तुलन गुमेका व्यक्ति।

बलात्कारपछि हत्या भएकी बालिकाको हत्यारा पत्ता लगाउन सदनदेखि सडकसम्म तातिएको थियो। प्रहरीले हत्यारा त सार्वजनिक गर्‍यो तर सडक साम्य भएन। प्रहरीले घटनाका अभियुक्त भनी सार्वजनिक गरे पनि स्थानीय बासिन्दाले पत्याउँदै पत्याएनन्।

यही विषयले तनाव उत्पन्न गरेका कारण बिहीबार महेन्द्रनगरमा कर्फ्यु लगाउनु पर्‍यो। सिडिओ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई फिर्ता बोलाइयो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा तीन वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षकहरुसहितको उच्चस्तरीय छानबिन समिति गठन गरियो। आखिर प्रहरीकै अनुसन्धानमा किन प्रश्न उठ्यो त? के साँचै प्रहरीले पक्राउ गरेका विष्ट मुख्य अभियुक्त थिएनन् ? किन प्रहरीले उनलाई मुख्य अभियुक्त बनाउन हतार देखायो?

कर्फ्यु लागेपछि बिहीबार बेलुकी सुनसान कञ्चनपुर, भीमदत्तनगर बजार। फोटो : शेरबहादुर सिंह, भीमदत्तनगर, रासस

प्रहरी माथि शंकाका चार आधार

के मानसिक सन्तुलन गुमेको व्यक्ति नै दोषी हो?
प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेका विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन्। महेन्द्रनगर बजारमा उनी लागू औषधसमेत बिक्री गर्दै हिँड्छन्। महेन्द्रनगरमा फार्मेसी सञ्चालन गरेर बसेका एक व्यक्तिले भने,' ऊ लागू औषधी प्रयोग गर्ने सिरिन्ज किन्न मेरो पसलमा आइरहन्छ। एकदमै घिनलाग्दो देखिन्छ।' मानसिक सन्तुलन गुमाएको व्यक्तिले बलात्कार गर्न सक्ला? बलात्कार मात्र होइन । बलात्कारलाई ढाकछोप गर्न हत्या समेत गरिएको छ। मानसिक सन्तुलन पूरै गुमाएको व्यक्तिलाई आफूले बलात्कार गरेपछि प्रहरीले समात्न सक्ला त्यसैले हत्या गर्नुपर्छ भने अपराधी मनोभाव कसरी पलाउन सक्छ?  शङ्का गर्ने ठाउँ छ।

देख्दै डराउने निर्मलाले विष्टलाई साइकलको चेन बनाउन दिइन् कसरी?
विष्ट मानसिक सन्तुलन गुमेको प्रहरीले नै जनाएको छ। निर्मला र विष्टको घर पनि खासै टाढा छैन। विष्ट देख्ने बित्तिकै धेरै मान्छे 'पागल' भन्दै डराएर भाग्ने गरेका छन्। बाटोमा महिलाहरू एक्लै भेटिए गोप्य अङ्ग देखाउने गरेका थिए। सोही दिन निर्मलाको साइकल बनाउने बहनामा बलात्कार गरेको प्रहरीले जानकारी दिएको थियो। त्यस्तो व्यक्तिलाई निर्मलाले कसरी सहजै साइकलको चेन बनाउन दिइन् होला?

किन कसैले निर्मला कराएको, चिच्याएको सुनेनन्?
घटना भएको स्थानभन्दा करिब सय मिटरको दूरीमा नै घर छ।  उखुबारी छेउमा भए पनि पक्की रोड बीचमा छ। मानिसको आवतजावत सहजै हुन्छ। घटना भएको स्थानमा पूर्व प्रहरी देवराज भट्टको घर छ। उनी त्यहाँ नबसे पनि अरू बस्छन्। अन्य घरहरू पनि छ। निर्मलालाई विष्टले जबर्जस्ती गरेर उखुबारीमा लग्दा कराइन् होला। रोइन् होला। तर कसैले सुनेनन्। दिउँसै भएको घटना कसैले पनि नदेख्नुले प्रहरीको अनुसन्धानमा शङ्का पलाएको हो।

सन्तुलन गुमेका विष्टलाई बलात्कार गर्दा कन्डम लगाउनुपर्छ भन्ने ज्ञान कसरी भयो? पहिलो दिन घटनास्थलमा नभेटिएको कण्डम २४ दिनपछि कसरी भेटियो?
सामान्यतया बलात्कारका घटनामा कमै मात्र कन्डम प्रयोग भएको पाइन्छ। फेरि निर्मला बलात्कार प्रकरण योजनावद्ध नभएको प्रहरी अनुसन्धान बताउँछ। मानसिक सन्तुलन गुमेका व्यक्तिले बलात्कार गर्नुमा शङ्का त छँदैछ त्यसमा पनि कण्डम नै प्रयोग। सन्तुलन गुमेका व्यक्तिले कण्डमसम्मको ज्ञान बोकेर हिँड्ला? शव फेला परेको दिन नभेटिएको कण्डम कसरी २४ दिनपछि फेला पर्‍यो?

यस्तो थियो प्रहरीको अनुसन्धान प्रारम्भिक प्रतिवेदन

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर

मिति २०७५।०५।०४ गते ।

जबरजस्ती करणी गरी हत्या

घटना विवरण:

जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर २ खोल्टी बस्ने श्री सरस्वती मा.वि.खोल्टीमा कक्षा ९ मा अध्ययनरत बर्ष १३ कि निर्मला पन्त मिति २०७५।०४।१० गते अ.११:०० बजेको समयमा घरबाट साईकलमा साथीको घरमा कक्षाकार्य गर्न जाने भनी निजसंगै सोही स्कुलमा अध्ययन गर्ने जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडा वस्ने बर्ष १४ कि रोशनी भन्ने आँचल बमको घरमा गएकिमा मिति २०७५।०४।११ गते बिहान अ.०९:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पुर्व उत्तर तर्फ लोकेन्द्र भट्टको उखुवारीमा लास फेला परेको ।

अनुसन्धान बाट खुल्न आएका तथ्यहरु

  • मृतक निर्मला पन्त मिती २०७५।०४।१० गते अ.११:१५ बजेतिर साथी रोशनी बमको घरमा पुगेको ।
  • रोशनीको घरमा पुग्दा निर्मलाको साईकलको चेन बिग्रकोले बनाउँदा हातमा कालो लागेको अबस्थामा पुगी हात धोएको ।
  • रोशनीको घरबाट अ.१४:१५ बजेको समयमा घरजान्छु भनि निर्मला संगै ल्याएको ३ वटा नोटकपी,कालो पोलिथिनको झोलामा अम्बा र रोशनीले दिएको २० रुपैंया पैसा समेत लिएर निस्केको ।
  • धना भण्डारी,निजको देउरानी  कुमारी जमुना भण्डारी र कुमारी जमुना भण्डारीको छोरा बर्ष ६ को संदिप भण्डारी उक्त साईकल भेटिएको स्थानमा घाँस काट्न जाने क्रममा मिती २०७५।०४।१० गते अ.१६:०० बजेको समयमा साईकल देखेको तर काम नलाग्ने भएकोले फालेको होला भनि वास्ता नगरेको ।
  • मिति २०७५।०४।११ गते बिहान अं.०८:०० बजेको समयमा कृष्णा के.सी. ( नेपाल ) नेपालले साईकल खोलामा देखी आफन्तहरुलाई खबर गरेको ।
  • गोपाल चौधरी (कान नसुन्ने)ले साईकल खोलामा देखी सडकमा निकालेको अबस्थामा मृतकका आफन्त तथा गाउँलेहरु त्यस तर्फ आउँदै गर्दा भेटेको ।
  • घटना मिती २०७५।०४।१० गते अ.१४:३० बजे देखी १५:०० बजेको समयमा भैसकेको ।
  • पोष्टमार्टमको रिपोर्ट अनुसार निर्मलाको बलात्कार र घाँटी थिची हत्या भएको पुष्टी भएको ।
  • प्रारम्भिक सोधपुछको क्रममा अभियुक्तले उक्त घटना आफुले गरेको स्वीकार गरेको ।

 

पक्राउ अभियुक्त

नाम :दिलिप सिंह बिष्ट

उमेर:४१ बर्ष

वतन : जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटा खन्ना चौक ।

पृष्ठभुमी :

  • घरमा बुबा,दाजु,भाउजु र दाईको बुहारी सँगै बसेको र दाईको २ वटा छोरा भारतमा काममा गएको र दाईको छोरीको बिबाह भैसकेको ।
  • २ वटा दिदीहरुको बिबाह भैसकोमा मिती २०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायण सिंह थापाको हत्या गरी सो अभियोगमा  ९ बर्ष जेल सजायँ भुक्तान गरी २०७४ जेठमा छुटेको ।
  • स्कुलमा कक्षामा राम्रो पढ्ने बिधार्थी दिलिप कक्षा ९ मा पढ्ने बेलामा एकोहोरो मायामा परी १ जना केटीलाई पटक पटक बाटो छेक्ने गरेकोले निज केटीको आफन्तहरुले टाउको समेतमा निकै चोटपर्ने गरी कुटपिट गरेपश्चात पढ्न छोडेको र abnormal ब्यबहार देखाउन थालेको र केटी प्रति क्रेजि भएको ।
  • गाँजा  र मादक पदार्थ सेवन गर्ने ।
  • परिवारका स्त्रीहरु लाई पटक पटक बलात्कार प्रयास गरेको ।
  • बाटोमा महिलाहरु एक्लै देखेमा आफ्नो गोप्य अंग देखाउने गरेको ।
  • जिल्ला कारागारमा दैनिकजसो जाने र २०/३० रुपैया माग्ने गरेको ।
  • घरबाट दैनिक बिहान ८/९ बजे निस्कने र बेलुका रातपरे पछी मात्र घर फर्कने गरेको ।
  • घरमा निजलाई भित्र नसुताई बाहिर नै सुत्ने गरेको ।
  • नयाँ लुगा भएपनि नलगाउने र सधै पुरानो लुगाहरु मात्र लगाई हिंड्ने ।
  • परिबारमा समेत के कुन कतिबेला घरमै के घटना घटाउने हो भन्ने त्रास रहेको ।
  • आफु एक पटक जेल परिसकेको र फेरी सबैलाई मारेर जेल बस्छु बन्दै परिबारका सदस्यहरुलाई धम्काउने गरेको ।
  • मानसिक अबस्था ठिकै भएको तर ब्यबहार abnormal देखाउने र सन्कि टाईपको भएकोले जेलमा समेत निजलाई एक्लै छुट्टै राख्ने गरेको खुल्न आएको ।

पक्राउ बिबरण

बलात्कार र कर्तब्य ज्यान मुद्धामा जेलबाट छुटेका अपराधीहरुको निग्रानी गरीरहेकोमा  अभियुक्त दिलिप सिंह बिष्ट मिति २०७५।५।३ गते अन्दाजी २०:०० बजेको समयमा उक्त घटनास्थलमा साईकल भेटिएको स्थानबाट करीब ५० मिटर पश्चिम तर्फ सडक किनारामा हातमा लठ्ठीलिई उभिरहेको अबस्थामा खटिएका सादा पोशाकका प्रहरीले फेलापारी शंकास्पद लागी सोधपुछ गर्न खोज्दा हामी प्रहरी हौं भनि परिचय दिएपश्चात लठ्ठी फालि भाग्नखोज्दा नियनत्रणमा लिईएको ।

 

कानुनी कारबाही

पक्राउ परेका अभियुक्त दिलिप सिंह बिष्टलाई जबरजस्ती करणी  र  कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत कन्चनपुरबाट म्याद थप भइ यस जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट श्री केन्द्रिय अनुसन्धान ब्युरोको समन्वयमा  थप अनुसन्धान भैरहेको ।
 

गृह मन्त्रालयको विज्ञप्ति




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell