PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश कमिटी एकता : यसरी मिलाइँदैछ भागवण्डा



विधुर ढकाल

प्रदेश कमिटी एकता : यसरी मिलाइँदैछ भागवण्डा

काठमाडौं : आउँदो भदौ ५ गतेभित्र जिल्ला र प्रदेश कमिटीको एकीकरणको तयारीमा रहेको नेपाल कम्युनिस्ट पाटी (ने क पा) प्रदेश र जिल्ला कमिटीमा भागबण्डा लगाउन व्यस्त छ। 

तल्ला कमिटीहरुको एकताका लागि गठन भएका कार्यदलले भागबण्डालाई अन्तिम रुप दिने गरी गृहकार्य अगाडि बढाएको कार्यदलका एक सदस्यले बताए। 

ती सदस्यका अनुसार कहीँ प्रतिशतका आधारमा कहीँ स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभामा पाएको मतका आधारमा भागबण्डा गरिएको छ। ‘पार्टीमा काम गरेका सदस्यहरुको योग्यता, अनुभव र योगदानलाई समेत ध्यान दिँदा केही तलमाथि समेत भएको छ,’ ती सदस्यले भने, ‘प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भइरहेको छ।’ 

सातै प्रदेशमा एकीकरणका लागि गठित कार्यदलले जिल्ला कमिटीसम्मको एकीकरण प्रक्रिया अन्तिम रुप दिने गरी काम अगाडि बढाएको पार्टीका महासचिव विष्णु पौडेलले बताए। उनका अनुसार तोकिएकै मितिमा सबै कार्यदलले प्रतिवेदन बुझाउने छन्। 

नेकपाले यसअघि प्रतिवेदन बुझाउन साउन २५ गतेको मिति दिएको थियो। तर, सो म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याइएको थियो। 
 

प्रदेशको नेतृत्व कसलाई ?

यसैबीच ने क पाका अब बन्ने प्रदेशको नेतृत्वको विषयमा समेत भागबण्डा सुरु भएको छ। सात प्रदेश मध्ये चारमा तत्कालीन नेकपा एमाले र तीनमा तत्कालीन नेकपा माओवादी केन्द्रले नेतृत्व गर्ने गरी छलफल अगाडि बढेको स्रोतले जनाएको छ। 

यसरी भागबण्डा गर्दा कुन प्रदेश कसले पाउने भन्ने टुंगो नलागेको कार्यदलका अर्का सदस्यले जानकारी दिए। यद्यपि, एउटाले अध्यक्ष पाएको स्थानमा अर्काले सचिव लिने गरी सहमति भएको छ। त्यस्तै प्रदेश इन्चार्ज स्थायी कमिटी र सह-इन्चार्ज पोलिटव्यूरो सदस्यबाट मनोनित गर्ने तयारी भइरहेको छ। यसरी इञ्चार्ज तोक्दासमेत भागबण्डा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार अध्यक्ष पूर्व माओवादीबाट भए इञ्चार्जमा पूर्व एमालेबाट तोक्ने गरी तयारी भइरहेको छ। 
 

कुन प्रदेशमा कति सदस्य?

स्रोतका अनुसार प्रदेश कमिटीको सदस्यको संख्यामा लगभग टुंगो लागेको छ। ने क पाको विधानमा प्रदेश कमिटीमा अध्यक्ष र सचिवसहित १५१ सदस्य (केन्द्रीय कमिटीका सदस्यबाहेक) रहने व्यवस्था छ। यद्यपि, आवश्यकता अनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर दुईका दरले सदस्य थप्न सकिने प्रावधान छ। यस आधारमा प्रदेश कमिटीको सदस्य संख्याको टुंगो लगभग लागेको छ। जसअनुसार सबैभन्दा ठूलो कमिटी प्रदेश ३ मा बन्दै छ। त्यस्तै सानो कमिटी कर्णाली प्रदेशमा बन्ने छ। 

जस अनुसार प्रदेश ३ मा २१७ सदस्यीय प्रदेश कमिटी बन्ने छ भने कर्णाली प्रदेशमा १७५ सदस्यीय प्रदेश कमिटी बन्ने छ। यो प्रदेशको कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। जस अन्तर्गत पूर्व माओवादी र पूर्व एमालेबाट एक सदस्य तलमाथि पारिएको छ। यहाँ पूर्व माओवादीलाई ८८ र पूर्व एमालेलाई ८७ सदस्य पर्ने टुंगो लागेको स्रोतले जनायो। 

त्यस्तै प्रदेश १ मा कार्यदलले २०७ सदस्यीय प्रदेश कमिटी बनाउने गरी काम अगाडि बढाएको छ। त्यस्तै सदस्य संख्याका आधारमा प्रदेश २ मा दोस्रो ठूलो कमिटी बन्ने छ। यहाँ २१५ सदस्यीय कमिटी बनाउने सहमति बनेको छ। कार्यदलले कमिटीमा रहने सदस्यको संख्या पूर्व एमाले र पूर्व माओवादीबाट बराबरी जस्तै गरी भागबण्डा गर्ने तयारी गरेका छन्। जस अन्तर्गत एक जनाको संख्या तलमाथि पर्ने देखिन्छ। 

गण्डक प्रदेश कमिटीको सदस्य संख्या १८७ मा छलफल चलिरहेको छ। सदस्य संख्या र जिल्ला पदाधिकारीको विषयमा यहाँ बढी विवाद देखिन्छ। यहाँ सबै जिल्लामा दुवै पक्षले नेतृत्व दाबी गरिरहेका छन्। 

त्यस्तै प्रदेश ५ मा २०३ सदस्यीय र प्रदेश ७ मा १८३ सदस्यीय प्रदेश कमिटी बनाउने गरी काम अगाडि बढेको स्रोले जनाकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell