PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डाक्टरलाई जेल हाल्न कानुन ल्यायो भन्दै भ्रम फैलाइयो,  कांग्रेसका सांसदको पनि उत्तिकै हात छ :  प्रम



डाक्टरलाई जेल हाल्न कानुन ल्यायो भन्दै भ्रम फैलाइयो,  कांग्रेसका सांसदको पनि उत्तिकै हात छ :  प्रम

काठमाडौं : भदौ १ गते कार्यान्वयन हुने कानुनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रम सिर्जना गरेको बताएका छन्। 

उनले गत वर्ष प्रमाणिकरण भएका कानुनको विषयलाई लिएर कांग्रेसले सरकारमाथि प्रहार गर्न खोजेको आरोप लगाए। बिहीवार नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै ने क पाका अध्यक्षसमेत रहेका ओलीले जनतामाझ भ्रम र झुटको खेती नगर्नसमेत चेतावनी दिए। 

भदौ १ गते देखि मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्दै मुलुकी देवानी संहिता र फौजदारी संहिता ऐन लागू हुँदै छन्। पछिल्लो समय ऐनको विषयलाई लिएर सरकारको विरोध भइरहेको प्रति लक्षित गर्दै उनले भने, ‘कानुन निर्माणको सम्बन्धमा हल्ला गरेको छ, पोहोर बनेका कानुनका बारेमा अनेक भ्रम फिँजाएको छ। कानुन पास गर्नुमा जति नेकपाका सांसदहरूको हात छ त्यत्तिकै कांग्रेसको पनि हात छ।’ 

गत वर्ष असोज ३० गते पारित भएका मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी अपराध (संहिता) ऐन २०७४ पारित गर्दा कांग्रेस नेतृत्वमा सरकार रहेको र कांग्रेस सांसदहरुसमेत छलफलमा सहभागी भएको प्रधानमन्त्री ओलीले बताए। 

उनले डाक्टरहरुमाझ डाक्टरहरुलाई जेल हाल्न कानुन ल्याइयो भनेर भ्रम फैलाएको आरोप कांग्रेसलाई लगाए। 

‘अस्पतालमा बिरामीको मृत्यु भयो भने डाक्टरलाई जेल हाल्ने कानुन ल्याइयो भनेर भ्रम फिजाइएको छ,’ उनले भने, यस्ता भ्रम फैलाएर अन्योल सिर्जना गर्न खोजिएको छ। यस्ता भ्रमहरुलाई चिरेर हाम्रो पार्टी र सरकार अगाडि बढ्छ।’

कार्यक्रममा बोल्दै ने क पाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा र वर्तमान सरकार देशको आर्थिक समृद्धिको उडान सुरक्षित अवतरण गरेरै छाड्ने बताए। उनले आर्थिक समृद्धि र विकासको उडानको तयारी भइरहेको भन्दै उडान धेरै माथि उड्ने समेत बताए। 

‘नयाँ संकल्पसहित समृद्धिको सपना देखेर ने क पा नेतत्वको दुई तिहाईको सरकार अगाडि बढेको छ। अहिले हामी समृद्धिको उडान भर्दैछौँ, यो अझै उडिसकेको छैन। उड्ने तयारीमा छ, तपाईहरू ढुक्क हुनुस्, यो उड्छ र सुरक्षित ढंगले अवतरण गर्छ।’ 

अध्यक्ष प्रचण्डले समृद्धिको दिशामा मुलुक अगाडि बढेको बेलामा देशभित्र र बाहिरका शक्तिले असफल पार्ने खेल खेलिरहेकोसमेत आरोप लगाए। 

कार्यक्रममा ने क पाका दुई अध्यक्षले ओखलढुंगाबाट आएका कांग्रेसका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell