PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रकाण्ड पक्राउमा चन्दाकै कारण, स्रोत भन्छ : ७ करोड चन्दा उठाएका थिए, उनकै खातामा देखियो २ करोड



सविन ढकाल

प्रकाण्ड पक्राउमा चन्दाकै कारण, स्रोत भन्छ : ७ करोड चन्दा उठाएका थिए, उनकै खातामा देखियो २ करोड

काठमाडौं : पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा उर्फ प्रकाण्ड पक्राउ परेको खबर एकाएक आयो। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अर्धभूमिगत पार्टीका प्रवक्ता समेत रहेका प्रकाण्ड आखिर किन पक्राउ परे त?

रोचक के रह्यो भने प्रकाण्ड माओवादी ‘जनयुद्ध’का क्रममा अहिलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सहयात्रीसमेत हुन्। धेरैले पक्राउ प्रकरणलाई पूर्वाग्रहसँग पनि जोडेर हेरेका छन्। पक्राउमा पूर्वाग्रहको भाग कति छ भन्न सकिन्न तर स्रोत भन्छ – पक्राउको कारण पैसा नै हो।

सम्बन्धित समाचार : पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विक पक्राउ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिस्कार गरेको यस दलले त्यतिखेर विभिन्न ठाउँमा विस्फोटसमेत गराएको थियो। त्यतिखेर प्रकाण्डले चन्दा बटुलेको विषयलाई लिएर नै पक्राउ गरिएको दावी छ। उच्च स्रोतका अनुसार उनले त्यतिखेर ७ करोड रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको छ। 

यसैलाई आधार मानेर प्रहरीले प्रकाण्डलाई अदालतमा उपस्थित गराउँदैछ। म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाइने प्रहरीले जनाएको छ।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट समातिएको हो।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रकाण्डसहित चन्द्र आचार्य र मानबहादुर श्रेष्ठ पनि पक्राउ परेको जानकारी दिए।

हिजोमात्रै उक्त पार्टीका केन्द्रीय सदस्य आजाद केसी भक्तपुरको डेराबाटै पक्राउ परेका थिए। केही दिनअघि पार्टीका चार पोलिटव्युरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई पनि पक्राउ परेका थिए। उनीहरु नागढुंगाबाट पक्राउ परेका थिए।

चुनावअघिदेखि नै अर्ध भूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन नेकपा - माओवादी (मोहन वैद्य किरण समूह)बाट फुटेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell