PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'हृदयेश त्रिपाठीको नेकपा प्रवेश हल्ला मात्रै'



बीपी साह

'हृदयेश त्रिपाठीको नेकपा प्रवेश हल्ला मात्रै'

काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट छुटिएर स्वतन्त्र विचार समूह बनाएका हृदेयश त्रिपाठीलगायतका नेताहरु नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गर्न लागेको विषय हल्ला मात्र रहेको दाबी उनीहरुले गरेका छन्।

प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र बृजेश गुप्ता आज नेकपामा प्रवेश गर्ने भनि नेकपाको कार्यालयले जनाएको छ।

तर त्रिपाठी र गुप्ताले अहिले नै नेकपामा प्रवेश गर्ने हल्ला मात्र रहेको दाबी गरेका छन्।

‘नेकपा र स्वतन्त्र विचार समूहबीच एकीकरणका विषयमा छलफल भएको हो। तर पछिल्लो एक सातादेखि कुनै छलफल अगाडि बढेको छैन।’ पहिलोपोस्टसँग त्रिपाठीले भने,‘कुनै विषयको टुङ्गो नै लागेको छैन। कसरी पार्टी प्रवेश हुन्छ?’

मधेशवादी दलबाट राजनीतिमा आएका त्रिपाठी स्व.गजेन्द्र नारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी हुँदै महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा सहअध्यक्ष थिए।

राजपा गठनपछि वरीयताक्रमबारे असन्तुष्टि जनाएका त्रिपाठीले विचार समूह गठन गरेका थिए। उनीसँगै राजपाका महामन्त्री बृजेश गुप्तालगायतका नेताहरु बाहिरिएका थिए।

उनको समूहबाट उनीसहित दुई जना प्रतिनिधिसभा सदस्य र केही प्रदेश सभा सदस्यले चुनाव जितेका छन्।

‘नेकपामा प्रवेश गर्न लागेको बारे मलाई केही थाहा छैन।’ बृजेश गुप्ताले भने,‘मिडियामा हल्ला मात्र आएको हो।’

नेकपाको पार्टी कार्यालयमा आयोजना हुने विशेष कार्यक्रममा त्रिपाठी र गुप्ता प्रवेश गर्न लागेको नेकपाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell