PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वर्क परमिट नबनेका कारण फुटबल प्रशिक्षक कोजी फिर्ता हुँदै, एन्फा भन्छ : कोजी टिमसँगै थाइल्याण्ड जानेछन्



पहिलोपोस्ट

वर्क परमिट नबनेका कारण फुटबल प्रशिक्षक कोजी फिर्ता हुँदै, एन्फा भन्छ : कोजी टिमसँगै थाइल्याण्ड जानेछन्

काठमाडौँ: नेपाली फुटबल टोली एसियन गेम्स र साफ च्याम्पियसिपको तयारीका लागि आज थाइल्याण्ड जाँदैछ। मुख्य प्रशिक्षक योतुकु कोजीले छानेका २९ खेलाडी थाइल्याण्ड जाने तयारीमा छन्। जसमा सिनियर टोली र यू-२३ टोलीका खेलाडीहरु छन्।

तर उनै कोजीको नेपाल बसाईँको यात्रा भने सकिएको छ। कारण एन्फासँग उनको सहकार्य टुटेको होइन नेपालमा वर्क परमिट नलिई टुरिष्ट भिसामा बसेकाले।

जापानी प्रशिक्षक कोजी सन् २०१६ मार्चमा नेपाल आएका थिए। उनले दुई वर्ष नेपाली टोलीको प्रशिक्षण सम्हाली सकेका छन्।

यद्यपि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने कोजी एसियन गेम्ससम्म नेपाली टोलीसँग हुने बताएको छ।

'कोजी थाइल्याण्डमा नेपाली टोलीसँगै जानेछन् र एसियन गेम्ससम्म टिमको साथमा हुनेछन्।' एन्फा प्रवक्ता किरण राईले पहिलोपोस्टसँग भने।

'यसभन्दा अगाडि उहाँ टुरिष्ट भिसामा हुनुहुन्थ्यो। त्यसले गर्दा उहाँको म्याद सकिकएको छ। पहिला उहाँको वर्क परमिट थिएन। हामी वर्क परमिट बनाउँने प्रोसेसमा छौँ।' राईले भने। 'टुरिष्ट भिसामै चाहिँ उहाँ २०१९ जनवरी  अगाडि आउन पाउनुहुन्न।'

'कोजीलाई वर्क परमिट दिलाउनका लागि एन्फाले पहल गर्नेछ।'

एन्फाले समयमै पहल नगर्दा कोजीको नेपाल बसाईँ छोट्टिएको हो।

कोजीले प्रशिक्षण सम्हालेको पहिलो प्रतियोगितामै नेपालले एएफसी सोलिडारी कपको उपाधि जितेको थियो। त्यसपछि भएको एएफसी एसियन कप क्वालिफायरमा भने नेपाल समूह चरणबाटै बाहिरियो।

कोजी सन् २००८ देखि २०११ सम्म भुटानको राष्ट्रिय टोलीका प्रशिक्षक थिए।

अध्यागन विभागले भने हाललाई प्रशिक्षक कोजीलाई सम्बन्धित देशमा फिर्ता पठाइने बताउनुभयो। 

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने ‘उहाँ पर्यटक भिसामा बसेको पाइयो। ओभरस्टे पनि दखियो। उहाँले भिसाभन्दा बढी समय बसेको जरिवाना तिर्नुपर्ने हुन्छ । मुलुकका आवश्यक मानिस भए अर्को प्रक्रियाबाट पुनः ल्याउन सकिन्छ। तर, अहिले चाहिँ हामीले उहाँलाई सम्बन्धित देशमा नियमअनुसार पठाउनु पर्छ। किनकी कानुन सबैका लागि बराबर नै हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell