PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

महिला राष्ट्रिय लिग : साबित्राको ह्याट्रिकमा एपीएफ च्याम्पियन

महिला राष्ट्रिय लिग : साबित्राको ह्याट्रिकमा एपीएफ च्याम्पियन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : साबित्रा भण्डारीको ह्याट्रिक मद्दतमा एपीएफले त्रिभुवन आर्मीलाई अन्तिम खेलमा पराजित गर्दै उपराष्ट्रपति महिला राष्ट्रिय लिगको उपाधि जितेको छ।

लिग अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा विभागीय प्रतिद्वन्दी आर्मीलाई ३-१ ले हराउँदै एपीएफले अपराजित रहदै उपाधि जित्यो।

कूल ५ टोली सहभागि प्रतियोगितामा एपीएफले सबै ४ खेल जित्यो।

लगातार तीन खेल जितेर उपाधि नजिक पुगेका दुवै टोली अन्तिम खेल जित्दै च्याम्पियन बन्ने दाउमा थिए। एपीएफका लागि उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने आर्मीको लागि निश्चित जित आवश्यक थियो।

तर एपीएफले आर्मीलाई हराउँदै उपाधि जित्यो। एपीएफलाई च्याम्पियन बनाउन साबित्राले ह्याट्रिक गरिन्। पहिलो हाफमा एक गोल गर्दै एपीएफलाई १-० को अग्रता दिलाएकी साबित्राले दोस्रो हाफमा दुई गोल थपिन्। ४१औँ मिनेटमा पहिलो गोल गरेकी साबित्राले ५४औँ र ८२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन्। आर्मीका लागि पुनम जर्घा मगरले ४९औँ मिनेटमा गोल गरेकी थिइन्। महिला राष्ट्रिय लिगमा साबित्राको यो तेस्रो ह्याट्रिक हो।


यस्तै मंगलवारै भएको अघिल्लो खेलमा नेपाल पुलिसले काठमाडौँ जिल्ला फुटबल टिमलाई हराउँदै सान्त्वना जित हासिल गरेको छ। 

विजेता एपीएफले नगद २ लाख र ट्रफी हात पार्‍यो। यस्तै उपविजेता आर्मीले १ लाख तथा तेस्रो भएको रौतहटले ५० हजार प्राप्त गर्‍यो।

च्याम्पियन एपीएफका साबित्रा लिगको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।  उनले नगद २५ हजार प्राप्त गरे। यसै विधागतर्फ एपीएफका एन्जिला सुब्बा उत्कृष्ट गोलकिपर, आर्मीका पुनम जर्घा मगर उत्कृष्ट डिफेण्डर, एपीएफका रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, रौतहटका रश्मि कुमारी घिसिङ तथा एपीएफका जनक सिंह थारु उत्कृष्ट प्रशिक्षक घोषित भए। विधागत उत्कृष्ट सबैले नगद १० हजार पाए।

विजेता टिम तथा खेलाडीलाई उपराष्ट्रपति नन्द बहादुर पुन, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले पुरस्कार वितरण गरे।



ट्रेन्डिङ पोस्ट

Ncell